कोरोना भाइरसः 'नेपालमा पीसीआर र आरडीटी दुवै विधिबाट परीक्षण गर्ने उपकरणको अभाव'

तस्बिर स्रोत, Getty Images
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पीसीआर र आरडीटी दुवै विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने स्वास्थ्य उपकरणहरूको अभाव भएको चेतावनी दिएका छन्।
उपकरण अभावकै कारण कतिपय स्थानमा नमुना सङ्कलन कार्य रोकिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए पनि प्रयोगशाला परीक्षण नरोकिएको जनाइएको छ।
बिहीवारसम्म स्वीस सरकारको सहयोगमा कोभिड-१९ को लक्षण देखिएका व्यक्तिको स्वाब सङ्कलनमा प्रयोग हुने सामग्री र अर्को हप्तासम्म नेपाली सेनामार्फत् चीनबाट खरिद गरिएका अत्यावश्यक स्वास्थ्य सामग्री आइपुग्ने अधिकारीहरूको अपेक्षा छ।
पछिल्लो पटक नेपालगञ्जमा २३ सहित देशभरि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८२ पुग्दा परीक्षणलाई अझ व्यापक विस्तार गराउनुपर्ने विज्ञहरूले जोड दिइरहेका छन्।
उपकरण
मङ्गलवार अपरान्हसम्म पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइअग्नस्टिक टेस्ट (आरडीटी) विधिअन्तर्गत ६६ हजारभन्दा बढीमा कोरोनाभाइरसको परीक्षण गरिएको अधिकारीहरूले जनाएका छन्।
तर स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या तथा समन्वय महाशाखाका प्रमुख डा. रोशन पोखरेलले आरडीटीका किटको अभाव रहेको र पीसीआर विधि अघि बढाउन स्वास्थ्य सामग्रीको अभाव रहेको बताएका छन्।
उनी भन्छन्, "हामीसँग पीसीआर रिएजेन्ट २० हजार नै छ, तर आरएनए एक्स्ट्रयाक्सन नहुदाँ काम अघि बढ्न नसकेको हो। आरडीटी नयाँ आएकै छैन, तर पुरानो सकियो। अझै एक हजारदेखि दुई हजार पीसीआर परीक्षण गर्न सकिने अवस्था छ। त्यसपछि नयाँ ल्याउनैपर्ने हुन्छ।"
पीसीआर परीक्षण गर्दा भाइरसलाई आकार बढाएर देखाउन आरएनए एक्स्ट्रयाक्सन महत्त्वपूर्ण हुने भन्दै उनले त्यो नहुँदा नमुना सङ्कलन ठप्प हुने बताए।
स्वीस सरकारले आरएनए एक्स्ट्रायकसनसहित उपलब्ध गराएका परीक्षण सामग्री लिन सिङ्गापुर आइपुगेको र त्यसलाई मलेशियाको बाटो भएर पर्सिसम्म नेपाल ल्याउने तयारी भइरहेको डा. पोखरेलले बताए।
पीसीआर परीक्षण विधि जटिल, महँगो र समय लाग्ने भए पनि यसलाई आरडीटीको तुलनामा विश्वसनीय मान्ने गरिन्छ।
पीसीआर विधिमा नतिजा आउन कम्तिमा छ घन्टा लाग्ने तर आरडीटीमा १५ मिनेटमै नमुना प्राप्त हुने बताइन्छ।
नेपालले शंङ्कास्पद व्यक्तिहरू जाँच्न आरडीटी विधि अपनाए पनि सङ्क्रमित भए या नभएको टुङ्गो पीसीआर विधिमार्फत् गरिने प्रयोगशाला विधिबाट लगाउने गरेको छ।
सामग्री अभावकै कारण गत २४ घण्टामा पीसीआर र आरडीटी विधिबाट १५ सयभन्दा केही बढी परीक्षण मात्रै गरिए।
सोमबारको तुलनामा मङ्गलबार दिइएको जानकारीमा पीसीआर विधिबाट त थप केवल २१० जनाको मात्र परीक्षण भएको देखिन्छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

व्यवस्था
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार देशभरि १६ वटा प्रयोगशालामा कोभिड-१९ को परीक्षण जारी रहेको भएपनि आरएनए एक्स्ट्रायकसनको माग भने बढी देखिएको छ।
उनले थपे, "हाम्रोमा परीक्षण भइरहेको छ। सरकारले आवश्यक सामग्री ल्याउने व्यवस्था गरिरहेको छ। माग अनुसार एक-दुई दिनमा सामग्री आइपुग्छन् होला।"

तस्बिर स्रोत, Getty Images
सरकारले गत चैतमा नेपाली सेनालाई अत्यावश्यक स्वास्थ्य उपकरण खरिद गर्ने जिम्मेवारी दिएको थियो।
त्यसअन्तर्गत चिनियाँ सरकारी औषधि तथा स्वास्थ्य सामग्री उत्पादक कम्पनीसँग अनि ढुवानीकर्तासँग सम्झौता भइसकेको नेपाली सेनाले बताउने गरेको छ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार चीनमा मे दिवसका लागि भएका सार्वजनिक बिदाका कारण स्वास्थ्य सामग्री ढुवानी हुन समय लागिरहेको छ।
उनले भने, "ग्वान्जाओ विमानस्थलमा अत्यधिक चाप रहेको जानकारी पाएका छौँ र नजिकैको अर्को विमानस्थलबाट अरू स्थानका लागि स्वास्थ्य सामग्री लगिएका भन्ने बुझेका छौँ। भन्सार खुलेपछि मात्रै हवाई उडानमार्फत् कहिले हाम्रो सामान आउँछ भन्न सक्छौँ होला।"
"स्थलमार्गबाट पनि केही सामान हिँड्ने भन्ने कुरा थियो। तर त्यसबारे जानकारी आएको छैन्। नेपालको सीमासम्म आइपुग्न सातदेखि नौ दिनसम्म लाग्ने भनिएको छ।"
चीनबाट स्वास्थ्य सामग्री खरिद प्रक्रिया थाल्ने अघि बढाउने ८१ औँ देश नेपाल भएको बताउँदै अधिकारीहरूले उत्तरी छिमेकीबाट स्वास्थ्य सामग्री भित्र्याउन केही समय लाग्नुलाई स्वाभाविक भनिरहेका छन्।
कोभिड-१९ सँग जोडिएका स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई र मास्कजस्ता सामग्री अनि अरू उपकरणको संसारभरि नै अभाव रहेको छ।
परीक्षण गर्न कठिन
कर्णाली प्रदेशका अधिकारीहरूले स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएम र स्वाब परीक्षण गर्ने किट सकिएकाले परिक्षण रोकिएको बताएका छन्।
त्यसका कारण दुई साता क्वारन्टीनमा बसेर घर फर्कन लागेका २३ सय जनाको परीक्षण गर्न सक्ने अवस्था नरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
तीन सातादेखि किटको लागि लिखित र मौखिक अनुरोध गरिएको भन्दै निर्देशनालयले एउटै कोठामा क्वारन्टीनमा बसेका आठदेखि दशमध्ये एक वा दुई जनाको मात्रै परीक्षण गरेर घर पठाउने गरिएको जानकारी दिएको हाम्रा संवाददाता प्रकाश पन्तले जनाएका छन्।








