कोरोना भाइरस: द्रुत परीक्षण प्रति किन अविश्वास

- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा कोरोनाभाइरसको सङ्क्रमित पत्ता लगाउन सुरुमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण सुरु गरियो। त्यसको विस्तार राजधानी बाहिर पनि भइसकेको छ। सङ्क्रमण फैलिने जोखिम बढ्दै गएपछि परीक्षण बिस्तार गर्न र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) पनि देशका ५६ जिल्लाहरूमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तर त्यो परीक्षणले 'सङ्क्रमित व्यक्तिको नतिजा नेगेटिभ र सङ्क्रमण नभएका व्यक्तिलाई पोजिटिभ देखाएको' उदाहरणले त्यो जाँचको विश्वसनीयतामाथि कतिपयले प्रश्न उठाएको पाइन्छ। सरकारी अधिकारीहरूका भनाइमा ती दुई विधिले दिने परिणाम र त्यस्ता परीक्षणको उद्देश्यबारेको अनभिज्ञताले कतिपयमा भ्रम परेको हो।
कुन परीक्षणबाट के पत्ता लाग्छ?
पीसीआरले शरीरमा भाइरस छ कि छैन पत्ता लगाउँछ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भनाइमा सुरुको दुई हप्तामा पीसीआरमा भाइरस पोजिटिभ देखिन्छ। उनी भन्छन्, "आरडीटीले भाइरस शरीरमा प्रवेश गरेपछि एन्टीबडी (शरीरले बाह्य पदार्थसँग लड्न बनाउने तत्व) बनेको छ कि छैन भनेर हेर्छ।"
हाल १४ दिनभन्दा बढी क्वारन्टीनमा बसिसकेकाहरूलाई पीसीआर जाँचमा निकै कम मात्र पोजिटिभ हुने सम्भावना हुने सरकारी अधिकारीहरूको विश्वास छ।
तर काठमाण्डूको एउटा अपार्टमेन्टमा रहेका व्यक्तिहरूमा आरडीटीले पोजिटिभ देखाएका तीन जनामध्ये दुईजनामा पीसीआरले पनि पोजिटिभ देखायो।
महानिर्देशक श्रेष्ठ भन्छन्, "केही मानिसमा भाइरस रहे पनि धेरै कडा हुँदैन। करिब ८० प्रतिशतको अवस्था सामान्य नै हुन्छ। अहिले भेटिएको त्यही हो।"

तस्बिर स्रोत, Getty Images
अर्थात् पीसीआरमा नेगेटिभ देखिएको भए उनीहरूबाट अरूलाई सर्ने सम्भावना कम हुन्थ्यो र अस्पताल लगिँदैनथ्यो। तर पोजिटिभ देखिनुको अर्थ उनीहरूबाट अरूलाई सर्न सक्ने सम्भावना रहन्छ। त्यसको पुष्टिको निम्ति पनि आरडीटीमा पोजिटिभ देखिएकाको पीसीआरबाट पनि परीक्षण गर्ने गरिएको अधिकारीहरू बताउँछन्।
फरक उद्देश्य
दुवै विधिको उद्देश्य फरक फरक रहेको अधिकारीहरूको भनाइ छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रूना झाका अनुसार पीसीआर परीक्षण विधि जटिल, महङ्गो र समय लाग्ने हुन्छ। नतिजा आउन कम्तिमा छ घन्टा लाग्छ। जबकी आरडीटीको नतिजा १५ मिनेटमै आउँछ। विशेष परीक्षण कक्ष र विशेष जनशक्ति आवश्यक हुँदैन। त्यसैले आरडीटी परीक्षण ५६ वटा जिल्लामा सुरु भइसकेको छ।
