कृत्रिम हात पाएपछि यी पाँचवर्षे बालकले भाइलाई अँगालो हाले

भाइलाई अङ्कमाल गर्दै जेकब

तस्बिर स्रोत, Ben Ryan

तस्बिरको क्याप्शन, भाइलाई अङ्कमाल गर्दै जेकब

चिकित्सकहरूले दिएको मितिभन्दा आठ हप्ता अगाडि नै जन्मिँदा जेकबको देब्रे हात थिएन। जेकब अहिले पाँच वर्ष पुगेका छन्।

वेस्ट योर्कशीरमा बस्ने जेकबका अभिभावक जेमा टर्नर र क्रिस स्क्रिम्शावले उनका लागि १५ हजार यूरो पर्ने कृत्रिम हात किन्न रकम सङ्कलन गरे।

कुहिनोभन्दा तलको भाग नभएको हातका लागि प्रस्थेटिक अर्थात् कृत्रिम हात उपयोगी नहुने यूकेको राष्ट्रिय स्वास्थ्य प्रणाली एनएचएस र धेरै कम्पनीको मान्यता छ।

जेकबका लागि हात बनाउन एङ्गल्सीमा पर्ने मेनाई ब्रिज भन्ने ठाउँबाट बेन र्‍यान आए।

दश दिनको हुँदा आफ्नो छोराको आकस्मिक शल्यक्रिया गरेर हात फाल्नु परेपछि र्‍यानले उनका लागि एउटा हाइड्रोलिक पाखुराको विकास गरेका थिए।

त्यसपछि साढे दुई वर्षअघि उनले मनोविज्ञान विषयको शिक्षकको जागिर छोडे र एम्बायोनिक्स नामको आफ्नै कम्पनी खोले।

यसै वर्ष उनको कम्पनी पोल्यान्डको ग्लेज कम्पनीमा गाभिएको छ।

सो कम्पनीका प्रारम्भिक ग्राहकमध्ये जेकब पनि एक हुन्।

आफ्नी आमा जेमासँग जेकब

तस्बिर स्रोत, Ben Ryan

तस्बिरको क्याप्शन, कृत्रिम हात जोड्ने ठाउँमा आफ्नी आमा जेमासँग जेकब

र्‍यानले कृत्रिम हातखुट्टा बनाउने विज्ञहरूसँग र जेकबलाई हाइड्रोलिक हात दिनका निम्ति उनको परिवारसँग मिलेर काम गरिरहेका छन्।

सबैतिर चलाउन मिल्ने कुहिनो, अँठ्याउने क्षमता र अरू साधनको साटो एउटा उपयोगी हात होस् भन्ने उनको परिवारको इच्छा थियो।

र्‍यानका अनुसार ती कृत्रित हातहरू सामान्य रूपमा थ्रीडी प्रिन्ट गरेर बनाइएको हैन। किनभने ती बनाउन नाईलनको धुलोमा लेजर को प्रयोग गरिएको हुन्छ।

जेकबको नयाँ हात

तस्बिर स्रोत, Ben Ryan

जेकब

तस्बिर स्रोत, Ben Ryan

तस्बिरको क्याप्शन, जेकब अहिले कृत्रिम हातले सामान समात्न सक्छन्

र्‍यानका अनुसार चुकुलको प्रयोग गरेर कुहिनो मिलाउन सकिन्छ अनि जेकबले पानी भरिएको रबरको च्याम्बर निचोर्दा पाखुरामा जोडिएको हात बन्द हुन्छ।

उनका सहकर्मीहरूले पोल्यान्डमा कृत्रिम पाखुराको निर्माण गरेका हुन् भने उनले त्यसलाई शरीरमा जडान गरेर काम गर्न सक्ने विधि विकसित गरेका हुन्।

जेकबको इच्छानुसार त्यसलाई ठूलो, हरियो र सुपरहिरोको हात जस्तो देखिनेगरी बनाइएको छ।

गत हप्ता जेकबलाई हात दिँदै र्‍यानले सबैको अपेक्षानुसार बनाउन सकेकोमा खुसी प्रकट गरे।

"अब उनी (जेकब) आफ्ना भाइलाई अँगालो हाल्न र उनको हात समाउन सक्छन्," उनले भने।

Jacob Scrimshaw

तस्बिर स्रोत, Ben Ryan

छोराको शरीरमा कृत्रिम हात जडान गरिएपछि जेमाले प्रसन्नता व्यक्त गरिन्।

"उनलाई यो एकदमै मन पर्छ, उनले यो भर्खर पाए," उनले भनिन्।

उनका अनुसार जेकब नचल्ने कृत्रिम हात चाहँदैनथे। "उनलाई अरूजस्तो देखिनुपर्छ भन्ने थिएन।"

नयाँ हात जडान गरेपछि उनलाई शरीरको सन्तुलन मिलाउन पनि सजिलो भएको जेमाको भनाइ छ।

जेकबलाई सहयोग गर्न पैसा सङ्कलन गर्ने क्रममा एउटी महिलाले आफ्नो परिचय नखुलाई ५,००० पाउन्ड दिएकी थिइन्।

उनले आफू गम्भीर रूपमा बिरामी भएकाले आफ्ना इच्छाहरू पूरा गर्न सक्ने स्थितिमा नभएको जनाएकी थिइन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, एउटा कृत्रिम खुट्टा भएका यी बालक यसरी नाच्छन्