नेपाल कोरोना भाइरस: थप एक जनामा कोभिड-१९ पुष्टि, देशभरि सङ्क्रमितको कुल सङ्ख्या ११०

नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ११० पुगेको छ।
आइतवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड-१९ भेटिएको जनाएको छ।
मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, "कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या एक छ। जो उदयपुर भुल्के निवासी ४३ वर्षीया महिला हुनुहुन्छ।"
उनको अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
शनिवार सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार सङ्क्रमितहरूमध्ये तीन जना भुल्केकै हुन्।

अहिलेसम्म प्रदेश नं १ मा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ। यो देशभरिकै सर्वाधिक सङ्ख्या हो।
आइतवार अपराह्णसम्म देशभरि १३,६२५ जनाभन्दा बढी मानिस क्वारन्टीनमा थिए भने सम्भावित सङ्क्रमितसहित १६४ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखिएको थियो।
अहिलेसम्म देशका सातमध्ये छवटा प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्।
सरकारले अहिलेसम्म ३१ जना निको भएर अस्पतालबाट बिदा भएको बताएको छ।
तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये तीन जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ।
को हुन् सङ्क्रमित?
उनी उदयपुरको भुल्के निवासी महिला हुन्।
गत बुधवार पुनः नमुना स्वाब सङ्कलन गरी कोशी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गर्दा उनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले बीबीसी न्यूज नेपालीलाई बताए।
उनलाई उपचारका लागि विराटनगर ल्याइने अधिकारीहरूले जनाएका छन्।
शनिवार पुष्टि भएका भुल्केका तीन महिलामा पनि दोस्रो पटकको पीसीआर परीक्षणमा कोरोनाभाइरस देखिएको थियो।
यो सँगै उदयपुरमा कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ३२ र प्रदेश १ मा ३५ पुगेको छ। तीमध्ये १४ जना निको भएर बिदा भइसकेका छन्।
हाल विराटनगरमा २० जना सङ्क्रमितको उपचार भइरहको छ ।
वैशाख २८, आइतवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
११०कुल सङ्क्रमण
+१अघिल्लो दिनबाट वृद्धि
पीसीआर विधिबाट परीक्षण >१३,८९८
चिकित्सकीय निगरानीमा अलग्गै१६४
देशभरि क्वारन्टीनमा> १३,६२५
अहिलेसम्म कोरोनाभाइरसमुक्त भएका सङ्क्रमित३१

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ










