क्यानडा आक्रमणः प्रहरीको भेषमा भएका व्यक्तिले गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु

प्रहरीका अनुसार ती आक्रमणकारीले प्रहरीको जस्तो देखिने एउटा कार प्रयोग गरेका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रहरीका अनुसार आक्रमणकारीले प्रहरीको जस्तो देखिने कार प्रयोग गरेका थिए

क्यानडाको नोभा स्कोटिया प्रान्तमा प्रहरीको भेषमा हिँडेका एक सशस्त्र व्यक्तिले गोली चलाउँदा एक महिला प्रहरीसहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

बाह्र घण्टा लामो घटनामा ती आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिवार राति गोली चल्न थालेपछि सुरक्षाका कारण दुर्गम नगर पोर्टपिकका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो।

प्रहरीका अनुसार ती आक्रमणकारीले प्रहरीको जस्तो देखिने एउटा कार प्रयोग गरेका थिए र उक्त कारलाई पछ्याउन थालिएको थियो।

ती आक्रमणकारीले नोभा स्कोटियाका विभिन्न स्थानमा मानिसहरूलाई गोली हानेको हुनाले हताहत हुने सङ्ख्या अझै स्पष्ट हुन बाँकी भएको प्रहरीले बताएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सेवामा खटिँदा आक्रमणमा परेर हाईडी स्टीभन्सनले पनि ज्यान गुमाइन्। उनी त्यहाँको प्रहरी आरसीएमपीमा २३ वर्षदेखि कार्यरत थिइन्।

आरसीएमपीकी निर्देशक ब्रेन्डा लकीलाई उद्धृत गर्दै सीएनबीसी न्यूजले सुरुमा आक्रमणकारीकोल कुनै 'अभिप्रायसहित' भएको हुन सक्ने तर पछि उनी 'अनियन्त्रित' भएको जनाएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले उक्त घटनालाई 'भयानक' भनेका छन्।

नोभा स्कोटियाका प्रान्तीय प्रमुख स्टीभन मक्नीलले आफ्नो प्रान्तको इतिहासमा सबैभन्दा अर्थहीन हिंसात्मक घटना भएको भनेर दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा एउटा राजमार्गमा जलेको कार देखिन्छ

तस्बिर स्रोत, earthshod_kuunda

तस्बिरको क्याप्शन, सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा एउटा राजमार्गमा जलेको कार देखिन्छ

आक्रमणकारीबारे के भन्छ प्रहरी?

प्रहरीका अनुसार शनिवार राति बन्दुक प्रयोग भएको एउटा घटनाबारे सूचना प्राप्त भएको थियो।

गेब्रीअल वोर्टम्यान

तस्बिर स्रोत, RCMP Nova Scotia

तस्बिरको क्याप्शन, गेब्रीअल वोर्टम्यान

प्रहरीले आफ्नो ट्वीटमा ती सन्दिग्ध आक्रमणकारी ५१ वर्षीय गेब्रीअल वोर्टम्यान भएको जनाएको छ।

उनी प्रहरी नभएको तर आरसीएमपीको पोसाक लगाएको हुन सक्ने बताइएको थियो।

ट्वीटमा उनको कार र प्रहरीको कारमा केही भिन्नता रहेको भन्दै उल्लिखित बेहोराको कार देखिए तत्काल ९११ मा खबर गर्न सर्वसाधारणलाई आइतवार आग्रह गरिएको थियो।

ती आक्रमणकारीले कार फेरेको प्रहरीको भनाइ छ। उनको मृत्युबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।

दुर्लभ घटना

क्यानडामा यस्तो खालको बन्दुक आक्रमण दुर्लभ मानिन्छ। त्यहाँ छिमेकी अमेरिकामा जसरी सजिलै बन्दुक राख्न पाइँदैन।

सन् २०१९ मा दुई किशोरहरूले ब्रिटिश कोलम्बियामा तीन जनाको हत्या गरेका थिए।

सन् १९८९ मा क्विबेकस्थित एउटा कलेजमा १४ महिलाको हत्या भएको थियो।

एक आक्रमणकारीले एउटा कक्षा कोठामा भएका सबै पुरुषलाई बाहिर निकालेर महिलाहरूलाई गोली हानेका थिए।