कोरोना भाइरस: सङ्क्रमणको दोस्रो लहर झन् खतरनाक हुनसक्ने अमेरिकी विज्ञको चेतावनी

एम्बुलेन्स

तस्बिर स्रोत, Reuters

अमेरिकाका एकजना वरिष्ठ विज्ञले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर झनै खतरनाक हुनसक्ने चेतावनी दिएका छन्।

आगामी जाडो महिनामा साधारण फ्लु को यामसँगसँगै कोरोनाभाइरसको दोस्रो लहरको सङ्क्रमण हुनसक्ने उनले बताए।

अमेरिकाका कैयन् राज्यहरूले अर्थतन्त्र पुन: खुला गर्ने तयारी गरिरहँदा सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडिसीका निर्देशक रोबर्ट रेडफिल्डले उक्त चेतावनी दिएका हुन्।

दोहोरो चाप

रेडफिल्डका अनुसार दोस्रो लहरको सङ्क्रमण साधारण फ्लु फैलने मौसममा हुनसक्ने भएकाले त्यसले दोहोरो चाप पार्नसक्छ।

स्वासप्रस्वाससम्बन्धी दुई थरी प्रकोप एकसाथ आइपरेमा त्यसले अमेरिकी स्वास्थ्यसेवा प्रणालीमा अकल्पनीय भार पर्ने उनले बताए।

"आगामी जाडो याममा भाइरसले गर्ने आक्रमण हालै हामीले बेहोरेकोभन्दा अझ चुनौतीपूर्ण हुनसक्छ," उनले भने।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

उनले आउने महिनाहरूमा त्यस्तो अवस्थासँग जुझ्ने गरि तयारी थालिनुपर्ने बताए।

साथै हाल लागु गरिएका सामाजिक दूरीका नियम कायम राखिराख्नुपर्ने उनले बताए।

अमेरिकामा कति सङ्क्रमित?

मङ्गलवार अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले राखेको आँकडामा त्यहाँ पछिल्लो २४ घण्टामा २,७०० मानिसको कोभिड-१९ बाट ज्यान गएको उल्लेख छ।

अमेरिकामा सवा आठ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्। त्यहाँ करिब ४५ हजार मानिसको ज्यान गइसकेको उक्त आँकडामा उल्लेख छ।

विश्वभरिमा २५ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन्।

कुल १ लाख ७७ हजारको ज्यान गइसकेको छ।