कोरोनाभाइरस: थप १६ जनाको नमुना परीक्षण, कसैमा देखिएन सङ्क्रमण

कोरोनाभाइरस परीक्षण

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कोरोनाभाइरस परीक्षण गर्न विश्वभरि पीसीआर विधि प्रयोग गरिन्छ

राजधानीस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो परीक्षणमा पनि कसैमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको बताएको छ।

रुघा र ज्वरोजस्ता लक्षण देखिएपछि चिकित्सकको परामर्शपछि कोभिड-१९ को परीक्षण गर्न प्राप्त २५ वटा नमुनामध्ये १६ वटामा कोरोनाभाइरस नपाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए। नौवटाको परिणाम आउन बाँकी छ।

उनका अनुसार बुधवार बिहानसम्म १६ वटा नमुनाको रिपोर्ट "नेगेटिभ" आएको हो। उनका अनुसार अधिकांश नमुना इटली र चीनबाट आएका विदेशी नागरिकका हुन्।

यसअघि ४९६ जनाको परीक्षण गरिएकोमा एक जनाबाहेक सबैको रिपोर्ट सामान्य आएको थियो।

Coronavirus
BBC
नेपालमा कोरोनाभाइरस परीक्षण

  • ५२१वटा नमुनाको परीक्षण

  • ५११वटामा सङ्क्रमण देखिएन

  • वटा मात्र सङ्क्रमण देखियो

  • वटाको प्रतिवेदन आउन बाँकी

Source: NPHL

केही हप्ताअघि सङ्क्रमण भएको पुष्टि भएका एक युवक अहिले स्वस्थ भइसकेको अधिकारीहरूले बताएका छन्।

उनी चीनबाट नेपाल फर्किएका थिए।

अहिले कति नमुना आउँछन्?

नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित भए नभएको परीक्षण काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्र हुन्छ।

सूचना अधिकारी गुप्ताका अनुसार दुई दिनयता परीक्षणको प्रयोगशालामा पठाइने नमुनाको सङ्ख्या बढेको छ।

यसअघि २०-२५ वटा नमुना आउने गरेकोमा दुई दिनदेखि दैनिक सरदर ४०-५० वटा आउने थालेको उनले बताए।

पीसीआर विधिद्वारा गरिने परीक्षणमा पाँच विशेषज्ञहरू खटिएका छन्।

सूचना अधिकारी गुप्ताले दैनिक ८०० वटा नमुना परीक्षण गर्न सक्ने जनशक्ति तयार रहेको जानकारी दिँदै आवश्यकताअनुसार त्यो परिचालन गरिने बताए।

उनका अनुसार चाप हेरेर दैनिक दुईवटा तालिका निर्धारण गरेर पनि जनशक्ति परिचालन गर्ने प्रयोगशालाको योजना छ।

कोरोनाभाइरस लक्षण

परीक्षणको रिपोर्ट आउन कति समय लाग्छ?

नेपालमा चिकित्सकको परामर्शपछि मात्र कोभिड-१९ को परीक्षण हुने गरेको छ।

बिरामीहरू सोझै प्रयोगशालामा नमुना दिन जान पाउँदैनन्।

शङ्कास्पद बिरामीलाई अलग्गै राखेर कपासको स्वाब प्रयोग गरी नाक र घाँटीबाट नमुना सङ्कलन गरेर अस्पतालहरूले परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाउने गरेका छन्।

प्रयोगशालाले प्रकाशित गरेको सूचनामा सङ्कलित नमुनाको परीक्षण गरेर लिखित रिपोर्ट दिन २४ देखि ४८ घण्टा लाग्ने उल्लेख छ।

तर सङ्क्रमण भएको पुष्टि भए सम्बन्धित अस्पताल र चिकित्सकलाई त्यसबारे तुरुन्त जानकारी दिने व्यवस्था मिलाइएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर