नेपालमा पक्राउ परेका १२२ चिनियाँ नागरिकको निष्कासन प्रक्रिया 'मङ्गलवार नै पूरा हुने'

तस्बिर स्रोत, Reuters
- Author, संजीव गिरी
- Role, बीबीसी न्यूज नेपाली
गत डिसेम्बर २३ मा काठमाण्डूबाट पक्राउ गरिएका १२२ चिनियाँ नागरिकलाई नेपालबाट निष्कासन गर्ने प्रक्रिया मङ्गलवार नै पूरा गरिने अध्यागमन विभागले जनाएको छ।
भिसा र राहदानी नभएकाहरूका लागि आवश्यक कागजपत्र चिनियाँ दूतावासमार्फत् प्राप्त भएको र उनीहरूलाई नेपालको अध्यागमन ऐनअनुसार कारबाही प्रक्रिया मङ्गलवार पूरा गरिने बताइएको छ।
उनीहरूलाई बुधवार साँझ चीन फिर्ता पठाइने तयारी रहेको अधिकारीहरू बताउँछन्।
अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारी भन्छन्, "उनीहरूले (चिनियाँ दूतावासले) हवाई टिकट पेस गरेका छन्। हामीले आदेश दिएपछि ती चिनियाँ नागरिकहरूलाई छाडिने र चिनियाँ दूतावासले समन्वय गरेर प्रक्रिया अघि बढ्नेछ।"

तस्बिर स्रोत, Reuters
अध्यागमनको जिम्मामा रहे पनि विभागसँग पर्याप्त स्थान नरहेका कारण पक्राउ परेका चिनियाँहरूलाई प्रहरी हिरासतमै राखिएको बताइएको छ।
पक्राउ परेकामध्ये ३१ जनाको मात्रै राहदानी फेला परेको विभागले जनाएको छ।
उनीहरूको राहदानी चीनले रद्द गरेर र दूतावासले ट्राभल डकुमेन्ट अर्थात् यात्रासम्बन्धी कागजपत्र जारी गरेको तिवारीले बताए।
दिनहुँ विदेशी नागरिकहरूलाई निष्कासन गर्ने विषयमा काम गरिने हुँदा आफूहरूले ती चिनियाँ नागरिकको विषया फरक रूपमा नहेरेको पनि उनले बताए।
तिवारीले भने, "हामीले राहदानी र सम्बन्धित व्यक्ति एकै हुन कि होइनन् भन्ने कुराको यकिन गर्ने कार्य गरिरहेका छौँ।"
नेपालको अध्यागमनसम्बन्धी कानुनको अवज्ञा गरेको अभियोगमा विभागले सन् २०१९ मा ६४० जनालाई नेपालबाट फिर्ता पठाएको थियो।
चिनियाँ विमानलाई अवतरण अनुमति

तस्बिर स्रोत, CIVIL AVIATION AUTHORITY
प्रयोजन नखुलाइए पनि बुधवार दिउँसो एउटा चिनियाँ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अधिकारीहरूले बताएका छन्।
दुईवटा विमान आउने भनिए पनि हालसम्म चाइना इस्टर्नले मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग चार्टर्ड विमान अवतरणका लागि अनुमति लिएको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले बीबीसीलाई जानकारी दिए।
छेत्रीले भने, "विमान केका लागि आउन लागेको हो भन्ने कुरा त थाहा भएन, तर चाइना इस्टर्नले चार्टर्ड फ्लाइट गर्ने अनुमति लिएको छ।"
उनले १३२ सीट क्षमताको विमानलाई बुधवार दिउँसो ३ बजे अवतरण गर्ने र साँझ ६ बजे उडान गर्ने अनुमति दिइएको बताए।
विमान छोटो समयमै फर्किने हुँदा विमानका चालकदलका सदस्यहरू विमानबाट ओर्लिने सम्भावना कम भएको उनले बताए।
चीन फिर्ता पठाउनुको कारण
पर्यटक भिसामा नेपाल आएर घर भाडामा लिएर थुप्रै सङ्ख्यामा मोबाइल र कम्प्युटर राखी शङ्कास्पद रूपमा नियमित काम गर्ने गरेको पाइएपछि ती चिनियाँ नागरिकहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको भनाइ छ।
चीनले आफूले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले तिनलाई पक्राउ गरेको जनाएको थियो।
उनीहरू साइबर अपराध, अवैध हुन्डी, सम्पत्ति शुद्धीकरण, सट्टेबाजी र जुवाजस्ता काममा संलग्न भएको हुन सक्ने आशङ्का प्रहरीको थियो।
तर अनुसन्धानका क्रममा उनीहरूले नेपालविरुद्ध वा नेपालमा कसुर गरेको नदेखिए पछि चीन सरकारलाई फिर्ता गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमाण्डूका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बीबीसीलाई जानकारी दिए।
पक्राउ परेका चिनियाँ नागरिकहरूले नेपालको अध्यागमन कानुनको मात्रै उल्लङ्घन गरेको हुँदा उनीहरूलाई नेपालमै कारबाही गर्ने आधार नरहेको प्रहरीको भनाइ छ।

तस्बिर स्रोत, Reuters
तोकिएको समयभन्दा बढी बसेको वा पर्यटक भिसा लिएर अन्य काममा लागेको देखिएकाले उनीहरूलाई अध्यागमनको जिम्मा लगाइएको प्रहरीको तर्क छ।
"हामीले प्रचलित कानुनका आधारमा कारबाही गर्ने हो। नेपालमा बसेर चिनियाँ नागरिकहरूले चीनमा अपराध गर्दा नेपालमा कारबाही गर्ने कानुनी व्यवस्था छैन," सुवेदीले भने।
एटीएमबाट पैसा चोर्ने प्रयास गरेको आरोपमा केही महिनाअघि प्रहरीले चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको र उनीहरू हाल नेपालमै थुनामा रहेको बताउँदै सुवेदीले पछिल्लो प्रकरणमा भने नेपालमा कारबाही गर्ने आधार नरहेको दोहोर्याए।
तर चीन फिर्ता पठाउनैका लागि प्रहरीले उनीहरूले गरेको अपराध चीनमा सीमित रहेको भन्ने विवरण मात्रै सार्वजनिक गरेको कतिपयको अनुमान छ।
नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले अध्यागमन कानुन उल्लङ्घनबाहेक अन्य अपराधमा देशनिकाला सहज नहुने जानकारहरूको भनाइ छ।








