कोबी ब्रायन्ट: हेलिकप्टर दुर्घटनामा अमेरिकी बास्केटबल खेलाडीको मृत्यु

तस्बिर स्रोत, Reuters
बास्केटबलका महान् खेलाडी कोबी ब्रायन्टको अमेरिकामा भएको एउटा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। उनी ४१ वर्षका थिए।
क्यालिफोर्नियाको स्थानीय प्रहरीका अनुसार हेलिकप्टरमा उनीसहित नौ जना थिए। उक्त दुर्घटनामा कोबीकी १३ वर्षीया छोरी जियानासहित सबै जनाको मृत्यु भयो।
बीसवटा सीजनसम्म लस एन्जलस लेकर्सका प्रमुख खेलाडी रहेका कोबी पाँच पटक एनबीए च्याम्पीअन र दुई पटक ओलिम्पिक स्वर्ण पदक विजेता बने।
सन् २०१६ मा खेलबाट सन्न्यास लिएपछि उनले बालबालिकाका लागि पुस्तक लेखेका थिए। उनले अस्कर पनि जितेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा भूतपूर्व राष्ट्रपति बराक ओबामाले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
अमेरिकी बास्केटबल सङ्घ एनबीए, ग्र्यामीकी प्रस्तोत्री अलिसिया किज र अन्य व्यक्तिले पनि उनको निधनप्रति दु:ख व्यक्त व्यक्त गरेका छन्।
दुर्घटनाबारे हामीलाई के थाहा छ?
शेरिफ एलेक्स भिलानुएभाका अनुसार हेलिकप्टरमा नौ जना सवार थिए। यसअघि अधिकारीहरूले त्यसमा पाँच जना भएको बताएका थिए।

तस्बिर स्रोत, Reuters
कालाबासास नगरले दुर्घटनाको समाचारले अधिकारीहरू दु:खी भएको बताएको छ।
त्यो नगरले एउटा विज्ञप्तिमा भनेको छ, "हेलिकप्टर लास भर्जेनेस क्षेत्रको खेतमा बिहान झन्डै १० बजे खसेको थियो। जमिनमा रहेका कसैलाई पनि क्षति पुगेन।"
दुर्घटनास्थलनजिकै बसोबास गर्ने ग्याभिन मसाकले सीबीएस न्यूजलाई भने, "विस्फोट भएको जस्तो आवाज आएन, तर ठूलो आवाज आयो। हेलिकप्टरको जस्तो, जेट विमानको जस्तो चर्को आवाज आयो। बाहिर निस्किएर हेर्दा धुँवा आइरहेको थियो।"


ब्रायन्ट को हुन्?
ब्रायन्टले आफ्नो २० वर्षे खेलजीवन लस एन्जेलस लेकर्ससँग बिताएका थिए।
थुप्रै पुरस्कारबाट सम्मानित ब्रायन्टले सन् २०१६ को एप्रिलमा सन्न्यास लिएका थिए।
यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Instagram पोस्ट समाप्त
सन् २००६ मा टरोन्टो र र्याप्टर्ससँगको खेलमा उनले ८१ पोइन्ट जितेका थिए। त्यो एनबीएको इतिहासकै दोस्रो ठूलो एकल खेल पोइन्ट थियो।
डीअर बास्केटबल शीर्षकको पाँच मिनेट लामो चलचित्रका लागि उनले सन् २०१८ मा छोटो चलचित्र विधामा अस्कर पुरस्कार पाएका थिए। त्यो उनले बास्केटबल खेललाई उनले केही वर्षअघि लेखेको प्रेमपत्रमा आधारित थियो।
सन् २००३ मा उनलाई एक १९ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। तर ब्रायन्टले उनीसँग सहमतिमा यौनसम्पर्क गरेको भन्दै त्यो आरोप अस्वीकार गरेका थिए।
पछि ब्रायन्टले क्षमा माग्दै भनेका थिए, "उनले त्यो घटनालाई मैले लिए जसरी लिइनन्।"
आरोप लगाउने महिला पछि हटेपछि त्यो मुद्दा अघि बढेन। त्यो मुद्दा अदालतबाहिर टुङ्गिएको थियो।








