कोरोना भाइरस: विश्वभरि लकडाउनका कारण माग घटेपछि अमेरिकी तेलको मूल्य पहिलो पटक 'ऋणात्मक'

तेल बजार

तस्बिर स्रोत, Getty Images

अमेरिकी तेलको मूल्य पहिलो पटक घटेको छ। यसको अर्थ तेल उत्पादकहरूले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले उक्त पदार्थ लिन क्रेतालाई भुक्तानी दिइरहेका छन्।

विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग निकै कम भएको छ।

फलस्वरूप तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा ऋणात्मक प्रभाव पारेको छ।

अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टर्मीडिएट (डब्ल्यूटीआई) को प्रतिब्यारल मूल्य -३७.६३ अमेरिकी डलरमा झरेको छ।

भूमिका

सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका छ।

माग घटेपछि अमेरिकी तेलको मूल्य पहिलो पटक 'ऋणात्मक'

तेलको कारोबार भविष्यको मूल्यका आधारमा गरिन्छ। मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँदैछ र व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिनका लागि आफूसँग रहेको तेल बेच्न चाहन्थे।

जुन महिनामा पनि वेस्ट टेक्सस इन्टर्मीडिएट (डब्ल्यूटीआई) को मूल्य कम नै थियो। तर त्यति बेला पनि प्रतिब्यारल मूल्य २० अमेरिकी डलर थियो।

यसैबीच जुन महिनाको सम्झौताका आधारमा कारोबार भइरहेको ब्रेन्ट क्रूड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ।

८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारल २६ अमेरिकी डलर पुगेको छ।

लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन्।

तेल उद्योग घटिरहेको माग र उत्पादकहरूबीच उत्पादन घटाउने विषयमा भइरहेको खिचातानीका बीच सङ्घर्ष गरिरहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: अर्थतन्त्र जोगाउने कि जनता भन्ने द्विविधा

केही हप्ताअघि तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र उक्त सङ्गठनका सहयोगीहरूबीच विश्वव्यापी रूपमा तेल उत्पादनमा करिब १० प्रतिशतले कटौती गर्ने विषयमा सहमति भएको थियो।

उक्त सम्झौता तेल उत्पादनमा सहमति जनाइएको हालसम्मकै सबैभन्दा ठूलो कटौती थियो।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर