कोरोना भाइरस भारत: एकै पटक भारु ९५,००० को मदिरा किनेको बिल देखिएपछि

मदिरा

तस्बिर स्रोत, Getty Images

    • Author, इमरान कुरैशी
    • Role, बीबीसी हिन्दी, बेङ्गलुरु

भारतमा लकडाउनको ४१ दिनपछि कर्नाटक सरकारले मदिरा विक्री सुरु गरेपछि उक्त राज्यको आयको ठूलो स्रोत पुनः खुलेको छ।

तर एउटा अनौठो समस्या अधिकारीहरूले सामना गर्नु परेको छ - त्यो हो 'लोभ'।

धेरै मदिरा विक्रेताले निर्धारित समयको ख्याल नगरेरै व्यापार गरिरहेका छन्।

केही मदिरापारखीले पनि खरिदसम्बन्धी नियम पालना गरेका छैनन्।

कर्नाटकमा अहिलेसम्म सार्वजनिक भएका तीनवटा घटनाले मदिरा किन्न तोकिएको मापदण्ड ठट्टाको विषय बनेको देखिएको छ।

कानुनी मापदण्ड उल्लङ्घन

दक्षिण बेङ्गलुरुको एउटा मदिरा पसलको बिल सामाजिक सञ्जालमा भाइरल बनेको छ।

बिल

तस्बिर स्रोत, Imran Qureshi/BBC

तस्बिरको क्याप्शन, सामाजिक सञ्जालमा भाइरस भएको बिल

भारु ५२,८४१ उल्लिखित बिलमा १७ थरी सामान एउटै व्यक्तिले किनेको देखिन्छ। तर प्रश्न रुपैयाँभन्दा पनि त्यसबाट किनिएको मदिराबारे उठाइएको छ।

नियमानुसार एक व्यक्तिले २.३ लिटरभन्दा बढी स्थानीय मदिरा र १८.२ लिटरभन्दा बढी बीयर किन्न पाउँदैन।

तर सामाजिक सञ्जालमा प्रेषित उक्त बिलमा १२८ लिटर मदिरा किनिएको देखिन्छ।

९५ हजारको मदिरा

उक्त बिल सार्वजनिक भएको केही समयपछि अधिकारीहरूको ध्यान भारु ९५,३४७ अर्को बिलमा पर्‍यो।

नाम खुलाउन नचाहने एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार उजुरीको आधारमा उनीहरूले त्यसबारे छानबिन गरिरहेका छन्।

लकडाउनपछि सोमवार पहिलो पटक मदिरा पसल खुलेका थिए। दोस्रो दिन अझ धेरै पसलहरू खुले।

छ प्रतिशत कर बढाइएपछि राज्यलाई मदिरा विक्रीबाट हुने आम्दानी बढेर एक अर्ब ९७ करोडसम्म पुगेको छ।

सरकारको अनुमानमा कर वृद्धिका कारण यो आर्थिक वर्ष कर्नाटक सरकारलाई २२,७०० करोड आम्दानी अन्तःशुल्कबाट हुनेछ। जुन अघिल्लो वर्षको भन्दा साढे आठ प्रतिशत बढी हो।

मदिराबाट नोक्सान पूर्ति गर्ने लक्ष्य

कर्नाटक सरकारले पनि आन्ध्र प्रदेश र दिल्लीको सरकारले जस्तै मदिराको मूल्य बढाउने निर्णय गरेको छ।

बिल

तस्बिर स्रोत, Imran Qureshi/BBC

तस्बिरको क्याप्शन, सामाजिक सञ्जालमा भाइरल भएको अर्को बिल

उसले मदिरामा १० देखि १२ प्रतिशत अतिरिक्त शुल्क लगाउने योजना बनाएको छ। त्यसले लकडाउनका बेला घटेको करको पूर्ति गर्न सहयोग गर्ने सरकारको विश्वास छ।

एक वरिष्ठ अधिकारीका अनुसार लकडाउनका कारण ४१ दिनमा सरकारले प्रत्येक दिन ६४ करोड अन्तःशुल्क गुमाएको छ।

कर्नाटक सरकारका वित्त विभागका आईएसएन प्रसादले बीबीसीसँग भने, "हामीले अन्तःशुल्क १० देखि ११ प्रतिशतसम्म बढाउँदैछौँ। यसले गर्दा एउटा गरिब व्यक्तिले एक क्वार्टर किन्दा पाँच रुपैयाँ मात्र बढी तिर्नुपर्छ।"

भारतका मदिरा पसल खुलेपछि हजारौँ मानिसहरू व्यक्तिगत दूरी विचार नगरी मदिरा किन्न लाइनमा लागेको देखिएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर