कोरोनाभाइरस: चीनबाट फर्किन १८० जनाको आवेदन, नेपालमा विशेष निगरानीमा राख्ने ठाउँबारे निर्णय हुन बाँकी

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

कोरोनाभाइरसको महामारी फैलिएको चीनको वुहानबाट उद्धार गरेर ल्याउन लागिएका नेपाली नागरिकरहूलाई विशेष निगरानीमा राख्न स्वास्थ्य मन्त्रालयले विभिन्न स्थानलाई विकल्पका रूपमा अघि सारेको अधिकारीहरूले बताएका छन्।

शनिवार मात्र बेइजिङस्थित नेपाली दूतावासले चीनस्थित कोरोनाभाइरस अतिप्रभावित हुबे प्रान्तमा रहेका नेपालीहरूको उद्धारका लागि प्रक्रिया अघि बढाएको थियो।

स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई आइतवार बिहानसम्म आवेदन भर्न समय तोकिएकोमा १८० जनाले त्यसो गरेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बीबीसी न्यूज नेपाली बताए।

आवेदकहरूलाई लिन नेपाल वायुसेवा निगमको विशेष विमान पठाउने सरकारको योजना छ।

त्यसरी उद्धार गरेर नेपाल ल्याइएकाहरूलाई कम्तीमा दुई साता निगरानीमा राख्नुपर्ने भएकाले त्यसका लागि कुन स्थान उपयुक्त हुन्छ भनेर विभिन्न विकल्प प्रस्तुत गरिएको अधिकारीहरूले बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बीबीसीसँग भने, "हामीले उपत्यकाभित्र र आसपासका विभिन्न स्थानहरूको विकल्प अघि सारेका छौँ। अब त यो विषय स्वास्थ्य मन्त्रालयको मात्र रहेन। त्यसैले कुन स्थानमा राख्ने भन्ने निर्णय उच्च तहबाटै हुनेछ।"

स्वास्थ्य मन्त्रालयले अघि सारेका विकल्प

श्रेष्ठका अनुसार मन्त्रालयले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिमकेन्द्र वा कुनै ब्यारेकमा चीनबाट ल्याइएका मानिसहरूलाई राख्न सकिने एउटा विकल्प अघि सारेको छ।

उनका अनुसार नेपाली सेनाको पाँचखालस्थित तालिमकेन्द्र, सशस्त्र प्रहरीको मातातीर्थ वा ककनीस्थित तालिमकेन्द्रलाई सम्भावित स्थानका रूपमा हेरिएको छ।

Map

त्यस्तै अर्को विकल्पमा इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएका दुई भवन छन्।

इचङ्गुमा चार रोपनीभन्दा बढी क्षेत्रफल भएको जग्गामा बनाइएका भवनमा झन्डै १३० वटा फ्ल्याट भएको बताइन्छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

त्यहाँ अहिलेसम्म सरकारले सुकुम्बासीलाई बसाउन सकेको छैन।

खाली नै रहेकाले ती अपार्टमेन्टमा चीनबाट उद्धार गरेर ल्याइने मानिसलाई राख्न सकिने श्रेष्ठले बताए।

अर्को विकल्पका रूपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिमकेन्द्रलाई अघि सारिएको छ।

त्यस्तै अन्य विकल्पमा बोडेस्थित कृषि विकास ब्याङ्कको तालिमकेन्द्र, जावलाखेलस्थित स्टाफ कजेल, कीर्तिपुस्थित आयुर्वेदिक तालिमकेन्द्रजस्ता स्थान छन्।

तीबाहेक केही विद्यालय र कलेजका छात्रावासलाई पनि विकल्प मानेर छलफल भइरहेको श्रेष्ठले जानकारी दिए।

निर्णय हुन बाँकी

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार अहिले नै चीनबाट उद्धार गरिएकाहरूलाई कहाँ राख्ने भन्ने निर्णय गरिसकिएको छैन।

टीआईए

तस्बिर स्रोत, TIA

आइतवार बिहान बीबीसीसँग कुरा गर्दै भने, "हामीले उताबाट ल्याएपछि यहाँ के कसरी व्यवस्थापन गर्ने हो भन्ने आन्तरिक व्यवस्थापनको विषयमा निर्णय गर्न स्वस्थ्य सचिवज्यूको संयोजकत्वमा एउटा समिति बनाएका छौँ।"

"उक्त समितिले आवश्यक तयारी गरिरहेको छ। त्यसैअनुसार काम अघि बढ्छ।"

