कोरोना भाइरस: सङ्क्रमणबीच यस्तो देखिने छ सङ्घीय संसद्को बजेट अधिवेशन

तस्बिर स्रोत, RSS
सङ्घीय संसद्को बजेट अधिवेशन आज दिउँसो सुरु हुँदैछ।
कोरोनाभाइरसको विश्वव्यापी महामारीकाबीच हुन लागेको संसद्को अधिवेशनमा ठूलो सङ्ख्यामा सांसद, सुरक्षा निकायका अधिकारीहरू सहित सरकारी कर्मचारीहरूको उपस्थिति हुने हुँदा पनि उक्त बैठकलाई सामान्य अवस्थाभन्दा बढी चासोका साथ हेरिएको छ।
संवैधानिक प्रावधान अनुरूप जेठ १५ गते सरकारले बजेट पेस गर्नुपर्ने हुँदा लकडाउन सहित अन्य प्रतिबन्धात्मक व्यवस्थाकाबीच संसदीय सत्र अघि बढाइएको बताइएको छ।
संसद् सचिवालयका अधिकारीहरूका अनुसार आज सुरु हुने बैठकमा उच्च सुरक्षा सतर्कता अपनाइने छ र उक्त कार्यक्रम सकेसम्म छोटो अवधिमा टुङ्ग्याउने तयारी छ।
"हामीले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्डका आधारमा तयारी गरेका छौँ र सकेसम्म सामाजिक दुरी कायम गर्ने गरी तयारी मिलाएका छौँ," सङ्घीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले बीबीसीलाई भने।
यस्तो छ तालिका
संसद् सचिवालयका अनुसार बजेट अधिवेशनको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाइने छ।
त्यसपछि प्रमुख प्रतिपक्ष सहित विभिन्न दलका नेताहरूले बैठकलाई सम्बोधन गर्ने छन्।
संसद्को तालिका अनुसार २८ र २९ गते 'प्रि बजेट' छलफल हुनेछ। राष्ट्रपति भण्डारीले जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।
जेठ ४ गते पछि त्यसमा आधारित छलफल चल्ने छ। त्यसको अवधि भने कति लामो छलफल हुन्छ भन्ने विषयले निर्क्योल गर्ने छ।
त्यसपछि जेठ १३ गते अर्थमन्त्री युवराज खतिवडाले आर्थिक सर्वेक्षण पेस गर्ने छन्। र जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने छ।
कस्तो छ तयारी?

तस्बिर स्रोत, RSS
प्रवक्ता पाण्डेका अनुसार हाल संसद्को अधिवेशन हुने सभाहललाई 'स्यानिटाइज' गरिँदै छ। त्यस्तै बैठकमा सहभागी हुने सबै सांसदहरूको 'स्वाब' को नमुना परीक्षण गर्ने कार्य भइरहेको छ।
"तीन बजेसम्ममा सबैको परीक्षण रिपोर्ट आइसक्ने छ," पाण्डेले भने। "मेरो जानकारी अनुसार हालसम्म २६९ जना सांसदहरूको परीक्षण भइसकेको छ।"
परीक्षणको रिपोर्ट नआउँदासम्म सांसदहरूलाई संसद् प्रवेश नगर्न अनुरोध गरिएको बताइएको छ। "यो सबैको स्वास्थ्यको सवाल हो। संसद्का सदस्यहरूलाई विभिन्न माध्यमबाट यसबारे जानकारी गराइएको छ।"
प्रतिनिधि सभामा हाल २७१ जना सांसद छन्। त्यस्तै राष्ट्रिय सभामा हाल ५८ सदस्य रहेको पाण्डेले जानकारी दिए।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

प्रतिपक्षीको के छ तयारी?
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवारको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
काङ्ग्रेस नेता प्रकाशशरण महतका अनुसार प्रतिपक्षी दलले यो अधिवेशनमा बजेटको प्राथमिकता बारेमा मत राख्नेछ।
"सीमित स्रोतसाधनमा व्यापक लाभ हुने र लक्षित वर्ग लाभान्वित हुने हिसाबले बजेट ल्याइनुपर्छ" महतले भने।
"पार्टी सभापतिको सम्बोधनमा यी कुराहरू आउने छन्।"
त्यस्तै कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाममा सरकारको पहल पर्याप्त नरहेको विषयमा पनि काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउने छ।
नेतृ डिला सङ्ग्रौलाले कोरोनाभाइरसको महामारीकाबीच विदेशमा अलपत्र परेका नेपालीका विषयमा सरकारको ध्यानाकर्षण गराउने बताइन्।
"कुवेत र मलेशियाजस्ता देशहरूले उनीहरूलाई फिर्ता लान भन्दै हाम्रा राजदूतावासलाई पत्र पठाइसकेको अवस्था छ। धेरैले रोजगारी गुमाइसकेका छन्। यो कुरालाई काङ्ग्रेसले उठाएकै छ," उनले बीबीसीसँग भनिन्।
त्यस्तै राहत वितरणमा पनि राजनीतिकरण भएको काङ्ग्रेसको बुझाइ रहेको र त्यसविरुद्ध पनि आवाज उठाइने उनीहरू बताउँछन्।
"पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङलगायत अत्यावश्यक सामान उपलब्ध गराउने विषयमा पनि सरकार चुकेको देखिन्छ। स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको विषय पनि प्रमुख प्रतिपक्षले यस अघि नै उठाएको हो र त्यसलाई पनि प्राथमिकता दिइने छ," सङ्ग्रौलाले भनिन्।
त्यस्तै सरकारले ल्याएर फिर्ता लिएका दुई अध्यादेशका विषयमा पनि काङ्ग्रेसले संसदमा उठाउने बताइएको छ।
सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाण्डू ल्याइएको विषयमा कारबाही गरिनुपर्ने माग काङ्ग्रेसको रहेको उनले बताइन।
यसरी कायम गरिँदै छ दुरी
सभाहलभित्र सांसदहरू बस्ने स्थानमा डेढ मिटरको दुरी कायम राखिएको बताइएको छ। सामान्यतया लस्करै बस्ने गरेका सांसदहरूबिच कम्तीमा दुई वटा कुर्सीको अन्तर हुनेछ।
एकजना सांसदले एकपटक प्रयोग गरेको कुर्सी फेर्न पाउने छैनन्। सबै सिट अङ्कित गरिएको छ जसका आधारमा को कहाँ बसेको थियो भन्ने कुरा थाहा पाउन सहज हुने छ।

तस्बिर स्रोत, RSS
बजेट अधिवेशनमा सहभागी भइरहँदा सांसदहरूले मास्क अनिवार्य लगाउनुपर्ने छ।
त्यस्तै संसद् परिसरमा एम्बुलेन्स सहितको स्वास्थ्य टोली तयारी अवस्थामा रहने छन्।
संसद् प्रवेश गर्ने र बाहिर निस्कने फरक फरक बाटो तय गरिएको छ।
क-कस्लाई प्रवेश?
पाण्डेका अनुसार मर्यादापालक र आवश्यक कर्मचारी बाहेक अरूले सभाहलमा बस्न पाउने छैनन्।
सामान्यतया आमन्त्रित सदस्य र सञ्चारकर्मीहरू बस्नका लागि छुट्टाइएको माथिल्लो भागमा रहेको स्थानमा पनि सांसदहरू बस्ने छन्।
"सामाजिक दुरी कायम गर्नका लागि यस्तो गर्नु परेको हो।"
करिब ६० जना मर्यादापालक सहित करिब ३५० को संसद् भवनमा उपस्थिति हुने बताइएको छ।
सुरक्षाकर्मीहरूको पनि परीक्षण गरिएको छ।
सरकारी सञ्चार माध्यमहरूले बैठक प्रत्यक्ष प्रसारण गर्ने र संसद् पुगेका सञ्चारकर्मीहरूलाई भने चमेना गृह नजिकै टेलिभिजन स्क्रिनबाट कार्यक्रम हेर्ने व्यवस्था मिलाइने बताइएको छ।








