कृत्रिम खुट्टा: जसका लागि कृत्रिम खुट्टा वरदान साबित भएको छ

कृत्रिम
तस्बिरको क्याप्शन, तयारी कृत्रिम खुट्टा
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा

दुर्घटनाले होओस् अथवा अन्य कारणले हात-खुट्टा लगायतका अङ्ग गुमाएका मानिसहरूको जीवन अत्यन्त कष्टकर हुने गरेको देख्न पाइन्छ।

तर त्यही कष्टकर जीवनलाई केही हदसम्म भए पनि मानव निर्मित अङ्गको प्रयोगले सहज बनाइदिएका उदाहरण कैयौँ भेटिन्छन्।

प्राकृतिक अङ्गहरूको जस्तो नभए पनि हिँडडुल नै गर्न नसक्नेहरूका लागि त्यस्ता कृत्रिम अङ्ग वरदान साबित भएको भुक्तभोगीहरूले बताएका छन्।

तिनै मध्ये एक हुन् पथरिया, झापाका पुरन भट्टराई जो अहिले पनि नेपाल प्रहरीमा हवल्दार पदमा कार्यरत छन्।

दिनचर्या

विसं. २०६० सालमा माओवादी सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादी विद्रोहीले थापेको धरापमा परेर उनले दुइटै खुट्टा गुमाए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हत्केलाविहीन बालिकाले जितिन् हस्तलेखन प्रतियोगिता

उपचारपछि उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे। अनि केही सङ्घसंस्थाको सहयोगमा भट्टराईले कृत्रिम खुट्टा लगाए।

कृत्रिम
तस्बिरको क्याप्शन, कृत्रिम खुट्टाको सहाराले दैनिकी सहज बनाएका प्रहरी हवल्दार पुरन भट्टराई

त्यसपछि उनी सामान्य हिँडडुल गर्न सक्ने भए। करिब १६ वर्षदेखि उनले कृत्रिम खुट्टाको सहयोगमा हिँडडुल गरिरहेका छन्।

भट्टराई भन्छन्, "पहिलाको जस्तो प्राकृतिक त के हुन्थ्यो र? तर परिस्थिति अनुसार दैनिक जीवन चलाउन सहज भएको छ।"

त्यस्तै विर्तामोड नगरपालिका-८ का गोपाल श्रेष्ठ नौ महिनाको उमेरमा आगोमा परेर गम्भीर घाइते भए।

कृत्रिम
तस्बिरको क्याप्शन, नौ महिनाको उमेरमा दुइटै खुट्टा गुमाएका विर्तामोड-८ का गोपाल श्रेष्ठ

नौ वर्षको उमेरसम्म त्यतिकै बसेर पछि काठमाण्डू गएर उपचार गराउँदा उनका दुइटै खुट्टा काट्नुपर्ने भयो।

त्यसयता उनले कृत्रिम खुट्टाकै भरमा जीवन चलाइरहेका छन्।

नयाँ जीवन

श्रेष्ठ भन्छन्, "खुट्टा लगाउनुअघि चार पाउ टेकेर हिँड्नुपर्ने अवस्था थियो। कृत्रिम खुट्टा लगाएपछि धेरै सहज भएको छ। म त कृत्रिम खुट्टाबाट नयाँ जीवन पाएकोमा खुशी छु।"

देउमाई नगरपालिका-९ इलामका झलिन्द्र मगर कृत्रिम खुट्टाका कारण आफू "बाँदरको जुनीबाट मान्छेको जुनीमा" आएको बताउँछन्।

कृत्रिम
तस्बिरको क्याप्शन, कृत्रिम खुट्टाको सहारामा बाँचेका देउमाई इलामका झलिन्द्र मगर

मगर बुझ्न सक्ने भएदेखि उनका दुइटै खुट्टा थिएनन्। तर पछि बुवाआमाबाट आगोमा परेर खुट्टा गुमेको भन्ने थाहा पाएको उनले सुनाए।

विसं. २०६० सालदेखि उनी कृत्रिम खुट्टाको सहारामा छन्।

उनले भने, "१७ वर्षमा म कक्षा आठमा पढ्दासम्म चार पाउ टेकेर हिँडेँ। कृत्रिम खुट्टा पाएर हिँड्न पाएपछि बाँदरको जुनीबाट मान्छेको जुनीमा आएजस्तो लाग्छ।"

झापाको बुद्धशान्ति गाउँपालिका बर्नेकी कलिमाया विश्वकर्माको पनि सवारी दुर्घटनामा देब्रे खुट्टा गुमेको थियो।

कृत्रिम
तस्बिरको क्याप्शन, गाडीले पेलेर देब्रे खुट्टा गुमाएकी झापा बर्नेकी कलिमाया विश्वकर्मा

उनी कृत्रिम खुट्टाको सहारामा दुइटै खुट्टा टेक्न सक्ने भएकी छिन्। तीन वर्षअघि उनको देब्रे खुट्टा गुमेको हो।

कति टिक्छ कृत्रिम अङ्ग?

कृत्रिम अङ्ग बनाउने प्राविधिकहरूका अनुसार त्यो कति टिक्छ भन्ने कुरा प्रयोगकर्ताले कसरी प्रयोग गर्छन् भन्नेमा भर पर्छ।

त्यस्ता कृत्रिम अङ्ग तयार गर्ने एक भारतीय प्राविधिक मुकेशकुमार पाण्डे लापरवाह ढङ्गले प्रयोग गरे कृत्रिम अङ्ग एक वर्ष पनि टिक्न गाह्रो हुने बताउँछन्।

"जसले लापरवाहीका साथ प्रयोग गर्छ उसको एक वर्ष पनि टिक्न गाह्रो हुन्छ। राम्रोसँग प्रयोग गरे तीन वर्षसम्म टिक्न सक्छ।"

कृत्रिम
तस्बिरको क्याप्शन, कृत्रिम अङ्ग बनाउँदा प्लाष्टर अफ पेरिस लगायत विभिन्न वस्तुको प्रयोग गरिन्छ

नेपालमा शारीरिक अपाङ्गता भएकाहरूलाई कृत्रिम अङ्ग व्यवस्था गरिदिने संस्थाहरूका अनुसार एउटा खुट्टा तयार पार्न करिब डेढ लाख रुपैयाँ लाग्ने गर्छ।

तर कतिपय सङ्घसंस्थाले अपाङ्गता भएका मानिसहरूलाई निःशुल्क रूपमा त्यस्ता अङ्ग वितरण गर्ने गरिएको बताउँछन्।

उनका अनुसार त्यस्ता अङ्ग बनाउँदा प्लास्टर अफ पेरिस, पाइप लगायतका वस्तु प्रयोग हुन्छ।

तर कृत्रिम अङ्ग उपलब्ध गराउने संस्थाहरूसम्म पुग्ने क्षमता नभएकाहरू गाउँघरमा अझै रहेकाले शारीरिक अपाङ्गता भएकाहरू अझै असहज जीवन बिताउन बाध्य भएको कृत्रिम अङ्ग प्रयोगकर्ताहरूको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कम मूल्य पर्ने प्रोस्थेटिक(नक्कली)खुट्टा