कसैमा कोभिड-१९ भएको करिब तीन सातापछि आरडीटी परीक्षण गर्दा झन्डै शतप्रतिशत पोजिटिभ नतिजा देखाउने विज्ञहरू बताउँछन्। महानिर्देशक श्रेष्ठ भन्छन्, "त्यसबाट समुदायमा रोग छ कि छैन, अरू फैलिएको छ कि छैन वा अरू शङ्कास्पद छन् कि छैनन् भन्ने जानकारी पाइन्छ। यसमा नेगेटिभ देखिनु भनेको शत प्रतिशत नेगेटीभ हुन्छ। जुन पीसीआरबाट नहुनसक्छ।"
विज्ञ र अधिकारीहरूका भनाइको अर्थ हो पीसीआरले नेगेटिभ देखाउँदैमा कुनै व्यक्ति सङ्क्रमित थिएन भन्ने होइन। उसमा भाइरस अस्तित्वमा बाँकी छैन भन्ने मात्र हो। उ कुनै बेला सङ्क्रमित थियो कि थिएन भन्ने पत्ता लगाउन आरडीटी परीक्षण गर्नुपर्छ। त्यसमा पोजेटिभ देखिनु भनेको शरीरले रोगसँग लड्न उत्पादन गर्ने एन्टीबडी रहेको जनाउँछ। तर पीसीआरले नेगेटीभ र आरडीटीले पोजिटिभ देखाएको व्यक्तिबाट अरूमा सर्ने सम्भावना रहँदैन।
त्यस्तै सङ्क्रमणको सुरुमा आरडीटीले नेगेटिभ देखाउने सम्भावना बढी हुन्छ। किन कि त्यो बेलासम्म एन्टीबडी उत्पादन भइ नसकेको हुनसक्छ। त्यसैले क्वारन्टीनमा बसिरहेकाहरूको परीक्षणको निम्ति आरडीटी प्रयोग गरिएको अधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, Getty Images
नेगेटिभपछि पोजिटिभ: खतराको सङ्केत?
आरडीटी परीक्षणमा पोजिटीभ देखिए सतर्कतामाथ परीक्षणको अवसर मिल्छ। तर कुनै व्यक्तिमा आरडीटीले नेगेटिभ देखाएर घर फर्काइयो तर पछि पीसीआरमा पोजिटिभ देखियो भने उसले धेरैलाई सारिसकेको हुनसक्छ। त्यो स्थिति खतरनाक हुने भएकाले आरडीटीमा किन भर पर्ने भन्ने प्रश्न उठ्छ।
महानिर्देशक श्रेष्ठ भन्छन्, "त्यसैले हामी आरडीटीमा पुरै भर पर्दैनौँ, पोजिटिभ देखिए पीसीआरबाट फेरी परीक्षण गर्छौँ, नेगेटिभ आएमा पनि ती मध्ये १० प्रतिशत नमुना पीसीआरबाट परीक्षण गर्छौँ।"
कैलालीमा एक महिलामा आरडीटीमा नेगेटिभ नतिजा आए पनि पीसीआरमा पोजिटिभ देखिएको थियो। महानिर्देशक श्रेष्ठका अनुसार भाइरस सक्रिय अवस्थामा हुँदा आरडीटी नेगेटिभ भएको हुनसक्छ। अर्को कुरा मेसिन वा परीक्षण गर्ने व्यक्तिको गल्तीका कारण आउनुपर्ने परिणाम नआएको हुनसक्छ।
त्यस्तै पीसीआरको पनि ८६ प्रतिशत नतिजा भरपर्दो हुने अधिकारीहरू नै बताउँछन्। र, त्यो बिरामीमा भएको सङ्क्रमणको समय र परीक्षणको समयमा भर पर्छ।
नेपालले जुन चिनियाँ कम्पनीको आरडीटी किट प्रयोगमा ल्याएको छ त्यही किट अस्ट्रेलिया र थाइल्यान्डले पनि परीक्षण गरिरहेको अधिकारीहरूले जनाएका छन्। तत्काल उत्पादन गरेर प्रयोगमा ल्याइने सबै उत्पादनले तत्कालै विश्व स्वास्थ्य सङ्गठनको मान्यता पाउन सम्भव नहुने उनीहरूको तर्क छ। तर चीनको आधिकारीक निकायले मान्यता दिएको उनीहरूको दाबी छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2