Coronavirus particles
Science Photo Library
कोरोनाभाइरसको प्रकोप

वुहानमा पहिला पुष्टि भएका ४२५ सङ्क्रमणमा आधारित

  • ५९ वर्षसङ्क्रमित व्यक्तिको औसत उमेर

  • ८९%सङ्क्रमण भएको कम्तीमा पाँच दिनसम्म अस्पताल भर्ना भएनन्

  • ५६%सङ्क्रमित व्यक्ति पुरुष

  • ५५%नयाँ वर्षअघि भएका सङ्क्रमणको समुद्री खाद्यपदार्थसँग सम्बन्ध

स्रोत: The New England Journal of Medicine

शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाएर मन्त्रीहरूलाई चीनमा अलपत्र परेका नेपाली नागरिकको व्यवस्थापन र उद्धारबारे निर्देशन दिएका थिए।

सोही निर्देशनअनुसार काम भइरहेको अधिकारीहरूले बताएका छन्।

उक्त बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र सञ्चारमन्त्री गोकुल बाँस्को पनि सहभागी थिए।

वुहानका विद्यार्थीको भनाइ

वुहानमा रहेका विद्यार्थीहरूले भने उद्धार हुने भएपछि आफूहरूलाई खुसी लागेको बताएका छन्।

तर उनीहरूमा नेपाल फर्किएपछि कहाँ र कसरी राखिन्छ भन्ने चिन्ता पनि देखिएको छ।

सरकारले चीनबाट आउने सबै बिरामी हुन् भन्ने ठान्नु नहुने उनीहरूको भनाइ छ।

यूरोसर्जरी विषयमा चीनमा विद्यावारिधि गरिरहेका डा. गौरव पोखरेलले भने, "नेपालमा हामीबारे गलत कुरा फैलिएको छ। हामी बिरामी होइनौँ तर कथंकदाचित् कसैलाई सङ्क्रणम भइहाल्यो भने भन्ने सोचेर मात्र पूर्वतयारी गर्नुपर्ने हो।"

"हामीलाई आइसोलेशन वार्डमा लगेर राख्नुपर्ने आवश्यकता छैन। मात्र हामीलाई कुनै तालिमकेन्द्र वा यस्तै एकान्त स्थानमा सबैलाई लगेर राखे हुन्छ," उनले भने।

अडिओ क्याप्शन सुरु हुँदैछ, परराष्ट्रमन्त्रीले चीनबाट नेपालीहरूलाई फर्काउने निर्णय जुनसुकै बेला गर्न सकिने बताएका छन्।

उनले नेपालमा चीनबाट फर्किएका सबैलाई नै आइसोलेशन वार्डमा लगेर राख्नुपर्छ भन्ने सोच देखिएको बताए।

बीबीसीसँग टेलिफोनमा उनले भने, "हामीलाई त चिकित्सक र सुरक्षाकर्मीको सुविधा भएको कुनै पनि स्थानमा लगेर राखे हुन्छ नि! त्यत्ति हो दुई सातासम्म बाहिरका मान्छेसँग सम्पर्क हुनुभएन।"

हुबेमा नेपाली

बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार कोरोनाभाइरसको महामारी फैलिएको हुबे प्रान्तको वुहान र नजिकैका सहरमा झन्डै २०० जना नेपाली छन्।

वुहानबाट केही टाढा रहेका नेपालीहरूलाई त्यहाँ ल्याएर विशेष विमानबाट नेपाल ल्याउने तयारी भइरहेको छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चीनबाहिर पहिलो पल्ट फिलिपन्समा कोरोनाभाइरसका कारण एक व्यक्तिको मृत्यु भएको छ। यो तस्बिरमा फिलिपिन्सको मनिलामा मानिसहरूले मास्क किन्न लागेको देखिन्छ

त्यसका लागि नेपाल वायुसेवा निगमको एउटा विमान पठाइनेछ।

यो सबै प्रक्रिया पूरा गर्न कम्तीमा तीन दिन लाग्ने अधिकारीहरूको भनाइ छ।

हुबेमा भएका १९८ नेपालीमध्ये १८८ जना विद्यार्थी र १० जना कामदार भिसामा रहेका छन्।

चीनको स्थिति

शनिवारसम्म चीनमा ३०४ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

हुबे प्रान्तमा मात्रै ४५ जनाभन्दा बढीको ज्यान गएको छ। चीनभरि थप २,५९० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै सरकारी टीभीले शनिवारसम्म सङ्क्रमण भएका मानिसको सङ्ख्या १४,३८० पुगेको जनाएको छ।

यूनिभर्सिटी अफ हङ्‍कङको आकलनअनुसार सङ्क्रमण भएका मानिसको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा धेरै हुन सक्छ। विज्ञहरूका अनुसार वुहानमा मात्रै कम्तीमा ७५,००० जना उक्त भाइरसबाट सङ्क्रमित भएका हुन सक्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वुहानबाट उद्धार गर्न सरकारसँग गुहार