कोरोनाभाइरस: विश्वव्यापी महामारीबाट आर्थिक असर कम गर्न अमेरिका र ब्रिटेनद्वारा ठूला आर्थिक राहत कार्यक्रम घोषणा

अमेरिकामा भाइरसको त्रास

तस्बिर स्रोत, NOAM GALAI

अमेरिका र ब्रिटेनका सरकारले कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई त्राण दिन ठूला राहत योजनाको घोषणा गरेका छन्।

अमेरिकी अर्थमन्त्रीका अनुसार १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागिएको छ।

ब्रिटेनले भाइरसको असरबाट प्रभावित व्यवसायहरूलाई झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेको छ।

अमेरिकी अर्थमन्त्री स्टीभ मनूशिनले झन्डै १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन आवश्यक विधेयक पारित गर्न आफूले छिट्टै कङ्ग्रेसमा छलफल गर्ने बताएका छन्।

त्यसअघि द वाशिङ्टन पोस्ट पत्रिकाले ट्रम्प प्रशासनले कोरोनाभाइरसको महामारीसँग सङ्घर्ष गर्न ८५० अर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागेको जनाएको थियो।

'अदृश्य त्रु'

राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफ्नो सरकार भाइरससँग सङ्घर्ष गर्न कडा रूपमा प्रस्तुत हुन लागेको बताएका छन्।

उनले भने, "हाम्रो योजना ठूलो र कडा रूपमा अघि बढ्ने हो। हाम्रो देश बलियो छ, यति बलियो कहिले पनि थिएन। यो अदृश्य शत्रुका कारण हामी वायुसेवा वा अरू कुनै पनि व्यवसाय बन्द भएको र मानिसहरू बेरोजगार भएको हेर्न चहादैनौँ। जब कि चार हप्ताअघि सम्म स्थिति निकै राम्रो थियो।"

भाइरस अहिले अमेरिकाका ५० वटै राज्यमा फैलिसकेको छ र त्यहाँ १०० जनाभन्दा बढीको ज्यान गइसकेको विवरण छ।

विश्वभरि झन्डै दुई लाख मानिस सङ्क्रमित भएका र झन्डै ८,००० जनाको ज्यान गइसकेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

ब्रिटेनको घोषणा

ब्रिटेनका प्रमुख अर्थमन्त्री रिशी सुनकले धराशायी हुन लागेका व्यवसायको राहतका लागि सरकारले झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेका छन्।

युरोपका कारनिर्माताहरूले कोरोनाभाइरस सङ्क्रमणबीच सबै कारखानाहरू अस्थायी रूपमा बन्द गर्न लागेका छन्।

भाइरसको त्रास

तस्बिर स्रोत, AFP

Presentational white space

युरोपेली सङ्घ ईयूले कोरोनाभाइरस थप फैलिन नदिन, आउने ३० दिनसम्म अधिकांश ब्रिटेन स्विट्जरल्यान्ड र अन्य तीन देशबाहेक सबै विदेशीलाई आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाउने भएका छन्।

युरोपको आपूर्ति व्यवस्था भने कायम रहने भनिएको छ।

अहिले युरोपलाई कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु मानिएको छ।

उक्त महामारीबाट इटली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित भएका छन्।

खाडीमा असर

भाइरस रोकथाम गर्न ट्युनिशियाले दिनमा १२ घन्टा कर्फ्यू लगाउन लागेको छ।

साउदी अरबमा स्वास्थ्य र खाद्यसेवाबाहेक निजी क्षेत्रका सबै काम दुई साताका लागि स्थगित गरिएका छन्। मक्का र मदिनाबाहेक सबै स्थानका मस्जिद पनि बन्द हुन लागेका छन्।

ओमनले पनि सबै पर्यटकीय स्थल बन्द गर्दै सार्वजनिक सभा समारोह बन्द गर्न लागेको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, इटली र स्पेनमा कोरोनाभाइरसको आतङ्कबीच सङ्गीत र ताली