कोरोनाभाइरस: सङ्क्रमण रोकथामको पूर्वतयारी नभएको भन्दै संसद्मा सरकारको चर्को आलोचना

तस्बिर स्रोत, RSS
नेपालमा कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल नगरेको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसदहरूले सरकारको आलोचना गरेका हुन्।
बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले 'अन्य देशहरूले कोरोनाभाइरससँग जुझ्न अपनाएको जस्तो पूर्व सतर्कता नेपालले अपनाउन नसकेको' आरोप लगाए।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले "सरकार र मन्त्रीहरूकै अभिव्यक्तिले जनतामा थप त्रास बढेको" बताइन्।
विशेष समय लिएर बोल्दै उनले भनिन्, "सरकारकै मन्त्रीले जनतामा त्रास उत्पन्न हुनेखालको सन्देश प्रवाह गरेको हामीलाई अनुभव भएको छ। कोरोनाभाइरसका नाममा कालोबजारी बढ्ने सङ्केत देखिएको छ।"
'संसद् भवनमै असुरक्षित'
उनले वाणिज्य मन्त्रीले कुनै कुराको अभाव हुने भएमा आफूलाई भन्नु भनेको भए पनि 'कुन जनताको मन्त्रीसम्म पहुँच हुन्छ?' भन्ने प्रश्न गरिन्।
सांसद् रेणुकुमारी यादवले संसद् भवनमा सांसदहरूनै सुरक्षित नभएको गुनासो गरिन्।
शून्य समयमा उनले भनिन्, "हामी यो सदनमा सुरक्षित छौँ कि छैनौँ? यो सदनमा जुन फोहर छ यस्को अर्थ छ कि छैन? साबुन पानीले हात धुनु भनेको छ यहाँ कहाँ हात धुने? विश्वभर सबैतिर तयारी गरिरहेका बेला हाम्रो सरकार विज्ञापन र भाषणमा मात्र निहित छ।"

तस्बिर स्रोत, Rss
सत्ताधारी दलकै सांसद खगराज अधिकारीले कोरोनाभाइरसको कारण देखाउँदै कृत्रिम अभाव सिर्जना गरिएको बताए।
उनले भने, "यस्ता कालोबजारीहरूलाई र आपूर्तिमा बाधा गर्नेलाई कानुनले रोक्दैन सरकारले तुरुन्त कदम चालोस्। स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र सुरक्षित कपडाको व्यवस्थापन गरियोस्।"
सीमामा गम्भीरता अपनाउन माग
सांसद् महेन्द्र यादवले कोरोनाभाइरसबारे सूचना दिन सरकारले एकद्वार प्रणाली लागु गर्नुपर्ने बताए।
उनले प्रदेश र स्थानीय तहबीच समन्वय अभावले कोरोनाभाइरसबाट सुरक्षित रहने कुरामा कामहरू हुन नसकेको भन्दै सरकारको आलोचना गरे।
उनले सीमा क्षेत्रमा सरकारले अहिलेसम्म गम्भीरता नदेखाएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।

तस्बिर स्रोत, Rss
सांसद प्रदीप यादवले सरकारले कोरोनाभाइरस सङ्क्रमणको पूर्वतयारीका लागि विशेष योजना ल्याउनुपर्ने बताए।
सांसद डिला सङ्ग्रौलाले खाद्यान्नलगायतका सामान अभाव हुन नदिन सरकारले तत्कालै कदम चाल्नुपर्ने बताइन्।
सांसद् रंगमती शाहीले तिब्बतको ताक्लाकोटमा रहेका नेपालीहरूलाई नेपाल ल्याउन माग गरिन्।
उनले हुम्लामा चीनतर्फबाट 'नाकाबन्दीजस्तो अवस्थामा पुगेको' भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिन्।
शून्य समयमा बोल्ने कतिपय सांसदहरूले कोरोनाभाइरस सङ्क्रमणबाट बच्न हाललाई संसद् बैठक नै पनि रोक्नुपर्ने बताएका थिए।

- कसरी जोगिने?ज्वरो वा रुघामा एक्लिएर बस्न विज्ञको सुझाव
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्









