थाई राजपरिवार: विश्वासघात गरेको भन्दै राजा महा वाचिरालङ्कनले खोसे 'उपपत्नी'का सबै राजकीय उपाधि

थाई राजा र उनकी उपपत्नी

तस्बिर स्रोत, Reuters

थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी 'उपपत्नी'का सबै राजकीय उपाधि खोसिदिएका छन्।

उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी भित्रिनी थिइन्। तर पत्नीसरहको उपाधि दिइएको केही महिनामै उनले विश्वासघात गरेको आरोप लगाउँदै राजाले यो निर्णय लिएका हुन्।

एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक 'महत्वाकाङ्क्षी' बनेकी र उनले 'आफूलाई महारानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको' उल्लेख छ।

उनका व्यवहारहरू अपमानजनक ठहरिएको त्यसमा उल्लेख गरिएको छ।

राजाले चौथी पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै सिनीनात गत जुलाई महिनामा 'चाओ खुन फ्रा सिनीनात बिलासकलयानी'को उपाधि दिएका थिए।

उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ।

सिनीनात

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, विमान चालकको प्रशिक्षण समेत लिएकी सिनीनात वङ्वाचिराफाक सेनाको मेजर जेनरलको पदमा पनि थिइन्

मेजर जेनरल सिनीनात तालिमप्राप्त विमानचालक, नर्स र अङ्गरक्षक हुन्।

गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथाको रचना निर्देशन दिएको बताइएको थियो।

सिनीनात

तस्बिर स्रोत, Reuters

सिनीनात

तस्बिर स्रोत, AFP

भूतपूर्व विमानपरिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा लामो समयदेखि राजा वाचिरालङ्कनककी साथी थिइन्।

विवाहपूर्व उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा तत्कालनी युवराजसँगै देखिन्थ्यो।

महा वाचिरालङ्कन सन् २०१६ मा पिताको मृत्युपछि सिंहासनमा बसेका हुन्।

उनको गत मे महिनामा राज्याभिषेक भएको हो।

राजाका पत्नीहरू

उनले चार पटक विवाह गरे। राजकुमारी सोमसवालीसँग उनको वैवाहिक सम्बन्ध १९७७ देखि १९९३ सम्म रह्यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मे महिनामा विवाहपछि महारानी सुथिदालाई जलाभिषेक गरिदिँदै थाई राजा

त्यसपछि उनी युवाथिदा फोल्प्रसिथसँग १९९४ देखि १९९६ र श्रीरात सुवादीसँग २००१ देखि २०१४ सँग उनी वैवाहिक सम्बन्धमा रहे।

गत मे महिनामा उनको सुथिदासँग विवाह भयो।

थाईल्यान्डमा राजदरबारसम्बन्धी विषयलाई अतिगोप्य राखिने भएकाले सिनीनातको शाही उपाधि खोसिनुको कारण कहिल्यै पनि सार्वजनिक नहुन सक्छ।

देशको कानुनले राजसंस्थाको अपमान गर्न दिँदैन र त्यहाँको राजद्रोहसम्बन्धी कानुनलाई धेरै कडा मानिन्छ।

सिनीनातलाई हटाइँदा राजाका दुई पूर्वपत्नीको विषयलाई सम्झाएको छ।

युवराज हुँदा उनले सन् १९९६ मा आफ्नी दोस्री पत्नी र तिनबाट जन्मेका चार छोरालाई परित्याग गरेका थिए। उनी भागेर अमेरिका गइन्।

सन् २०१४ मा उनले सबै राजकीय उपाधि खोसेर तेस्री पत्नीलाई दरबारबाट निकालिदिए। उनीबाट जन्मेका छोरा अहिले १४ वर्षका छन्। उनलाई राजाले जर्मनी र स्वीट्जरल्यान्डमा राखेर हुर्काउँदैछन्।

उनले आफ्नो राजकीय शक्ति पहिलाका राजाले भन्दा बढी प्रयोग गर्ने गरेका छन्।

राजधानी ब्याङ्ककमा रहेका सेनाका दुई एकाइलाई उनले सोझेर आफ्नो नेतृत्वमा राखे। आधुनिक थाईल्यान्डमा राजाले यसअघि सैन्य शक्ति आफूसँग केन्द्रित गरेका थिएनन्।