कोरोनाभाइरस: चीनबाट नेपालीको उद्धारमा यसकारण भइरहेको छ ढिलाइ

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा देखिएको ढिलासुस्ती चिन्ताको विषय भएको जनस्वास्थ्य विज्ञहरूले बताएका छन्।

सरकारले तीन दिनअघि हुबेमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्ने निर्णय गरेको थियो।

तर उनीहरूलाई नेपालमा ल्याएर दुई सातासम्म स्वास्थ्य निगरानीमा राख्ने स्थान तय हुन नसक्दा हालसम्म कहिले उद्धार गर्ने भन्ने टुङ्गो नलागेको अधिकारीहरूले बताएका छन्।

तीन दिनअघि सरकारले एउटा विशेष विमान पठाएर हुबेमा रहेका नेपाली नागरिकहरूको उद्धार गर्ने निर्णय गरेको थियो।

८० जनाको आवेदन

सोही निर्णय अनुसार बेइजिङस्थित नेपाली दूतावासले त्यहाँ रहेका नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको थियो।

आवेदनका लागि चिनियाँ समय अनुसार आइतवार बिहान ९ बजेसम्मको समय दिइएकोमा १८० जनाले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेको दूतावासले जनाएको छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, EPA

तर नागरिकहरूको उद्धार गर्ने निर्णय भएको तीन दिनसम्म पनि नेपालमा ल्याएर उनीहरूलाई कहाँ राख्ने भन्ने टुङ्गो लाग्न सकेको छैन।

उद्धार र त्यसपछि उनीहरूलाई नेपालमा स्वास्थ्य निगरानीमा राख्नेबारे प्रधानमन्त्री तहबाटै निर्णय भए पनि विभिन्न निकायबीच समन्वय नहुँदा समस्या देखापरेको कतिपय जानकारहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने हाल उद्धार गरिएकाहरूलाई सुरक्षितरूपमा राख्ने स्थानको खोजी भइरहेको बताउँछन्।

मङ्गलवारसम्ममा निर्णय

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, "आज (सोमवार) पनि पाँचवटा टोलीले विभिन्न स्थानहरूमा गएर निरीक्षण गरेको छ। अब भोलि (मङ्गलवार) बिहान उहाँहरूले छलफल गर्नुहुनेछ। अनि भोलि (मङ्गलवार) बेलुकासम्ममा निर्णय गर्ने मन्त्रीज्यूबाट निर्देशन भएको छ।"

कोरोनाभाइरस

तस्बिर स्रोत, Ministry of Health Nepal

जनस्वास्थ्य विज्ञहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिहरूलाई उक्त भाइरस लागेकै छ भन्ने नभए पनि दुई सातासम्म निगरानीमा राख्नुपर्ने हुन्छ।

त्यसका लागि स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिहरूसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउनु जरुरी हुन्छ।

तर त्यसैलाई कारण देखाएर सरकारले आफ्नै निर्णय कार्यान्वयन गर्न ढिलाइ गर्नु निकै चिन्ताजनक अवस्था भएको उनीहरू बताउँछन्।

यो आपत्‌कालीन अवस्था भएकाले सरकारले आफ्नो निर्णयलाई तत्कालै कार्यान्वनय गराउनुपर्ने उनीहरूको धारणा छ।

विज्ञको भनाइ

त्यस्तैमध्येकी एक चिकित्सक समेत रहेकी पूर्व स्वास्थ्य सचिव डाक्टर किरण रेग्मी भन्छिन्, "कि त निर्णय नै गर्नु हुँदैनथियो। जब हामी गर्छौँ भनेपछि त यसलाई तुरुन्तै सल्ट्याउनुपर्‍यो नि। किनकि हामीलाई हाम्रो स्रोतसाधन कति हो थाहा छँदैछ। कसरी त्यसलाई परिचालन गर्ने भन्ने पनि थाहा छ।"

उनले चीनबाट नेपाली नागरिकलाई उद्धार गर्ने कार्यलाई प्रसव वेदनामा छटपटाइरहेकी महिलाको बच्चा जन्माउन चिकित्सकले लिनुपर्ने निर्णयसँग तुलना गरिन्।

रेग्मीले भनिन्, "बच्चा जन्माउने कुरामा पाँच मिनेटको ढिलाइले पनि बच्चा र आमा बच्ने वा मर्ने भन्ने हुन्छ। त्यसैले म चाहिँ प्रसूति चिकित्सक भएको भएर पनि होला सचिव हुँदा मैले निकै छिटो निर्णय गर्थेँ।"

उनले सरकारले चाहेमा पाँच मिनेटमा पनि ठूल्ठूला निर्णयहरू गर्न सक्ने बताइन्।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

दूतावासको भनाइ

बेइजिङस्थित दूतावासका अधिकारीहरूले चाहिँ उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाजलाई प्रयोग गर्ने समेत निर्णय भइसकेको बताएका छन्।

दूतावासका उपप्रमुख सुशील लम्सालले उद्धार गरिएकाहरूलाई कहाँ र कसरी राख्ने भन्ने निर्णय कुरिरहेको बताए।

सरकारी निर्णयबाट आशावादी देखिएका हुबेमा रहेका नेपालीहरूले उक्त निर्णय कार्यान्वयनमा देखिएको ढिलाइले आफूहरूलाई थप चिन्तित बनाएको बताएका छन्।

कतिपय आलोचकहरू चाहिँ चीनबाट नेपालीको उद्धार गर्ने निर्णय कार्यान्वयनमा देखिएको ढिलासुस्तीले सरकारी निकायबीचको समन्वय अभावलाई फेरि एक पटक उजागर गरिदिएको रूपमा अर्थ्याउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वुहानबाट उद्धार गर्न सरकारसँग गुहार