कोरोनाभाइरस: यूएईमा सङ्क्रमित नेपालीको अवस्था स्थिर, अस्ट्रेलियाका भाइरसमुक्त

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

नेपाल बाहिर संयुक्त अरब इमिरेट्स (यूएई) र अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमण देखिएका तीनजना नेपाली नागरिकहरूमध्ये एकजना "भाइरसमुक्त भएको" र दुईजनाको "स्वास्थ्य अवस्था स्थिर रहेको" अधिकारीहरूले बताएका छन्।

यूएई र अस्ट्रेलियास्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार उनीहरूले सङ्क्रमण भएकाहरूको नियमित स्वास्थ्यसम्बन्धी जानकारी लिइरहेका छन्।

नेपालभित्र र बाहिर गरी हालसम्म चारजना नेपाली नागरिकहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि भएको छ।

गत ज्यानुअरी दोस्रो साता चीनको वुहानबाट स्वदेश फर्किएका एकजना ३१ वर्षीय नेपालीमा सङ्क्रमण भेटिएको थियो।

उनी पूर्ण स्वस्थ भएर घर फर्किसकेका छन्। त्यसयता नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छैन।

यूएईमा सङ्क्रमितको स्वास्थ्य अवस्था स्थिर

एक साताअघि यूएईको स्वास्थ्य मन्त्रालयले दुई जना नेपाली नागरिकमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको जनाएको थियो।

त्यसपछि त्यहाँस्थित नेपाली दूतावासले उनीहरूसँग सम्पर्क गर्ने कोसिस गरेको नेपाली राजदूत कृष्णप्रसाद ढकालले बीबीसीलाई बताए।

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

उनका अनुसार त्यहाँ २१ र ३० वर्षका दुईजना नेपालीलाई सङ्क्रमण भएको जानकारी यूएईका अधिकारीहरूले दिएका छन्।

ढकालले भने, "उनीहरूलाई अबुधावीस्थित एक अस्पतालमा राखिएको छ। हामीलाई उनीहरूको नाम र उमेर जानकारी गराइएको छ। दुवैजनाको स्वास्थ्य स्थिति स्थिर रहेको छ। उपचार राम्रो छ। स्वास्थ्य स्थिति राम्रो छ।"

तर 'आइसोलेशन'मा राखिएका ती सङ्क्रमित व्यक्तिहरूसँग नेपाली दूतावासका अधिकारीहरूले प्रत्यक्ष सम्पर्क गर्न भने नपाएको ढकालले जानकारी दिए।

"हामीले यहाँको परराष्ट्र मन्त्रालयमार्फत नै जानकारी लिइरहेका छौँ र उहाँहरूले पनि हामीलाई नियमित जानकारी दिइरहनु भएको छ," उनले भने।

ढकालका अनुसार नेपालमा रहेका उनीहरूका परिवारका सादस्यसँग पनि हालसम्म दूतावासले सम्पर्क स्थापित गर्न सकेको छैन।

अस्ट्रेलियाका नेपाली भाइरसमुक्त, साथीहरू 'सेल्फ क्वारन्टीन'मा

अस्ट्रेलियास्थित नेपाली दूतावासकी एकजना अधिकारीका अनुसार त्यहाँ कोरोनाभाइरस सङ्क्रमण देखिएका एकजना नेपाली विद्यार्थी सङ्क्रमणमुक्त भएर घर फर्केका छन्।

नेपालबाट सिङ्गापुर हुँदै अस्ट्रेलिया पुगेका ती व्यक्तिमा दुई साताअघि सङ्क्रमण पुष्टि भएको थियो।

दूतावासकी कन्सुलर दुरपदा सापकोटाका अनुसार उनलाई तास्मानियाको होबर्टस्थित एउटा अस्पतालको आइसोलेशन वार्डमा राखिएको थियो।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

अघिल्लो शुक्रवार परीक्षणबाट सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए।

त्यसको दुई दिनपछिको परीक्षणमै उनी भाइरसमुक्त देखिएका थिए।

त्यसपछि गरिएको दोस्रो परीक्षणमा पनि उनी भाइरसमुक्त पाइएपछि गत शनिवार अस्पतालबाट घर फर्किएको बताइएको छ।

केही नेपाली 'सेल्फ आइसोलेशन'मा

उनीसँग बसोबास गर्ने अन्य केही नेपालीहरू 'सेल्फ आइसोलेशन'मा बसेको र हालसम्म कसैमा पनि सङ्क्रमण नदेखिएको सापकोटाले जानकारी दिइन्।

उनले भनिन्, "हामी उनीहरू सबैसँग पनि नियमित सम्पर्कमा छौँ। त्यहाँको नेपाली समुदायसँग पनि कुराकानी गरिहरेका छौँ। आवश्यक पर्दा दूतावासले सहयोग गर्छ।"

उनका अनुसार अस्ट्रेलियामा रहेका नेपालीहरूले कोरोनाभाइरसबारे फेसबुकमार्फत जानकारी दिने अभियान पनि चलाएका छन्।

"कोरोना भाइरस प्रश्न-उत्तर केन्द्र"मार्फत नेपालीभाषी चिकित्सकहरूले उक्त रोगबारे जानकारी दिने गरेका छन्।

'कोरियामा नेपालीलाई सङ्क्रमण देखिएको छैन'

कोरोनाभाइरसबाट निकै प्रभावित दक्षिण कोरियामा हालसम्म नेपालीहरूमा सङ्क्रमण नदेखिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

त्यहाँ नेपालीमा सङ्क्रमण पाइएको भन्ने खालका अफवाह फैलिरहेका बेला दूतावासले त्यस्तो जानकारी दिएको हो।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

सोलस्थित कार्यवहाक नेपाली राजदूत रामसिंह थापाले भने, "नेपालीमा हालसम्म सङ्क्रमण भेटिएको छैन। हामी यहाँका अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ। नेपाली समुदायसँग पनि नियमित सम्पर्कमा छौँ। त्यो विवरण हरेक दिन परराष्ट्र मन्त्रालयमा पनि पठाइरहेका छौँ।"

उनले कोरिया सरकारले कुनै पनि विदेशी नागरिकमा सङ्क्रमण भेटिए सबैभन्दा पहिले त्यस देशको दूतावासलाई जानकारी गराउने भएकाले अफवाहको पछि नलाग्न पनि आग्रह गरे।

coronavirus nepali banner
कोरोनाभाइरस ब्यानर