१३‌ औँ दक्षिण एशियाली खेलकुद: नेपालले भुटानलाई १४१ रनले हरायो, टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान

ज्ञानेन्द्र
तस्बिरको क्याप्शन, कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाए (फाइल तस्बिर)

नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउँदै भुटानलाई १३० रनले पराजित गरेको छ।

कीर्तिपुर मैदानमा १३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत प्राप्त गरेको विजय नेपालले हालसम्म प्राप्त गरेको सबैभन्दा ठूलो विजय हो।

कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी १०७ रन बनाएपछि नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको थियो।

भुटानले भने २० ओभरमा छ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो।

नयाँ कीर्तिमान

भुटानविरुद्ध बनाएको रन नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर हो।

यसअघि नेपालको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गत जुलाईमा बनाएको १७३ रन थियो।

बिहीवार मल्लले ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो।

नेपालका लागि रनको हिसाबले यो सबैभन्दा ठूलो जित हो।

यसअघि नेपालको सबैभन्दा ठूलो जितको कीर्तिमान हङ्‍कङलाई सन् २०१४ को टी२० विश्वकपमा ८० रनले हराउँदा बनाएको थियो।

पारस खड्का

तस्बिर स्रोत, Raman Shiwakoti

तस्बिरको क्याप्शन, पारस खड्काले चौथो अर्धशतक बनाए र दुई विकेट लिए (फाइल तस्बिर)

भुटानको कमजोर ब्याटिङ

ठूलो लक्ष्य पाएको भुटानले सुरुदेखि नै कमजोर ब्याटिङ गरेको थियो।

भुटानी खेलाडीहरूको उद्देश्य खेल जित्नेभन्दा पनि २० ओभर पूरा खेल्ने देखिएको थियो।

रन्जुङ दोर्जीले २३ बलमा २७ रन बनाए पनि अन्य खेलाडीले धेरै रन बनाउन सकेनन्।

नेपालका तर्फबाट पारस खड्काले दुई एवम् करण केसी, ललितनारायण राजवंशी र पवन सर्राफले एक-एक विकेट लिए।

कप्तानी इनिङ्स

यसअघि पारस खड्काले सिङ्गापुरविरुद्ध बनाएको अविजित शतक नेपाली खेलाडीले बनाएको सर्वोच्च स्कोर थियो।

खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका थिएनन्।

तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरे।

मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए। यो खड्काको टी२० अन्तर्राष्ट्रिय क्रिकेट चौथो अर्धशतक हो।

खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरे।

नेपालको उच्च स्कोर

मल्लले १७.४ ओभरमा ५३ बलमा शतक बनाए। उनी टोब्देन सिङे्को बलमा क्याचआउट भए।

नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले २७ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अविजित ४५ रन बनाए।

आरिफ शेख चार रनमा अविजित रहे। रोहित पौडेले छ रन मात्रै बनाए।

भुटानका सबैभन्दा सफल बलर कर्मा दोर्जी भए। उनले दुई विकेट लिएका थिए।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, अञ्जली चन्द: ‘नसोचेको कुरा भयो’