कोरोनाभाइरस: यस्ता छन् नेपाली मास्क उत्पादकका समस्या

मास्क

तस्बिर स्रोत, AFP

कोरोनाभाइरसको सङ्क्रमणका कारण मास्क उत्पादन बढाउन सरकारले आग्रह गरेपछि नेपाली उद्यमीहरूले आफ्ना 'दु:ख' पनि सम्बोधन गर्न अधिकारीहरूलाई आग्रह गरेका छन्।

अस्पताल र साधारण प्रयोगमा ल्याउन सकिने सर्जिकल मास्क नेपालमा उत्पादन गर्ने व्यवसायीहरूले कच्चा पदार्थको मूल्यमा बढी भन्सार लाग्ने हुँदा आफूहरूलाई चीनबाट आयात गरिने मास्कहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भईरहेको बताए।

नयाँ कोरोना भाइरस सङ्क्रमणको समाचारले नेपालमा पनि विभिन्न खाले सत्य र अर्धसत्य कुराहरूले चर्चा पाइरहँदा नाकमुख ढाक्ने गरी लगाएर भाइरस सङ्क्रमणबाट केही हदसम्म सुरक्षित रहन सकिने विश्वास गरिएको मास्कको पर्याप्त उपलब्धताका बारेमा विभिन्न कोणबाट बहस भैरहेको छ।

नेपालमा त्यस्तो सर्जिकल मास्कको अभाव हुन लागेको हो कि भन्ने सन्दर्भमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले नेपाली बजारको माग धान्ने गरी देशभित्रै मास्कहरू उत्पादन हुने अवस्था रहेको प्रतिक्रिया दिएका छन्।

साथै उनले कच्चापदार्थको भन्सार शुल्क घटाएर नेपालमा उत्पादन हुने मास्कलगायत सामाग्रीको बजार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको पनि दाबी गरे।

के भन्छन् उद्योगी?

धुलिखेलस्थित मास्कसहित झोलाहरू मेसिनबाट उत्पादन गर्ने एक उद्योग क्लिन सिटी प्रालीका सञ्चालक सुकदेव जोशी कच्चा पदार्थका लागि भन्सार शुल्क बढी तिर्नुपर्दा आफ्नो व्यवसाय घाटामा गइरहेको बताउँछन्।

उनी भन्छन्, "हाम्रो फ्याक्ट्री एक हिसाबले डुबिसकेको छ किनभने हामीले उत्पादन लागतको आधा पैसामा मास्कहरू बेच्नुपर्छ। हामीले ३५ प्रतिशतसम्म कच्चापदार्थका लागि भन्सार शुल्क तिर्छौँ तर आयातकर्ताहरूले तयारी अवस्थाको मास्कका लागि १५ प्रतिशत भन्सार तिरे पुग्छ।"

मास्क

तस्बिर स्रोत, EPA

उनी थप्छन्, "हाम्रो उत्पादन मूल्य लगभग तीन रुपैयाँ जति पर्छ। उताबाट ल्याएको डेढदेखि दुई रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो। हामीले घाटा खाएरै बेच्ने गरेका थियौँ। नोक्सान भएकाले काम गर्न खान सकिदैँन कि भनेर प्लान्ट नै बेचिदिनेबारे पनि हामीले सोचिरहेका छौँ।"

यसै साता सरकारले बोलाएर मास्क उत्पादन बढाउन आग्रह गरेको उनले बताए।

"नेपालमा साना साना उद्योगहरूले मात्रै मास्क उत्पादन गर्दै आएका छन् जसले दिनको दुई/तीन हजारवटासम्म मास्क बनाउने गरेका छन्। हामीले हाम्रो ग्राहक रहेका अस्पताल र बिक्रेताहरूलाई उपलब्ध गराउनुपर्छ। सरकारलाई सङ्कट नै पर्‍यो भने एक दुई बाकस तत्कालै उपलब्ध गराउँछौँ भनेका छौँ।"

दैनिक ६ हजार मास्क उत्पादन गर्दै आएको आफ्नो उद्योगसँग लामो समयका लागि कच्चा पदार्थ नरहेको जोशी बताउँछन्।

कोरोनाभाइरस

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्छौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकाल देशभित्र आवश्यक मास्कको माग स्थानीय उत्पादकहरूले नै पूरा गर्न सक्ने बताउँछन्।

