कोरोनाभाइरस: सांसदहरूले उठाएका पाँच प्रश्न र मन्त्रीको जवाफ

तस्बिर स्रोत, RSS
संसद्मा बोल्दै सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले चीनको कोरोनाभाइरस सङ्क्रमित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै आलोचना गरेका छन्।
संघीय संसद्को प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसद्हरूले सरकारको आलोचना गरेका हुन्।
उनीहरूले उठाएका प्रश्नहरूको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले जवाफ दिएका थिए।
ढकालले चीनमा रहेका नेपालीहरूको उद्धार तथा नेपालमा सङ्क्रमण फैलन नदिनका लागि सरकारले कदम चालिसकेको सदनलाई जानकारी गराए।
कोरोनाभाइरस सङ्क्रमणबारे सांसद्हरूले उठाएका प्रमुख पाँच विषयहरू:
सरकारी योजनाप्रति संशय
कोरोनाभाइरसबाट अति प्रभावित चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार तथा नेपालमा ल्याएर स्वास्थ्य निगरानीमा राख्नेबारे सरकारी योजनाप्रति सांसदहरूले संशय व्यक्त गरेका छन्।
शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले नेपालीको उद्धारमा किन ढिलाइ भयो भन्ने प्रश्न गरे।
त्यसरी प्रश्न गर्नेमा विपक्षी मात्र होइन सत्ताधारी पार्टीका सांसदहरू पनि थिए।
त्यस्तै मन्त्रीसँगको प्रश्नोत्तरका बेला पनि उनीहरूले पूरक प्रश्न गर्दै त्यस्तै शंका व्यक्त गरे।

तस्बिर स्रोत, PARLIAMENT OF NEPAL
दिलेन्द्रप्रसाद बडुले कोरोनाभाइरसबाट बच्न नेपालले कस्ता कदम चालेको छ? भन्ने प्रश्न गरेका थिए।
दिव्यमणि राजभण्डारीले चीनबाट आउने यात्रीहरूको क्वारेन्टाइनको व्यवस्था गर्न नसकेको बताए।
अर्का सांसद प्रकाश रसाइलीले सरकारले दुईटा नाकामा मात्र सहायता कक्ष राखेको र चिनबाट नागरिकको उद्धार गर्ने घोषणा गरेर कार्यान्वयन नगरेको भन्दै आलोचना गरे।
प्रदीप यादवले चीनमा रहेका नेपालीको उद्धारका लागि कहिले जहाज उड्छ? भन्दै सरकारलाई प्रश्न गरेका थिए।
कृष्णभक्त पोखरेलले चीनमा रहेका नेपालीको तत्कालै उद्धार गरिनुपर्ने बताए।
बालकृष्ण खाँड र पुष्पा भुसालले पनि सरकारी योजनाप्रित संशय व्यक्त गरेका थिए।
भुसालले अन्य देशहरूले आफ्ना नागरिकहरू फिर्ता लगिसक्दा पनि नेपालले समितिमाथि समिति बनाएर ढिलो गरेको बताइन्।
डिला संग्रौलाले सरकारले छलफल मात्र गरेको काम नगरेको आरोप लगाइन्।
मोहम्मद इस्तियाक राईले अहिलेको सरकारी निर्णय इमर्ती नामक मिठाई घुमाएको जस्तै देखिएको बताए।
पर्यटन वर्षको चिन्ता
कतिपय सांसदले कोरोनाभाइरस सङ्क्रमणका कारण पर्यटन वर्षलाई असर पर्ने कुरा पनि उठाए।

