कोरोनाभाइरस: चीनद्वारा अमेरिकामाथि 'षड्यन्त्रहरू' फैलाएको आरोप

डब्ल्यूएचओको काम र चीनविरूद्ध उसले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता कुरालाई लिएर ट्रम्प र बेइजिङबीच पछिल्ला सातामा आरोप-प्रत्यारोप भएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डब्ल्यूएचओको काम र चीनविरूद्ध उसले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता कुरालाई लिएर ट्रम्प र बेइजिङबीच पछिल्ला सातामा आरोप-प्रत्यारोप भएको छ।

चिनियाँ विदेशमन्त्रीले अमेरिकाले कोरोनाभाइरसबारे 'षड्यन्त्र र झुटहरू' फैलाइरहेको आरोप लगाएका छन्।

आइतवार पत्रकारहरूसँग कुरा गर्दै वाङ यीले अमेरिका 'राजनीतिक भाइरस'ले सङ्क्रमित भएका कारण त्यहाँका केही नेताले बारम्बार चीनमाथि हमला गरिरहेको बताए।

विदेशमन्त्री वाङ्ले अमेरिकालाई कोभिड-१९ को महामारीमा काम गर्दै 'समय खेर नफाल्न र मूल्यवान जीवनहरू बचाउन' आग्रह गरे।

आरोप/प्रत्यारोप

भाइरस फैलन थालेसँगै वासिङ्टन र बेइजिङ्बीच तनाव चुलिएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई भाइरसको प्रकोप लुकाउन खोजेको आरोप लगाएका छन्।

यो वर्ष हुने निर्वाचनमार्फत् राष्ट्रपतिमा पुनर्निर्वाचित हुन खोजिरहेका ट्रम्पको भाइरस नियन्त्रण प्रयासलाई लिएर आलोचना भइरहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरसः लकडाउन खुलेपछि जनजीवन कस्तो होला

तर आइतवार विदेशन्त्री वाङ्ले चीनले विश्वको जनस्वास्थ्य सुरक्षित पार्नका लागि सुरुदेखि नै जिम्मेवार भएर काम गरेको बताए।

कोरोनाभाइरस सबैभन्दा पहिले चिनियाँ शहर वुहानमा सन् २०१९ को डिसेम्बर महिनामा देखा परेको थियो।

'सम्बन्ध बन्धक बनाउने प्रयास'

चीनको संसदीय सत्र चलिरहँदा आयोजित पत्रकार सम्मेलनमा वाङ्ले 'अमेरिकामा रहेका केही राजनीतिक शक्तिले चीन-अमेरिका सम्बन्धलाई बन्धक बनाएको' बताए।

उनले ती शक्तिहरू को हुन् भन्ने चाहीँ स्पष्ट पारेनन्।

चिनियाँ विदेशमन्त्री वाङ् यी: 'अमेरिकामा रहेका केही राजनीतिक शक्तिले चीन-अमेरिका सम्बन्धलाई बन्धक बनाएका छन्।'

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चिनियाँ विदेशमन्त्री वाङ् यी: 'अमेरिकामा रहेका केही राजनीतिक शक्तिले चीन-अमेरिका सम्बन्धलाई बन्धक बनाएका छन्।'

तर उनले भने: "तिनले दुई देशलाई एउटा नयाँ शीतयुद्धको संघारमा धकेल्न चाहन्छन्।"

'राजनीतिक भाइरस'को प्रयोग चीनमाथि हमला र उसलाई बदनाम गर्ने अवसरको रूपमा लिइएको उनले बताए।

"केही राजनीतिज्ञले पूर्ण रूपमा आधारभूत तथ्यलाई नजरअन्दाज गर्दै चीनलक्षित थुप्रै झुटहरू बनाउँछन् र त्यति नै धेरै षड्यन्त्र खडा गर्छन्।"

डब्ल्यूएचओको बचाउ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को काम र चीनविरूद्ध उसले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता कुरालाई लिएर ट्रम्प र बेइजिङबीच पछिल्ला सातामा आरोप-प्रत्यारोप भएको छ।

चीनमाथि मुद्दा चलाउने विषयलाई वाङ यीले 'दिवास्वप्न' को संज्ञा दिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण

गतसाता ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनको 'कठपुतली' भएको भन्दै उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका थिए।

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससलाई ट्रम्पले एउटा पत्र लेख्दै सो निकायले तीस दिनभित्र उनकै शब्दमा "उल्लेख्य सुधारहरू" गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने भनेका थिए।

अनुसन्धान

टेड्रोसले डब्ल्यूएचओको कामको समिक्षा गर्न सहमति जनाएका थिए।

वाङले भने चीनले उक्त निकायलाई पूर्ण रूपमा समर्थन गर्ने बताएका छन्।

"डब्ल्यूएचओलाई सघाउनु भनेको जीवन बचाउन सघाउनु हो। कस्तो नतिजा बेहोर्ने भन्ने हरेक देशको रोजाइ हो," उनले भने।

उनले अन्तर्राष्ट्रिय वैज्ञानिकहरूलाई प्रकोपको अनुसन्धान गर्न चीनले दिने/नदिनेबारे केही बोलेनन्।

डब्ल्यूएचओले बेइजिङसामु त्यस्तो अनुमतिका लागि आग्रह गरेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर