एसईई परीक्षा: विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी हुनुपर्छ

बुधवार मन्त्रिपरिषद्ले एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न दिने निर्णय गरेको छ।
करिब तीन महिनाको अन्योलपछि गरिएको यो निर्णयले अब विद्यार्थीको अध्ययन नरोकिने देखिए पनि आन्तरिक मूल्याङ्कनलाई लिएर थुप्रै प्रश्न अनुत्तरित रहेका छन्।
विद्यार्थीहरूले आन्तरिक मूल्याङ्कनको आधार के हुने, कसले कसरी गर्ने, अनुगमन कसरी हुने र कक्षा ११ को भर्ना प्रक्रिया के हुने भन्ने प्रश्नहरू उठाएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले ट्विटरमा विद्यालयले गर्ने मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने भन्दै त्यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने लेखेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आन्तरिक मूल्याङ्कनका लागि मापदण्ड बन्न बाँकी रहेको बताएका छन्।
पौडेलले भने, "विद्यार्थीको मूल्याङ्कन, उनीहरूलाई प्रमाणपत्र दिने लगायतका सबै विषय अब शिक्षा मन्त्रालयबाट परिपत्र आएपछि मात्रै अघि बढ्छ।"
"विद्यार्थीको मूल्याङ्कन गर्ने मापदण्डबारे अहिलेसम्म हामीलाई केही भनिएको छैन। हामीले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएका हौँ।"
सरकारको निर्णयपछि अब शिक्षा विभाग र बोर्डले एसईई परीक्षाको मूल्याङ्कनको मापदण्ड बनाउनु पर्नेछ।
विद्यार्थीको आन्तरिक मूल्याङ्कनबारे सरकारले मापदण्ड तय गरिनसकेको बेला विद्यार्थीको क्षमता अनुसारको निष्पक्ष मूल्याङ्कन कसरी गर्दा प्रभावकारी होला?

तस्बिर स्रोत, NATIONAL EXAMINATION BOARD
शिक्षाविद्को सुझाव
शिक्षाविद् धनञ्जय शर्मा सरकारले दुई तरिकाले मूल्याङ्कन गर्न सक्ने बताउँछन्।
उनका अनुसार विद्यार्थीको मनोविज्ञान एसईई परीक्षामा राम्रो गरौँला भन्ने हुनाले कसैलाई पनि मर्का नपरोस् भनेर फेरि विद्यालयस्तरमै परीक्षा गर्न सकिन्छ।
शिक्षाविद् शर्मा भन्छन्, "विद्यार्थीहरूलाई सामाजिक दूरीमा राखेर विद्यालयमै बोलाएर परीक्षा गराउन सकिन्छ। अरू कक्षाहरू नभएकाले उनीहरूलाई तयारीका लागि निश्चित समय दिएर मुख्य विषयमा परीक्षा गराउने अनि त्यसकै आधारमा मूल्याङ्कन गरेर बोर्डलाई पठाउन सकिन्छ।"
त्यसबाहेक विद्यार्थीलाई अनलाईनमार्फत् पनि मूल्याङ्कन गर्न सकिने उनले बताए। तर त्यसरी विद्यार्थीको मूल्याङ्कन गर्नका लागि वस्तुपरक प्रश्नहरू सोध्नुपर्ने उनले बताए।
विद्यालयले यो वर्ष लिएका वा अब लिने परीक्षाहरूको मूल्याङ्कन गरेर जिल्ला परीक्षा समितिमा पठाउने र समितिले त्यसलाई प्रमाणित गरेर बोर्डमा पठाएकै आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिँदा ठीक हुने उनको धारणा छ।
अर्का शिक्षाविद् विद्यानाथ कोइराला पनि विद्यार्थीको मूल्याङ्कन गर्दा १० कक्षा पुगेपछि विद्यार्थीले दिएका परीक्षाको औसत अङ्क वा थप एउटा परीक्षा गरेर मुल्याङ्कन गर्दा ठीक हुने बताउँछन्।
परिस्थितिले दिएको अवसर
"एसईईलाई भनेर बनाएकै प्रश्नपत्र विद्यार्थीलाई दिएर त्यसकै उत्तरका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्न सकिन्छ," कोइरालाले भने।
"अथवा तीनवटा परीक्षा त विद्यार्थीले १० कक्षामा दिइसकेकै हुन्छन्। पहिलो त्रैमासिकलाई ३० प्रतिशत, दोस्रोलाई ३० प्रतिशत र तेस्रोलाई ४० प्रतिशत छुट्याएर त्यसकै आधारमा मूल्याङ्कन गर्न सकिन्छ।"
परीक्षा गराउने विकल्पमा जाने भए विद्यार्थीलाई अभिभावक वा शिक्षकसँग उत्तर सोध्न पाउने र अनलाइन खोज्न पाउने विकल्प दिनुपर्ने उनले बताए।
"विद्यार्थीले कहाँबाट ल्याएको भन्ने उल्लेख गर्नुपर्छ। त्यसो गर्दा उनीहरूलाई अध्ययन र अनुसन्धान गर्ने बानी पनि बस्छ र माथिल्ला कक्षाहरूमा सजिलो हुन्छ," शिक्षाविद् कोइरालाले भने।

तस्बिर स्रोत, RSS
परीक्षा गराउन कठिन
तर थुप्रै विद्यार्थीहरू उपत्यका वा सदरमुकाम छोडेर घर गएकाले त्यस्तो व्यवस्थापन गर्न कठिन हुने निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गाना बताउँछन्।
"लाखौं विद्यार्थी अहिले विद्यालय फर्किएर परीक्षा दिने अवस्था छैन। आन्तरिक मूल्याङ्कन नै ठीक हुन्छ भनेर हामीले पहिला पनि सुझाव दिएका थियौं," ढुङ्गानाले बीबीसीसँग भने।
"तर विद्यार्थीको मूल्याङ्कन विगतको एउटा परीक्षाको आधारमा मात्रै नभइ विद्यार्थीको अन्य परीक्षा पनि समेटेर गर्नुपर्छ।"
सरकारले नौदेखि १२ कक्षालाई माध्यामिक तह भनेर स्वीकारेको अवस्थामा १०/११ कक्षाको परीक्षा बोर्डले गर्न आवश्यक नरहेको शिक्षाविद्हरूले बताउँदै आएका थिए।
तर शिक्षासम्बन्धी ऐननियममा भने १० को परीक्षा पनि बोर्डले नै लिने भन्ने व्यवस्था कायमै छ। त्यसको संशोधन बाँकी रहेकाले १० र ११ को परीक्षा पनि बोर्डले नै गर्दै आएको छ।
अहिले केवल मन्त्रिपरिषद्ले मात्रै निर्णय गरेको अवस्थामा अब ऐनमा संशोधन गर्नुपर्ने विज्ञहरू बताउँछन्।
त्यसरी संशोधन गर्दा यो वर्षलाई मात्रै नभई आगामी वर्षहरूमा पनि १० र ११ कक्षाको परीक्षा आन्तरिक रूपमा विद्यालयले नै गर्ने व्यवस्था उचित हुने धारणा सामाजिक सञ्जालहरूमा पनि देखिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले एसईई परीक्षालाई लिएर सरकारले गरेको निर्णय सही भएको भन्दै ट्वीट गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
गत वर्ष चैत ६ गतेदेखि हुने भनिएको परीक्षा कोरोनाभाइरसको महामारीको त्रासका कारण चैत ५ गते स्थगित गरिएको थियो।
यो वर्ष एसईई परीक्षामा चार लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।