तस्बिर स्रोत, Getty Images
उनीहरूले आगलागी भइरहेका बेला पर्यटनमन्त्री अस्ट्रेलियामा गएर नेपाल भ्रमण वर्षको कार्यक्रम गर्दा पहिलो गाँसमै ढुङ्गा लागेको बताए।
कोरोनाभाइरसका कारण अर्को धक्का लागेको उनीहरूको भनाइ थियो।
देवेन्द्रराज कँडेलले कोरोनाभाइरसका कारण पर्यटन वर्षलाई नकारात्मक असर पर्ने देखिएको बताए।
चीनलाई सहयोग गर्न माग
कतिपय सांसद्ले सरकारले आपत्कालमा चीनको सहायता गर्नुपर्ने माग समेत गरे।
त्यस्तो माग गर्नेमध्येका एकजना खगराज अधिकारीले नेपालले मित्रराष्ट्रका हैसियतमा चीनलाई सहयोग गर्नुपर्ने बताए।
अहिलेको अवस्थामा नेपालले चीनलाई मास्क पठाएर भए पनि सहयोग गर्नुपर्ने उनको मत रहेको छ।
दिव्यमणि राजभण्डारीले संसारभरि चीनबारे नकारात्मक सन्देश गइरहेकाले नेपालले सकारात्मक हिसाबले चीनलाई सहयोग गर्नुपर्ने बताए।
नाकाबन्दी र भोकमरीको चर्चा
सांसद प्रकाश रसाइलीले रुसले चीनतर्फको निकै लामो नाका समेत बन्द गरेकाले नेपालले पनि चीनतर्फको नाका बन्द गर्नुपर्ने माग गरे।

तस्बिर स्रोत, Getty Images
उनले नेपाल र चीनबीचका नाका बन्द गरिनुपर्ने र चीन भएर अन्यत्रबाट आउने वा चीनबाट आउने उडान पनि स्थगित गरिनुपर्ने बताए।
प्रश्नोत्तरका बेलामा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका सांसद राजेन्द्र गौतमले चीनले संखुवासभासँग जोडिएको किमाथाङ्का नाका बन्द गर्दा त्यस क्षेत्रका नागरिकहरू समस्यामा परेको बताए।
उनले किमाथांकामा क्षेत्रमा खाद्यान्न अभाव र भोकमरी सुरु भएको बताए। त्यस क्षेत्रको सहायताका लागि तत्काल कदम चाल्न उनले सरकारसँग माग गरे।
संसद् भवनमा राख्न माग
कोरोनाभाइरस सङ्क्रमित क्षेत्रका मानिसहरूलाई नेपालमा ल्याएर कहाँ राख्ने भन्नेबारे सरकारले निर्णय गर्न नसकेको भन्दै कतिपय सांसदले व्यङ्ग्यात्मक हिसाबले पनि सरकारको आलोचना गरे।
सांसद प्रदीप यादवले संसद् भवनमा चीनबाट उद्धार गरिएकाहरूलाई राख्न र संसद् बैठक पाल टाँगेर बाहिर गर्न माग गरे।
अन्य सांसदहरूले पनि चीनबाट ल्याइएकाहरूलाई कहाँ राख्ने भन्ने निर्णय नगरेको भन्दै सरकारको आलोचना गरेका थिए।
मन्त्रीको जवाफ
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारले कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि सरकारले आवश्यक कदम चालेको बताए।

तस्बिर स्रोत, Getty Images
उनले चीनबाट उद्धार गरेर नेपालमा कहाँ राख्ने भन्नेबारे चाँडै नै टुङ्गोमा पुग्ने बताए।
नेपालमा हालसम्म एकजनामा सङ्क्रमण देखिएको र ती व्यक्ति निको भइसकेको ढकालले जानकारी दिए।
त्यस्तै अन्य १३ जनामा सङ्क्रमणको आशंकामा परीक्षण गरिएकामा सङ्क्रम नपाइएको उनले बताए।
ढकालले सरकारले सङ्क्रामक रोग नियन्त्रणका लागि गर्नुपर्ने कानुनी र व्यवहारिक प्रक्रिया सुरु गरिसकेको सदनलाई जानकारी गराए।
उनले चीनबाट ल्याइने नेपालीहरूलाई स्वास्थ्य निगरानीमा कहाँ राख्ने भन्ने लगभग निर्णयमा पुगिसकिएको बताएका थिए।
उनले सङ्क्रमितहरूको उपचारका लागि हाल तीनवटा अस्पतालमा ४३ वटा आइसोलेशन वार्डको व्यवस्था गरिएको जानकारी दिए।
चीनबाट ल्याइने मानिसहरूलाई बन्द गाडीमा राखेर बस्ने स्थानसम्म पुर्याइने र उनीहरूलाई सकेसम्म फरकफरक कोठामा राख्ने तयारी भएको ढकालले बताए।
उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उद्धार र उनीहरूलाई राख्ने व्यवस्था गरिने संसद्लाई जानकारी दिए।








