तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस औषधि: उपचारकालागि दुखाइ कम गर्ने आइबुप्रोफनको परीक्षण
- Author, मिशेल रोबर्ट्स्
- Role, स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन
कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना भएका बिरामीको उपचारमा दुखाइ कम गर्नमा प्रयोग हुँदै आएको औषधि आइबुप्रोफनले सहयोग पुर्याउँछ की पुर्याउँदैन भनेर वैज्ञानिकहरूले परीक्षण गरिरहेका छन्।
लण्डनस्थित गाइज एण्ड सेन्ट टमसेज् अस्पताल र किङ्ग्स कलेजका वैज्ञानिकहरूको टोलीले उक्त औषधीले श्वासप्रश्वासको समस्याको उपचार गर्न सक्ने विश्वास गरेका छन्।
आइबुप्रोफनको प्रयोग शरिरमा सुन्निएको र दुखाइ कम गर्न गर्ने गरिन्छ।
वैज्ञानिकहरूको आशामा उक्त न्यून खर्चको औषधिले बिरामीहरूलाई श्वासप्रश्वासमा सघाउने यन्त्र भेन्टीलेटरमा राख्न नपर्ने तुल्याउन सक्छ।
'लिबेरट' अर्थात 'मुक्त गर्ने' नाम दिइएको यो स्वास्थ्य उपचार परीक्षणमा सहभागी आधा बिरामीले नियमित स्वास्थ्य उपचारका साथै आइबुप्रोफन औषधि पनि ग्रहण गर्नेछन्।
परीक्षण
यो परीक्षणमा मानिसहरूले बजारबाट सजिलै किन्न सक्ने आइबुप्रोफनको सामान्य मात्राभन्दा भिन्न विशिष्ट मिश्रणको प्रयोग गरिएको छ।
त्यस्तो मिश्रणको क्याप्सुल मानिसहरूले बाथ जस्ता रोगहरूको उपचारका लागि पहिले नै खाने गरेका छन्।
जनावरहरूमा गरिएको अध्ययनले उक्त औषधिले एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम भनिने श्वासप्रश्वाससम्बन्धी जटिल अवस्थाको उपचार हुनसक्ने देखिएको छ।
यो कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीहरूमा देखिने एउटा जटिल लक्षण हो।
किङ्ग्स कलेज लण्डनस्थित टोलीका एक सदस्य प्राध्यापक मितुल मेहताले भने: "हामीसँग प्रमाणका रूपमा जे उपलब्ध छ, त्यो हामीले जे गर्न खोजेको त्योसँग मेल खान्छ कि खाँदैन भनेर परीक्षण गर्न आवश्यक छ।"
दुवै सुरक्षित
यो महामारी फैलिनुको सुरुआतको चरणमा सङ्क्रमणको सामान्य लक्षण देखिएका बेला आइबुप्रोफन सेवन गर्नु खराब भनी चिन्ताहरू पनि व्यक्त भएका थिए।
फ्रान्सका स्वास्थ्यमन्त्रीले आइबुप्रोफन सेवन गर्दा कोरोनाभाइरसको लक्षण झन बल्झिन सक्ने भन्दै बरू बिरामीहरूले प्यारासिटमोल लिनु राम्रो भन्ने अभिव्यक्ति दिएपछि चिन्ता झन् चुलिएको थियो।
तर कमिशन फर ह्यूमन मेडिसिन नामक सस्थाले एक निष्कर्ष निकाल्दै कोरोनभाइरस सङ्क्रमणको लक्षण देखिएका बिरामीले ती दुवैथरी औषधि सेवन गर्न सुरक्षित रहेको बताएको थियो।
ती दुवै औषधिले बिरामीको ज्वरो कम गर्ने र फ्लूको लक्षण कम गर्न सक्छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