फेलीपे षष्टम: स्पेनका राजाद्वारा विवादास्पद पिताको सम्पत्ति नलिने घोषणा

राजा फेलीपे षष्टमले आफ्ना पितासँग दूरी राख्न खोजेको विश्लेषकहरूको भनाइ छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, राजा फेलीपे षष्टमले आफ्ना पितासँग दूरी राख्न खोजेको विश्लेषकहरूको भनाइ छ

स्पेनका राजा फेलीपे षष्टमले विभिन्न विवादमा परेका आफ्ना पिता ख्वान कार्लोसबाट प्राप्त हुने पैत्रिक सम्पत्ति नलिने घोषणा गरेका छन्।

राजदरबारले एउटा विज्ञप्तिमा सन् २०१४ मा गद्दी परित्याग गरेका ख्वान कार्लोसले पाउँदै आएको भत्ता रोकिएको उल्लेख छ।

उनले बर्सेनि एक लाख ९४ हजार यूरो भत्ता पाउँथे।

आफ्नो भड्किलो जीवनशैलीका कारण ८२ वर्षीय पूर्वराजा आलोचित भएको बेला त्यस्तो निर्णय आएको छ।

झन्डै चार दशक शासन गरेका ख्वान कार्लोसको गतिविधिबारे आर्थिक निकायका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

यसअघि उनले सन् २००८ मा विदेशी खातामार्फत् साउदी अरबबाट १० करोड डलर प्राप्त गरेको समाचार सार्वजनिक भएको थियो।

Presentational grey line

यो पनि पढ्नुहोस्

यस विषयमा पूर्वराजाले कुनै प्रतिक्रिया दिएका छैनन्।

स्पेनका शाही मामिलाका केही विश्लेषकहरूका बुझाइमा बुवाको पैत्रिक सम्पत्ति परित्यागको घोषणा गरेर ५२ वर्षीय राजा फेलिपेले आफ्ना बुवासँग सम्बन्धी मुद्दाबाट आफू टाढा बस्ने प्रयास गरेका हुन्।

स्पेनको आधुनिक इतिहासमा निर्वाह गरेको भूमिका

दक्षिणपन्थी तानाशाह फ्रान्सिस्को फ्रान्कोको सन् १९७५ मा निधन भएपछि ख्वान कार्लोसले गद्दी आरोहण गरेका थिए।

स्पेनको गृहयुद्धमा रिपब्लिकन फौजलाई हराएपछि जनरल फ्रान्कोले ३६ वर्ष शासन गरे।

तत्कालीन राजकुमार ख्वान कार्लोस (बायाँ) जनरल फ्रान्को (दायाँ)को मृत्यु भएपछि राजा बनेका थिए

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, जनरल फ्रान्को (दायाँ) को मृत्यु भएपछि तत्कालीन राजकुमार ख्वान कार्लोस (बायाँ) राजा बनेका थिए

चवालीस वर्षपछि ख्वान कार्लोस राजमुकुट लगाउने स्पेनका प्रथम राष्ट्रप्रमुख बन्न पुगे।

तर लगत्तै उनले निरङ्कुश शासनको विस्तार चाहने फ्रान्कोका समर्थकलाई उपेक्षा गर्दै संसदीय राजतन्त्रको नयाँ प्रणालीमा देशलाई प्रवेश गराए।

समयक्रमसँगै उनी दैनिक राजनीतिमा कम संलग्न हुन थाले र नाममा मात्र सीमित शासक बन्न पुगे।

उनलाई क्याटलोनिया र बास्क क्षेत्रजस्ता स्वतन्त्रताकामी क्षेत्रमा स्थिरता कायम गरेको श्रेय पनि दिइन्छ। उनले सन् १९८१ मा सत्तापलटको प्रयास निस्तेज पार्न पनि सघाएका थिए।

राजगद्दी त्याग्नुभन्दा केही वर्ष अघिसम्म उनको लोकप्रियता उच्च थियो।

सन् २०१२ मा हात्तीको सिकार गर्न बोत्स्वानाको यात्रा र उनकी कान्छी छोरी क्रिस्टिना र ज्वाइँ इन्याकी उर्दान्गरिन भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका कारण उनले पदत्याग गर्नुपर्ने स्थिति उत्पन्न भयो।