तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: माथिल्लो तामाकोशीको सकिनै आँटेको निर्माण कार्य प्रभावित
एक प्रतिशतभन्दापनि कम मात्रै काम बाँकी रहेको भनिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम कोरोनाभाइरस प्रकोपका कारण प्रभावित बनेको अधिकारीहरूले बताएका छन्।
यसअघि विभिन्न कारण पटकपटक आयोजनाको काम रोकिँदा निर्माण अवधि र लागत बढेर झण्डै दोबर भएको थियो।
भाइरसको प्रभाव
कोरोनाभाइरस सङ्क्रमणका कारण देशमा 'लकडाउन' भएसँगै माथिल्लो तामाकोशी आयोजनाको काममा पनि असर पुगेको हो।
९९ दशमलव ४ प्रतिशत काम सम्पन्न भइ आउँदो असारदेखि विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको भनिएको आयोजना निर्माणको अन्तिम चरणमा आएर कोरोनाभाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्राय: बाँकी काम रोक्नुपरेको आयोजनाले जनाएको छ।
आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भने, "केही अति महत्त्वपूर्ण काम बाहेक ठेकेदारले अन्य सबै बाँकी काम रोकेको अवस्था छ।"
के के काम रोकिए?
अहिले आयोजनाको बाँधस्थलको पानी घटाउने काम बाहेक अन्य सबै काम रोकिएको न्यौपानेले बताए।
खासगरि दुवै पेनस्टक पाइपको जडान, त्यसमा कंक्रिट भर्नु पर्ने केही काम, बाईफर्केशन भनिने पाइपहरूको जडान र सुरूका केही खण्डमा 'केमिकल ग्राउटिङ'को काम बाँकी रहेको बताइएको छ।
यसअघि विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी अनि लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण आयोजनाको काम पटकपटक प्रभावित हुँदा निर्माण अवधि र लागत बढेर दोबर पुग्ने बताइएको थियो।
अब फेरि कोरोनाभाइरसको जोखिमले काम रोकिँदा असर पुग्ने देखिएको भन्दै न्यौपानेले भने, "सरसामानको ढुवानीमा समस्या अनि तेलको अभावजस्ता कारणले असर परिरहेको छ। लकडाउन कति लामो रहन्छ त्यसैमा यहाँको निर्माणकार्य भर पर्नेछ।"
३५ अर्ब २९ करोड लागतमा निर्माण सक्ने भनिएको ४५६ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि हालसम्म करिब ४९ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ।