यी हुन् विश्वका सबैभन्दा धनी सात महिला

धनी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मक्केन्जीसँग अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर हुनेछ

विश्वका सबैभन्दा धनी व्यक्ति र उनकी श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्तिको बाँडफाँटको कुरा पनि ठूलो हुने नै भयो।

एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे।

सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ।

सम्बन्धविच्छेदपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अन्लाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत हिस्सा हुनेछ। अब मक्केन्जी संसारकी तेस्री धनी महिला बनेकी छन्।

बेजोस दम्पतीको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ। उनीहरूबीच २५ वर्ष वैवाहिक सम्बन्ध थियो।

तर विश्वका धनी महिलाहरूको सूचीमा अरू को को छन्? र, उनीहरू त्यहाँसम्म कसरी पुगे?

१) फ्राँस्वाज बेताँकूर-मायर्स

फोर्ब्स पत्रिकाका अनुसार कुल ४९.३ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वकी पहिली धनी महिला हुन् भने विश्वका धनी व्यक्तिहरूको सूचीमा १५ औँ स्थानमा छिन्।

को हुन् उनी?

सौन्दर्यका सामान उत्पादन गर्ने लोरिआल ब्रान्डकी फ्रान्सेली उत्तराधिकारी फ्राँस्वाज बेताँकूर मायर्सको सो कम्पनीमा परिवारसहित ३० प्रतिशत हिस्सा छ।

सन् २०१७ को सेप्टेम्बरमा ९४ वर्षको उमेरमा आमाको निधन भएपछि पैँसट्ठी वर्षीया बेताँकूर मायर्समा उक्त सम्पत्तिको स्वामित्व सरेको हो।

दुवै जना एकअर्कासँग छुट्टिएका थिए र सन् २००७ मा उनीहरूबीच विवाद सुरु भएको थियो।

धनी

तस्बिर स्रोत, AFP

स्वास्थ्यस्थिति बिग्रिँदै जाँदा सहयोगीहरूबाट आफ्नी आमामाथि शोषण भएको भन्दै बेताँकूर मायर्सले मुद्दा हालेकी थिइन्।

यद्यपि उनको मृत्युअघि मेलमिलापमार्फत् सो मुद्दालाई टुङ्ग्याइएको थियो।

बेताँकूर मायर्स एक प्राज्ञ पनि हुन् र उनले ग्रीक देवताहरूका बारेमा र यहुदी-इसाईका सम्बन्धबारे पुस्तक लेखेकी छन्।

२) एलिस वाल्टन

कुल ४४.४ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वका सबैभन्दा धनीहरूको सूचीमा १७ औँ स्थानमा छिन्।

को हुन् उनी?

उनी अमेरिकी सुपरमार्केट वालमार्टका संस्थापक साम वाल्टनकी एक्ली छोरी हुन्। उनी ६९ वर्षकी भइन्।

धनी

तस्बिर स्रोत, Getty Images

यद्यपि उनी पारिवारिक कम्पनीबाट निस्केर कलामा केन्द्रित भइन् र अर्कान्ससस्थित क्रिस्टल ब्रिज्स म्युजियम अफ अमेरिकन आर्टकी प्रमुख बनिन्।

३) मक्केन्जी बेजोस

उनी कम्तीमा ३५.६ अर्ब डलर बराबरको सम्पत्तिकी मालिक हुन्। यो एमेजनमा उनको हिस्साको मूल्य मात्रै हो। उनको सम्पत्ति अझ बढी रकमको पनि हुन सक्छ।

को हुन् उनी?

चार सन्तानकी आमा उनी ४८ वर्षकी छन्। सन् १९९३ मा उनले जेफ बेजोससँग बिहे गरेकी थिइन्। जेफले एक वर्षपछि एमेजनको स्थापना गरिन्।

क्यालिफोर्नियाकी मक्केन्जी एमेजन कम्पनीमा काम गर्ने पहिलामध्येकी एक कर्मचारी हुन्। उनले लेखापालको रूपमा जागिर थालेकी थिइन्।

धनी

तस्बिर स्रोत, Reuters

उनका दुईवटा आख्यान पुस्तक छापिएका छन्।

उनलाई प्रशिक्षित गरेका लेखक टोनी मोरिसनले मक्केन्जी आफ्ना राम्रामध्येकी शिष्य भएको बताउँछन्।

४) ज्याक्लिन मार्स

उनको कुल सम्पत्ति २३.९ अर्ब डलर छ।

मक्केन्जी बेजोस धनी महिनालहरूको सूचीमा पर्नुअघि मार्स तेस्री धनी महिला थिइन्।

त्यति बेलासम्म उनलाई विश्वकी ३३ औँ सर्वाधिक धनी महिला मानिन्थ्यो।

को हुन् उनी?

उनी ७९ वर्षकी छन्। उनको विश्वका सबैभन्दा ठूलो कन्फेक्शनरी अर्थात् मिठाई उत्पादक मार्समा एकतिहाइ स्वामित्व छ।

सन् १९११ मा उनका हजुरबुवाले त्यसको स्थापना गरेका थिए।

करिब २० वर्षसम्म पारिवारिक व्यवसायमा उनी संलग्न रहिन् र सन् २०१६ सम्म बोर्ड सदस्य रहिन्।

धनी

तस्बिर स्रोत, Getty Images

अहिल उनी समाजसेवीकी रूपमा चिनिन्छिन्। उनी वाशिङ्टन न्याश्नल ओपेरा र न्याश्नल आर्काइभको बोर्ड सदस्य छिन्।

मार्सबारे तपाईँलाई एउटा कुरा थाहा नहुन पनि सक्छः त्यो अमेरिकामा जनावरहरूका लागि खाना उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो।

५) यान हुइयाङ

कुल २२.१ अर्ब डलर बराबरको सम्पत्तिसहित चीनकी सबैभन्दा धनी महिला र विश्वकी ४२ औँ धनी व्यक्ति हुन्।

को हुन् उनी?

सैँतीस वर्षीया यान हुइयाङको अधिकांश हिस्सा चीनमा घरजग्गा कारोबार गर्ने कन्ट्री गार्डेन होल्डिङमा छ।

उसको वेबसाइटका अनुसार सन् २०१६ मा कन्ट्री गार्डेन विश्वको तेस्रो ठूलो घरजग्गा कारोबार कम्पनी थियो।

ओहायो विश्वविद्यालयमा पढेकी यान हुइयाङमा कम्पनीको ५७ प्रतिशत हिस्सा उनको बुवाबाट आएको हो।

६) जुजान क्लाटन

कुल २१ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा ४६ औँ स्थानमा छिन्।

को हुन् उनी?

यो सूचीमा पर्ने यी ५६ वर्षीया जर्मन महिला दोस्रो युरोपेली हुन्। कार कम्पनी र औषधि निर्माण कम्पनीमा उनको लगानी छ।

धनी

तस्बिर स्रोत, Getty Images

आमाबुवाको निधन भएपछि एल्टाना एजी रासायनिक कम्पनीको ५० प्रतिशत हिस्सा उनलाई आयो।

त्यसबाहेक बीएमडब्ल्यूमा पनि उनी र उनको भाइको ५० प्रतिशत शेअर छ। एल्टाना एजी कम्पनी अहिले उनको निजी भएको छ।

७) लरेन पावेल जब्स

कुल १८.६ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वका धनीहरूको सूचीमा ५४ औँ स्थानमा आउँछिन्।

को हुन् उनी?

एपल कम्पनीका सहसंस्थापक स्टिभ जब्सकी उनी विधवा हुन्। श्रीमान्‌को निधनपछि एपल र डिज्नीबाट उनलाई २० अर्ब डलर बराबरको स्वामित्व आएको हो।

धनी

तस्बिर स्रोत, Reuters

त्यसयता यी ५५ वर्षीया महिलाले केही रकम पत्रकारितामा लगानी गर्दैद एट्लान्टिक म्यागजिनका साथै गैरनाफामूलक मदर जोन्स र प्रोपब्लिकामा ठूलो शेअर लिइन्।