उनले भने, "दुई दिनअघि मन्त्रालयमा भएको छलफलमा हामी नेपालमा देशभित्रका लागि आवश्यक मास्क उत्पादन गर्ने क्षमता र कच्चा पदार्थ रहेको निष्कर्षमा पुगेका हौँ। केही उत्पादकहरूले कच्चा पदार्थको अभाव रहेको कुरा पनि राख्नुभयो तर अरू कतिपयसँग पर्याप्त कच्चा पदार्थ छ। हामीले मेसिनको सहायताले बढी मास्क उत्पादन गर्नसक्ने उद्योगहरूलाई आवश्यकताअनुसार कच्चा पदार्थ उपलब्ध गराएर भए पनि बजारमा मास्क पुर्‍याउने निष्कर्ष निकालेका छौँ।"

नेपाल

तस्बिर स्रोत, EPA

"स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति छ। कतिपय उद्योगहरूलाई संरक्षण गर्ने सवालमा कच्चा पदार्थको आयातमा लाग्ने भन्सारभन्दा तयारी वस्तुको आयातमा लाग्ने भन्सार कम भएको कुरा उठ्यो। अहिले भन्सार दरका कारण उहाँहरूलाई हुने अप्ठेरो फुकाउनका लागि हामीले भन्सार विभागसँग समन्वय गरिरहेका छौँ। उद्योगीहरूसँग छलफल गरेर हामी यसको पनि समाधान निकाल्छौँ।"

उनले कच्चा पदार्थको हिसाबले पाँचदेखि छ महिनासम्म पुग्ने मास्क नेपालमा उत्पादन गर्नसक्ने अवस्था रहेको बताए।

नेपालले तयारी अवस्थाको मास्क र मास्क उत्पादनका लागि चाहिने कच्चापदार्थ दुवै चीनबाट आयात गर्दै आएको छ।

तर कोरोनाभाइरस सङ्क्रमण सुरु भएसँगै उक्त आयात ठप्प रहेको अधिकारीहरू बताउँछन्।

बीबीसीसँग कुरा गर्दै बुधवार व्यवसायी तथा स्वास्थ्य अधिकारीहरूले गम्भीर प्रकारका सङ्क्रमणबाट जोगिन प्रयोग हुने कतिपय विशेष प्रकारका मास्कहरू बजारमा उपलब्ध हुन छाडेको बताएका थिए।

बजार अनुगमनको माग

नेपाल सर्जिकल उपकरण व्यवसायी सङ्घका अध्यक्ष सुरज घिमिरेले मास्कको अभावका कारण "त्रसित नै हुनुपर्ने अवस्था नरहे पनि" उच्च गुणस्तरका 'एन नाइन्टिफाइभ' भनिने मास्कहरू आपूर्ति गर्न नसक्ने बताएका थिए।

उक्त सङ्घले अस्पताल र सार्वजनिक खपत गरी मासिक रूपमा बढीमा १० लाखसम्म मास्कहरू नेपालमा प्रयोग भइरहेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले देशभरिका उद्योगीहरूलाई मास्क उत्पादनलाई सक्रियतापूर्वक अघि बढाउन आग्रह गरिएको बताए।

उनी भन्छन्, "नेपालबाट सुरुमा नै मास्क बाहिर गइहाल्यो। त्यही भएर हामीले मास्क बाहिर पठाउन बन्द गर्न भनेर भन्सार विभागको महानिर्देशक र अध्यागमन विभागको महानिर्देशक सहितको बैठकमा कुरा राख्यौ।"

उनले दिनमा तीन हजार मास्क उत्पादन गर्न सक्ने तीनवटा कम्पनीहरू सम्पर्कमा आएको उल्लेख गर्दै दुई हप्ता अघि नै ती कम्पनीहरूहरूबाट दैनिक ९ हजार मास्क खरिद गर्ने निर्णय सरकारले गरेको बताए।

कोरोनाभाइरसलाई देखाउँदै सङ्क्रमण देखिनुभन्दा पहिला नै चीनबाट खरिद गरेर ल्याएका मास्कहरू कालोबजारी गरिएका हुनसक्ने भन्दै सरकारले बजार अनुगमन गर्नुपर्ने माग पनि गरिएका छन्।