बिल गेट्स: परोपकारी काम गर्न माइक्रोसफ्ट सञ्चालक समितिबाट बाहिरिए

बिल गेट्स

तस्बिर स्रोत, Reuters

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले परोकारी कार्यमा धेरै समय व्यतीत गर्न आफू उक्त कम्पनीको सञ्चालक समितिबाट बाहिरिने घोषणा गरेका छन्।

उनले विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तन नियन्त्रण गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने इच्छा भएको बताए।

संसारका दोस्रा सर्वाधिक धनी व्यक्ति मानिने गेट्स ६५ वर्षका भए।

उनी अर्का धनाढ्य व्यापारी तथा परोपकारी वारन बफेटको विशाल होल्डिङ कम्पनी बाक्शर ह्याथवेको सञ्चालक समितिबाट पनि अलग्गिएका छन्।

गेट्स सन् २००८ देखि नै माइक्रोसफ्टमा दैनिक काम गर्ने भूमिका थिएनन्।

माइक्रोसफ्टको सञ्चालक समितिमा नबस्ने घोषणा गर्दै गेट्सले उक्त कम्पनी आफ्नो जीवनको महत्त्वपूर्ण अङ्ग भएको र आफूले कम्पनीको नेतृत्व तहसँग निरन्तर सहकार्य गर्ने बताए।

कसरी बने धनी?

फोर्ब्स म्यागजीनले गेट्सलाई संसारका दोस्रा धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ। उनको सम्पत्ति १०३.६ अर्ब डलरबराबर भएको उसको मूल्याङ्कन छ।

एमेजन कम्पनीका मालिक जेफ बेजोस फोर्ब्स म्यागजीनले बनाएको धनाढ्यहरूको सूचीमा शीर्ष स्थानमा छन्।

गेट्स कम्प्युटरमा प्रयोग हुने सफ्टवेअरको विकास र व्यापारबाट धनी भएका हुन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिल गेट्स अनि ‘भविष्यको शौचालय’

युवावस्थामा कलेजको पढाइ बीचमै छोडेर उनी न्यूमेक्सिकोस्थित एल्बकर्की गए। त्यहाँ उनले आफ्ना बाल्यकालका साथी पोल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरे। एलनको सन् २०१८ मा मृत्यु भयो।

सन् १९८० मा आईबीएम कम्पनीसँग अपरेटिङ सिस्टम अर्थात् कम्प्युटर सञ्चालन गर्न चाहिने प्रणाली विकास गर्ने सहमति गर्नु उनीहरूका लागि ठूलो उपलब्धि सिद्ध भयो। त्यो प्रणालीलाई पछि एमएस-डस भनियो।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

गेट्स सन् २००४ देखि बाक्शरको सञ्चालक समितिमा थिए। तर उनी अधिकांश समय समाजसेवा र परोपकारमा संलग्न आफ्नो संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनमा बिताउँछन्।

गेट्सले आफ्नी पत्नीसँग मिलेर उक्त संस्था स्थापना गरेका हुन्।

उक्त संस्थालाई ४.८ अर्ब डलर दान दिएपछि गेट्स दम्पतीलाई द क्रोनिकल अफ फिल्यान्थ्रपीले सन् २०१८ मा अमेरिकामा "सबैभन्दा दानवीर परोपकारी व्यक्ति" घोषणा गरेको थियो।