थाईल्यान्ड राज्याभिषेक: चारवटा बिहे गरेका वाचिरालङ्कन कस्ता राजा बन्लान्

राजाको राज्याभिषेक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, थाईल्यान्डका राजाको राज्याभिषेक भएको छ

थाईल्यान्डका राजा महा वाचिरालङ्कनलाई तीन दिने राज्याभिषेक समारोहको पहिलोदिन राजमुकुट पहिर्‍याइएको छ।

लामो समय शासन गरेका राजा पूमिपोन अदून्यदेतको निधन भएपछि सन् २०१६ मा वाचिरालङ्कनले उत्तराधिकारीका रुपमा राजगद्दी प्राप्त गरेका हुन्।

थाईल्यान्डका राजा वाचिरालङ्कन- जसको नामको अर्थ हुन्छ 'जुहारात अथवा बिजुलीबाट सुसज्जित'- सन् १९५२ को जुलाई २८ तारिखमा जन्मेका हुन्।

उनी रानी सिरिकिट र पुमिपोन अदून्यदेतका दोश्रो सन्तान तर पहिलो छोराका रुपमा जन्मिएका थिए।

युवराज महा वाचिरालङ्कन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वाचिरालङ्कनले आम नागरिकसँग शोक मनाउन भन्दै राजसत्ताको औपचारिक बहनलाई पछाडि सारेका थिए

राजकीय उत्तराधिकारबारे वर्षौँ अनिश्चितता छाएपछि पुरुष सदस्य जन्मिएकाले त्यसलाई महत्त्वपूर्ण रुपमा हेरिएको थियो।

तर त्यसबेला थाईल्यान्डको राजनीतिक मर्यादाक्रममा राजतन्त्रको स्थान अनिश्चित थियो।

सैन्य तालिम

त्यहाँको निरङ्कुश राजतन्त्र सन् १९३२ मा फ्याँकिएको थियो, सन् १९३५ मा त राजतन्त्र नै समाप्त पारिएको थियो र ११ वर्षसम्म देशमा राजा थिएनन्।

राजा वाचिरालङ्कनले शुरूमा ब्याङ्ककस्थित दरबार विद्यालयमा अध्ययन गरे।

बाइक फर मम

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, आफ्ना बाबुआमाको सम्मानमा उनले गत वर्ष दुई साइकल र्‍यालीको नेतृत्त्व गरेका थिए

जब १३ वर्षको भए, ब्रिटेनमा पठाइयो, त्यहाँका दुईवटा निजी विद्यालयमा उनले अध्ययन गरे।

उनलाई स्कूलको अन्तिम वर्षका लागि अष्ट्रेलियाको सिडनीस्थित एक विद्यालयमा पठाइएको थियो।

त्यसपछि उनले क्यानबेरा डन्ट्रूनस्थित रोयल मिलिटरी कलेजमा चार वर्ष बिताएका थिए।

तर उनी स्वयम्‌ले पुल्पुल्याइएको आफ्नो बालापनलाई दोष दिँदै त्यसका कारण अध्ययन गर्न निकै कठिन भएको बताएका थिए।

डन्ट्रून‍मा नम्बर पाउन पनि उनलाई मुस्किल परेको थियो।

आमाकै नजरमा रतिरागमा रमाउने पात्र

त्यसपछि उनले थाइल्यान्ड, यूके, अमेरिका र अष्ट्रेलियामा थप सैन्य तालिम लिए र थाई सेनामा एक अधिकारी बने।

उनले फाइटर र साधारण दुवै पाइलट तालिम लिएका छन्। विदेश भ्रमणमा जाँदा आँफै बोइङ ७३७ उडाउँछन्।

उनलाई उनका बाबुले सन् १९७२ मा औपचारिक रुपमा युवराजको उपाधि दिएका थिए जसले उनलाई त्यहाँको राजतन्त्रको औपचारिक उत्तराधिकारी बनाएको थियो।

तर त्यसबेलासम्ममा उनको शारिरीक तन्दुरुस्तीलाई कारण देखाउँदै उत्तराधिकारी बनाउन हुने कि नहुनेबारे प्रश्न उठाइएको थियो।

