कोरोना भाइरस नेपाल: गुल्मीमा एक पुरुषको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु, थपिए ४२५ सङ्क्रमित

तस्बिर स्रोत, RSS
नेपालमा विगत २४ घण्टामा ४२५ जना थप मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।
योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,७६० पुगेको छ।
आइतवार नै गुल्मीमा एक पुरुषको आइसोलेशनस्थलमा उपचारका क्रममा मृत्यु मन्त्रालयले पुष्टि गरेको छ।
उनी क्यान्सर पीडित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए।
"धूर्कोट गाउँपालिका वडा नम्बर ४ जैशीथोकका ३६ वर्षका पुरुषको मृत्यु भएको छ। उहाँको जेठ १२ गते प्रदेश प्रयोगशाला रूपन्देहीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।"
उनी भारतबाट नेपाल आएका थिए।
निजी प्रयोगशालामा पनि परीक्षण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्विकृति लिएर लिइएका स्वाबका नमूनाहरूको परीक्षण निजी अस्पतालले समेतले गर्ने व्यवस्था गरिएको बताइएको छ।
कोरोनाभाइरसको पीसीआर परीक्षण हालसम्म सरकारकाले तोकेका २१ वटा सरकारी प्रयोगशालमा मात्र हुँदै आएका छन्।
त्यस्ता प्रयोगशालाको पूर्वाधार, जनशक्तिजस्ता विषयको निक्यौल गरेर सम्झौता गर्न केही समय लाग्ने प्रवक्ता गौतमले बताए।

त्यसको लागि लाग्ने खर्च भने नेपाल सरकारले बेहोर्ने प्रवक्ता डा. गौतमले आइतवारको पत्रकार सम्मेलनमा बताए।
विदेश जानेहरूले वा अन्य कारणले गर्दा निरोगिताको प्रमाणपत्र आवश्यक परेमा सङ्क्रमणको जाँच काठमाण्डूका तीनवटा अस्पतालमा गराउने व्यवस्था गरिएको गौतमले जनाए।
त्यस्तो अधिकार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालले पाएका छन्।
र त्यहाँ गरिने परीक्षणको भने जाँच गराउने व्यक्तिले नै शूल्क तिर्नुपर्ने बताइएको छ।
लकडाउन खुकुलो भइरहंदा एउटा जिल्लाबाट अर्कोमा जानकै लागि परीक्षण हुनुपर्ने भनेर प्रचारित कतिपय नियमहरूप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको र त्यस्तो परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको निर्देशिकाले व्यवस्था नगरेको प्रवक्ता डा शर्माले बताए।
आइतवार रूकुम पूर्व थपिएर अहिलेसम्म नेपालका ७३ जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएका छन्।
परीक्षण
आइतवारसम्ममा १ लाख ३३ हजार तीन सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ।
गत चौबीस घण्टामा थप ६,०९९ पीसीआर गरिएको थियो।
जेठ ३२ गते आइतवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
५,७६०कुल सङ्क्रमण
७३प्रभावित जिल्ला
विगत २४ घण्टामा पीसीआर परीक्षण ६,०९९
चिकित्सकीय निगरानीमा अलग्गै४,७६७
देशभरि क्वारन्टीनमा१,४३,६४१
अहिलेसम्म निको९७४
शनिवारको पत्रकार सम्मेलनमा असार १० गतेसम्म दैनिक परीक्षण क्षमता १०,००० पुर्याइने बताइएको थियो।
द्रूत परीक्षण कीट (आरडीटी)बाट भने अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको परीक्षण गरिएको सरकारी विवरण छ।
जसमा गत चौबीस घण्टामा २० हजार १ सय ३९ जनाको आरडीटी जाँच गरिएको थियो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ










