कोरोनाभाइरस: अत्यावश्यक मेडिकल सामग्री आयातबारे अझै अन्योल, दुई साता धान्ने स्टक बाँकी

तस्बिर स्रोत, RSS
कोरोनाभाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन ढिला गरेको भन्दै सरकारले खरिद सम्झौता रद्द गरेको झन्डै एक साता भएको छ।
तर त्यस्ता सामग्री अब कहाँबाट कहिलेसम्म ल्याइसक्ने भन्नेबारे अन्योल देखिएको छ।
दुई देशका सरकारबीच समन्वय गरेर अर्थात् जीटूजी सम्झौतामार्फत् ल्याउने जिम्मेवारी दिइएको नेपाली सेनाले खरिद एकाइ गठनको प्रक्रियामा रहेको र सामानको उपलब्धताबारे विभिन्न देशसँग अनौपचारिक कुरा भइरहेको जनाएको छ।
विदेशबाट फर्किएका र तिनको संसर्गमा आएका हजारौँ मानिसलाई अहिले विभिन्न जिल्लामा क्वारन्टीनमा राखिएको छ भने १०० जनाभन्दा बढी व्यक्ति आइसोलेशनमा छन्।
विदेशबाट फर्किएका व्यक्तिमा मात्र हैन स्थानीय स्तर पनि कोभिड-१९ सरेको देखिएपछि रोग नियन्त्रणका लागि उच्च सतर्कता आवश्यक भएको विज्ञहरू औँल्याउँछन्।
के छ सामानको स्थिति?
तर कोरोनाभाइरस रोकथाम र नियन्त्रणका त्यसका लागि आवश्यक पर्ने सामग्री क्रमशः सकिँदै गएको छ।
अहिले सरकारसँग एक हप्तादेखि १५ दिनसम्म मात्र काम गर्न पुग्ने सामग्री रहेको बताइएको छ।
यसअघि आवश्यक सामग्रीको खरिद सम्झौता रद्द गर्ने निर्णयसँगै तीन दिनमा बोलपत्रको काम सक्ने र त्यसको पाँच दिनमा सामान ल्याउने योजना स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको थियो।
तर त्यसअघि नै मन्त्रिपरिषद्ले जीटूजी सम्झौतामार्फत् नेपाली सेनालाई त्यस्ता सामग्री ल्याउने जिम्मेवारी दिएपछि सबै पक्ष सेनाकै भर परेको देखिन्छ।
के गर्दैछ नेपाली सेना?
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा यो विषयमा छलफल भएर सामानको सूची तयार भइसकेको बताइएको छ।
सेनाले भने खरिदका लागि आवश्यक संयन्त्र निर्माणको निर्णयबारे रक्षा मन्त्रालयलाई पत्राचार गरिएको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, "खरिद एकाइ गठन भएपछि मात्र सबैथोकको सहजीकरण गर्न सकिने भयो। गुणस्तरको कुरा होला, अनि कुनकुन देशलाई लेखिपठाउने भन्ने कुरा होला।"
"हामीले अहिले सोचविचार गरेर सूची बनाउने काम गरिरहेका छौँ। अनि कुन कुन दूतावासमा कुरा गर्दा होला भनेर गरिरहेका छौँ। चीन, भारत, दक्षिण कोरिया, सिङ्गापुर आदि हुन सक्छन्। अनौपचारिक कुराकानी भइरहेको छ। रक्षा मन्त्रालयबाट जबाफ आएपछि अगाडि बढ्न सकिन्छ।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

कसरी हुँदैछ समन्वय?
यसबीचमा विभिन्न राजदूतहरूसँग भेटेर उनीहरूको देशमा त्यस्ता सामान पाउन सक्ने अवस्थाका विषयमा छलफल गरिएको र विभिन्न देशमा रहेका सैनिक सहचारीहरूलाई परिचालन गरिसकिएको बताइएको छ।
पहिले खरिद गरिएका र विभिन्न क्षेत्रबाट सहयोगका रूपमा आएका सामग्रीको हाल व्यवस्थापन गरिरहेको र त्यसले केही साता मात्रै धान्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए।
"तत्काललाई पुग्ने स्टक छ। अब १५ दिनलाई पुग्ने छ। विभिन्न ठाउँबाट अनुदान पनि आइरहेको छ। स्वास्थ्यकर्मीका लागि आवश्यक (व्यक्तिगत सुरक्षा सामग्री) पीपीई तीन-चार हजार छन्, त्यस्तै मास्कहरू छन्," उनले भने।

तस्बिर स्रोत, Getty Images
स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री, परीक्षण यन्त्र र त्यसको किट अनि भेन्टिलेटर लगायतका थुप्रै सामग्री बेलैमा खरिद नगरे परीक्षण र उपचार प्रभावित हुने अधिकारीहरूको भनाइ छ।