उनकी बहिनी सिरिनतुनले दत्तचित्त रुपमा उनका बाबुको विकास आयोजनाहरूमा सहयोग गरे पनि वाचिरालङ्कनमा त्यसबारे कुनै उत्साह देखिन्नथ्यो।

बरु उनी महिलाहरूका पछि लाग्ने, जुवातास खेल्ने र गैर कानुनी व्यवसाय गर्ने गरेकोबारे निरन्तर रुपमा गाइँगुइँ चलिरहन्थ्यो।

Portrait for sale of Crown Prince Vajiralongkorn

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, King Vajiralongkorn was formally given the title of Crown Prince in 1972, making him the official heir

सन् १९८१ मा उनकी आमा रानी सिरिकीटले ती समस्याहरू उल्लेख गर्दै आफ्नो छोरालाई रतिरागमा रमाउने एक पात्रसँग दाँजेकी थिइन्।

सप्ताहन्तमा राम्री महिलासँग

आफ्नो दायित्त्व बहन गर्नमा भन्दा उनी राम्री महिलाहरूसँग सप्ताहन्त बिताउन मन पराउने व्यक्ति भनेकी थिइन्।

वाचिरालङ्कनले सन् १९९२ मा थाई पत्रकारहरूसँगको दुर्लभ कुराकानीमा 'माफियाको जस्तो छवी र भूमिगत व्यवसायमा संलग्न' भन्ने ती गाईँगुईँहरू अस्वीकार गरेका थिए।

सन् १९७७ मा उनले आफ्नी नजिककी बहिनी पर्ने सोमसावालीसँग बिहे गरेका थिए र सन् १९७८ मा पहिलो बच्चा राजकुमारी बजराकितियाभाको जन्म भयो।

तर त्यसबेलासम्ममा उनी एउटी भर्खरकी नायिका युवाधिदासँग लागिसकेका थिए। उनीबाट सन् १९७९ देखि १९८७ सम्ममा पाँच बच्चा जन्मिए।

उनीसँग सन् १९९४ मा बिहे गरे तर १९९६ मा सार्वजनिक रुपमै उनलाई त्यागे र यूकेमा पढिरहेका आफ्ना चार छोरा पनि त्यागे।

सन् २००१ मा उनले तेश्री श्रीमती श्रीरस्मीसँग बिहे गरे। सन् २००५ मा राजकुमार दिपाङ्कनको जन्म भयो।

तर सन् २०१४ मा श्रीरश्मीका सबै राजकीय पदवीहरू खोसियो।

उनका बाबुआमा सहित नौजना नातेदारलाई राजपरिवारको आलोचना गरेको र युवराजसँगको सम्बन्धको दुरूपयोग गरेको आरोपमा गिरफ्तार गरियो।

उक्त परिवारसँग जोडिएका एकजना प्रहरी अधिकारीको थुनाभित्रै झ्यालबाट खसेर निधन भयो।

शोकमग्न मानिसहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, राजा पूमिपोनको निधनमा कैयौं थाईल्यान्डका धेरै मानिस शोकमग्न भएका थिए

युवराजको नामको दुरूपयोग गरेको आरोप युवराजसँग नजिक रहेका अरूमाथि पनि लगाइयो।

एकजना प्रख्यात भविष्यवक्ता र अर्का प्रहरी अधिकारीलाई सन् २०१५ मा गिरफ्तार गरियो र तिनको पनि थुनामै रहँदा निधन भयो।

त्यसैबेला युवराजका व्यक्तिगत अङ्गरक्षकलाई पनि राजकीय आदेश अवज्ञा गरेको र आफ्नो फाइदाका लागि काम गरेको भनेर पदमुक्त गरियो। उनी पनि वेपत्ता भए, उनको पनि मृत्यु भएको ठानिएको छ।

वर्षौंसम्म उनी थाई एअरवेजकी विमान परिचारिका सुटिडासँग देखिन्थे जसलाई पछि रोयल हाउसहोल्ड गार्डकी अधिकारी बनाइयो र लेफ्टिनेन्ट जनरलको पदवी दिइएको छ।

