कृष्णबहादुर महरा: बलात्कार प्रयासको अभियोगमा काठमाण्डू जिल्ला अदालतद्वारा पूर्वसभामुखलाई सफाइ

कृष्णबहादुर महरा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ।

लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमवार फैसला सुनाएको हो।

अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, "अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।"

दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर बलात्कार प्रयास गरेको अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसला गरेपछि रिहा हुनेछन्।

महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका थिए।

मुद्दाको उतारचढाव

दुई महिनाअघि उच्च अदालत पाटनले पूर्वसभामुख महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो।

उसले जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म पुर्पक्षका निम्ति थुनामा राख्न दिएको आदेश नै सदर गरिदिएको थियो।

साथै उच्च अदालतले 'उक्त मुद्दा लगातार कारबाही र सुनुवाइ गर्नुपर्ने प्रकृतिको भएको र पीडितको बकपत्र समेत भइसकेको देखिएको' उल्लेख गर्दै 'एक महिनाभित्र मुद्दाको कारबाही र किनारा लगाउन' आदेश दिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल प्रहरीले यसरी लग्यो कृष्णबहादुर महरालाई

महराविरुद्ध बलात्कार प्रयास गरेको उजुरी दिएकी संसद्‍ सचिवालयमा कार्यरत एक कर्मचारीले पछि आफूलाई जबरजस्ती उजुरी गर्न लगाएको भन्दै अर्को निवेदन दिएकी थिइन्।

ती महिलाको आरोपपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

ती महिलाले पछि औपचारिक रूपमा प्रहरीमा उजुरी दिएपछि महरालाई गिरफ्तार गरिएको थियो।

कार्तिकको मध्यतिर उनीविरुद्ध जिल्ला अदालत काठमाण्डूमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

कसरी लाग्यो आरोप

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन्।

तर महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए।

नेकपाको पार्टी सचिवालयको आग्रहपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

असोज १९ अर्थात् महाष्टमीको साँझ महरालाई प्रहरीले सरकारी निवासबाटै पक्राउ गरेर लगेको थियो।

तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र मा‌ओवादीको समर्थनमा सभामुख बनेका थिए।

महरा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बलात्कार प्रयासको आरोप लागे लगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए

यी दुई पार्टीको एकीकरणपछि नेकपाको गठन भएको थियो।

महराले पदबाट राजीनामा दिएदेखि लामो समयसम्म सभामुखको पद रिक्त रहेको थियो।

दुई साताअगाडि सत्ताधारी नेकपाका भित्र पूर्व माओवादीकै नेता अग्नि सापकोटा नयाँ सभामुख छानिएका छन्।