जेफ बेजोस: एमेजन मालिक सम्बन्धविच्छेदका लागि ३८ खर्ब तिर्न राजी

जेफ बेजोस र मक्केन्जी

तस्बिर स्रोत, Reuters

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ।

सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ।

पारपाचुकेपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर हुनेछ।

तर उनको वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग कुनै सम्बन्ध रहनेछैन।

उनीहरूबीच २५ वर्ष वैवाहिक सम्बन्ध थियो।

यो अहिलेसम्म पारपाचुकेका लागि गरिएको सबैभन्दा महँगो सहमति हो।

यसअघि सबैभन्दा महँगो पारपाचुके कलाव्यापारी एलेक विन्डेन्स्टेन र उनकी पत्नी जोस्लिनबीच भएको ३.८ बिलियन डलरको (लगभग चार खर्ब २० अर्ब नेपाली रुपैयाँ) थियो।

मक्केन्जीले सहमतिबारे आफ्नो पहिलो र अहिलेसम्मको एकमात्र ट्वीटमा जानकारी दिएकी हुन्।

उनले आफू ''एकअर्काको सहयोगमा जेफसँगको विवाहलाई भङ्ग गर्ने प्रक्रिया सकिएकोमा कृतज्ञ भएको" बताएकी छन्।

Presentational grey line
यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational grey line

जेफ बेजोससँग एमेजनको १६.३ प्रतिशत सेयर थियो जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र मक्केन्जीले आफ्नो शेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन्।

सन् १९९४ मा जेफले एमेजन स्थापना गर्नुअगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कर्मचारीमध्येकी थिइन्।

अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ।

बेजोस र मक्केन्जी

तस्बिर स्रोत, Getty Images

सन् २०१८ मा एमेजनले २.३ खर्ब डलरको समान बेचेको थियो।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

सफल लेखिका ४८ वर्षीय मक्केन्जी सन् २००५ मा 'द टेस्टिङ अफ लुथर अल्ब्राइट' तथा सन् २०१३ मा 'ट्र्याप्स' नामक उपन्यास लेखेकी छन्।

पुलिट्जर पुरस्कार प्राप्त गरेकी लेखिका टोनी मोरिसनबाट सिर्जनाल्मक लेखनको पढाइ पूरा गरेकी मक्केन्जीलाई मोरिसनले आफ्नो उत्कृष्टमध्येकी विद्यार्थी रहेको बताएकी थिइन्।

अमेरिकी सञ्चारमाध्यमहरूले जेफको फक्स टीभीकी एक सञ्चालिका लरेन सान्चेजसँग प्रेमपूर्ण सम्बन्ध रहेको समाचार प्रकाशित गरेका छन्।

सान्चेससँगको व्यक्तिगत सन्देशहरू प्रकाशित गर्दै एक पत्रिकाले जेफको विवाहेतर सम्बन्धको समाचार लेखेपछि उनीहरूले जेनुअरीमा ट्विटरमार्फत् एउटा संयुक्त वक्तव्य प्रकाशित गर्दै आफूहरूले सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिएका थिए।