उनले आफ्नो घरको कुकुर फु-फुलाई एअर चिफ मार्शल बनाएका छन्।

मे २०१९ मा राज्याभिषेकको केही अगाडि उनले सुटिडासँग बिहे गरेका छन्। दरबारले उनी महारानी बन्ने जनाएको छ।

योग्यता

कडा कानुनका कारण थाईल्यान्डमा उनको राजा बन्ने योग्यताबारे खुला छलफल हुन सकेको छैन्।

तर भित्रभित्र उनकी दिदी सिरिनतुनलाई राजगद्दी दिने सम्भावनाबारे कुराकानी हुने गरेको थियो।

सन् १९७८ मा महिला पनि राजगद्दीको उत्तराधिकारी बन्न सक्ने व्यवस्था गरिएकाले पनि कैयौंलाई त्यो सम्भावनाबारे कुराकानी गर्ने बाटो खुलेको हो।

तर कानून अनुसार त्यो पुरूष उत्तराधिकारी नभएको खण्डमा मात्र सम्भव छ र राजा पूमिपोनले उनका छोराको विकल्पमा अरू कोही भन्ने कुरालाई कहिल्यै समर्थन गरेनन्।

राजा पूमिपोनको स्वास्थ खस्कँदै गएपछि युवराज वाचिरालङ्कन सार्वजनिक रुपमा आफ्ना बाबुले गर्ने राजकीय जिम्मेदारी निर्वाहमा पनि देखिन थाले।

विगतमा उनी र पूर्वप्रधानमन्त्री थाक्सिन सिनावातबीच व्यापारिक सम्बन्ध रहेको गाइँगुइँ चल्ने गर्थ्यो। उनको पार्टीले सन् २००१ पछिको हरेक निर्वाचन जितेको थियो र परम्परावादी राजतन्त्रवादी सम्भ्रान्तहरूले उनलाई खतराको रुपमा हेर्ने गर्थे।

थाक्सिनकी बहिनी यिङलकलाई हटाइएको सन् २०१४ को कू पछि नयाँ सैन्य शासकले युवराजसँग काम गरेको देखियो जसले उनको उत्तराधिकार सुनिश्चित गर्‍यो।

उनका छोरीहरू सहित सामूहिक साइकल यात्रामा राजा वाचिरालङ्कन देखिन थाले जसले भावी राजाको अनौपचारिक छवि मुखरित हुन थाल्यो।

असीमित शक्ति

युवराज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राजाले आफ्नो घरपालुवा कुकुरलाई एअर चिफ मार्शलको पदवी दिएका छन्

तर वाचिरालङ्कन कस्ता राजा बन्लान भन्ने अनुमान गर्न कठिन छ।

संवैधानिक राजतन्त्र भएपनि उनीसँग निकै शक्ति छ, उदाहरणका लागि थाईल्यान्डमा कसैले राजतन्त्र अस्वीकार गर्नु असम्भव छ।

थाईल्यान्डको सबभन्दा धनी निकाय क्राउन प्रोपर्टी ब्यूरोमा उनको निर्णायक अधिकार छ। जसको सम्पत्ति ३०-४० अर्ब डलर रहेको मानिन्छ।

यसबाट दरबारलाई वार्षिक ३० करोड डलर कर तिर्न नपर्ने आम्दानी प्राप्त हुन्छ। र, उनको व्यक्तिगत ५००० सदस्यीय शाही सैन्य टुकडी पनि छ।

तर ७० वर्ष राज्य चलाउँदा उनका बाबुले कमाएको प्रतिष्ठा उनीसँग हुनेछैन। थाई राजतन्त्रका विज्ञहरू भन्छन्, प्रतिष्ठा पुस्तैनी सम्पत्ति झैँ हस्तान्तरण हुँदैन।

६६ वर्ष पुगेका वाचिरालङ्कनसँग राजतन्त्रको प्रतिष्ठा बढाउन आफ्ना बाबुको जति समय नहोला। तर राजतन्त्र वरिपरि घुमिरहने जटिल शक्ति पर्यवेक्षण गर्न र सिक्न उनीसँग वर्षौको समय छ।