कोरोनाभाइरस: महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो

मानिसहरूको आवतजावत

तस्बिर स्रोत, AFP

कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ।

स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा "हरियो" कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्।

लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुन: सञ्चालनमा आएका छन्।

मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो।

निर्देशन

कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए।

एक करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार-व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो।

गत महिना वुहानमा एक साताभर कोरोनाभाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो।

सङ्क्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

बुधवारबाट स्वीकृति पाएका मानिसहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन् तर त्यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्न दिनुपर्छ।

त्यस्तो कोड प्रत्येक मानिसका लागि फरक हुन्छ र त्यो उनीहरूको स्वास्थ्यस्थितिसँग सम्बन्धित हुन्छ।

मानिस

तस्बिर स्रोत, AFP

बेइजिङमा थप कडाइ

औषधी आपूर्ति र अन्य दैनिक उपभोग्य काममा संलग्न मानिसहरू आफ्नो काममा फर्किन पाउनेछन्।

विश्वव्यापी तथा राष्ट्रिय आपूर्ति सञ्जालसँग जोडिएका र त्यसमा असर पार्ने उद्योगहरू पनि पुन: खुल्नेछन्।

सीमित हवाइ सेवा हुँदा पनि बुधवार १० हजार यात्रु बोकेर दुई सय विमानहरू वुहान सहरबाट अन्यत्र जाने तय भएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले आकाशबाट खिचिएका भिडिओ सामाग्रीहरू देखाएका छन् जसमा झण्डै १०० वटा उच्च गतिका रेलहरू प्रस्थानका लागि तयार अवस्थामा छन्।

राजमार्गमा यातायातको आवतजावत रोक्नका लागि लगाइएका बन्देजहरू पनि हटाइएका छन्।

यातायातमा लगाइएका केही सीमितता कायमै रहनेछ र अर्को सूचना नआउँदासम्मका लागि विद्यालयहरू पनि बन्द नै छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यस्तो थियो कोरोनाभाइरसका कारण बन्द हुँदा वुहानको अवस्था

चीनका अन्य क्षेत्रमा भने लकडाउन जारी नै छ।

बेइजिङ्मा सोमवार कोरोनाभाइरसको सङ्क्रमण थप ३१ जनामा देखिएपछि उक्त सहरका अधिकारीहरूले थप कडा कदमहरूको घोषणा गरेका छन्।

सहर पस्ने जोकोहीले क्वारन्टिनमा बस्नुपर्छ र स्वास्थ्य उपचार गराउनुपर्छ।