कोरोनाभाइरस: प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन, लकडाउन अपरिहार्य कदम भएको टिप्पणी

ओली

तस्बिर स्रोत, RSS

नेपालमा कोरोनाभाइरस फैलिन नदिन सरकारले लगाएका प्रतिबन्धहरूका साथै स्वास्थ्य सामग्री खरिदजस्ता विषय विवादको घेरामा परेको बेला प्रधानमन्त्रीले झन्डै तीन सातापछि फेरि देशवासीलाई सम्बोधन गरेका हुन्।

उनले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन्।

उनले जोखिम अझै कायमै रहेको भन्दै सबैलाई महामारीलाई रोकथाम गर्न सहयोग गर्न आग्रह गरे।

उनले सुरक्षाकर्मी तथा जनप्रतिनिधि तथा स्वयंसेवीहरूको कामको प्रशंसा गरे।

क्षमता

ओलीले यतिखेर क्वारन्टीनमा ९,१६१ जना रहे पनि देशभरि ३०,५६७ लाई राख्न सकिने क्षमता रहेको बताए।

त्यसैगरी ३,२०५ जना आइसोलेशन शय्या भएकोमा अहिलेसम्म त्यसमा ९५ जना रहेको बताए।

कसैको एउटा लापरवाही सिङ्गो समुदायलाई महङ्गो पर्नसक्ने भन्दै उनले लकडाउन पालना गर्न आग्रह गरे।

सीमामा रोकिएका नेपालीहरूबारे सरकारले 'उचित कदम' चालेको भन्दै उचित समयमा पुन: जाँच गरेर नेपाल भित्र्याइने उनले बताए।

'आगामी दुई साता थप चुनौतीपूर्ण'

आगामी दुई साता 'थप चुनौतीपूर्ण' भएको बताउँदै उनले र्‍यापिड टेस्ट किटले परीक्षणको काम तीव्र गतिमा लैजाने सरकारको योजना सुनाए।

सम्बोधनका क्रममा ओलीले क्वारन्टीन अवधि पूरा गरेका व्यक्तिको पुन: परीक्षण गरिने जनाए।

यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस गर्नु नै उपयुक्त नहुने उनको भनाइ थियो।

आलोचनाबारे कडा प्रतिक्रिया

ओलीले सामान्य वा असामान्य अवस्थामा सरकारका काम विधिसम्मत हुनुपर्ने बताए। तर काम नै गर्न नसक्ने अवस्थाको सिर्जना सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्न नहुने बताए।

Presentational grey line

"प्रधानमन्त्रीले भनेका कुरा सबैलाई थाहा थियो, जे आवश्यक थियो त्यो आएन"

कृष्ण पोखरेल, राजनीतिशास्त्री

प्रधानमन्त्रीले जे कुरा गर्नुभयो त्यो सबैलाई थाहा थियो। अब के गर्ने भन्ने कुरा जुन यतिखेरको सम्बोधनमा आवश्यक थियो, त्यो आज आएन। नागरिकलाई यतिखेर ऊर्जा भर्ने कुरा प्रधानमन्त्रीको सम्बोधनले समेटेन।

यो सम्बोधन 'अब बोल्नुपर्छ' भनेर बोल्नका लागि बोलेजस्तै देखियो। कार्यक्रमहरू घोषणा गरेर गम्भीरता देखाउनुपर्थ्यो।

स्वास्थ्य सामग्री खरिदको प्रक्रिया र त्यसमा अनियमितता भएका भन्ने आरोप र गुनासोलाई प्रधानमन्त्रीले स्पष्ट उत्त दिनेभन्दा पनि 'मुलुकमा संस्थाहरू छन्' भन्दै जोखिएर बोलेको देखिन्छ। यस प्रकरणमा प्रधानमन्त्रीका भनाइ रक्षात्मक र दुईअर्थी देखिन्छ।

समग्रमा प्रधानमन्त्रीले राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशदेखि बोल्नपर्ने कुराहरू केही छुटाउनुभएन। तर सरकारका रणनीति र आउँदा कदमहरू के हुन् भन्दा त्यसको जबाफ भने भेटिँदैन।

Presentational grey line

"समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ," उनले भने।

"मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजाजस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन।"

"भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न सक्नेछैन। कहीँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्नेछैन।"

एकजुट हुन आग्रह

ओलीले पटकपटक लड्नु र धुलो टक्टक्याउँदै उठ्नु मानव जातिकै विशेषता भएको बताए। जसमै टेकेर यसपटक समेत यस महामारीबाट पार पाइने भन्दै उनले विनाशकारी भूकम्पको सम्झना समेत गरे।

ओलीले त्यसबेलाझै "धैर्य र साहस देखाउन" आग्रह गरे।

यो Facebook पोस्ट छोड्नुहोस्

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त

"यस महामारीविरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौँको जीवन जोगिएको छ। आउने केही हप्ता हामीले अलिकति साह्रोगाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ," उनले भने।

"आउनुहोस् फेरि एकपल्ट पाँच वर्षअगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्य र साहस प्रदर्शित गरौँ।

"तपाईंहरूलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोनाभाइरस फैलिन नदिन सरकार एकजुट भएर अघि बढ्न प्रतिवद्ध छ। म यहाँहरू सबैलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछु।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर