१३‍औँ दक्षिण एशियाली खेलकुद: ठूलो आयोजन, ठूलै चुनौती

साग उदघाटन

तस्बिर स्रोत, RSS

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपालबाट ३५ वर्ष अगाडि सुरु भएको दक्षिण एशियाली राष्ट्रहरूको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको १३औँ संस्करण आइतवारदेखि फेरि नेपालमै सुरु भएको छ।

काठमाण्डूको दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एशियाली खेलकुद (साग) प्रारम्भ भएको घोषणा गरेपछि नेपाली खेलकुदले नयाँ इतिहास रचेको छ।

साग उदघाटन

तस्बिर स्रोत, RSS

सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक सहित झन्डै सात हजार खेलकर्मी सहभागी हुने साग नेपालले गर्न लागेको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो।

मूल आयोजक समितिका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन अगाडि आयोजित पत्रकार सम्मेलनमा भने, "सागको यो संस्करणलाई हामी विश्व खेलकुदले स्मरण गर्ने गरी भव्यरूपमा आयोजना गर्दैछौँ।"

साग उदघाटन

तस्बिर स्रोत, RSS

सन् १९८४ मा पहिलो र सन् १९९९ मा आठौँ साग आयोजन गरिसकेको नेपालले तेस्रोपटक क्षेत्रीय खेलकुदको आयोजना गर्न लागेको हो।

खेल बढ्यो, खेलाडी बढे

पहिलो संस्करणमा पाँच खेल समावेश गरिएको दशरथ रङ्गशालाबाट सुरु भएको प्रतियोगिता फेरि सोही रङ्गशालामा फर्किँदा खेल सङ्ख्या २६ पुगेको छ भने पोखरा र जनकपुरसम्म प्रतियोगिता बिस्तार भएको छ।

सदस्य सचिव सिलवाल भन्छन्, "यसले दक्षिण एशियाको एकतालाई अझ मजबुत बनाउने छ।"

भलिबल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, औपचारिक उद्घाटन अगाडि भएको महिला भलिबलमा शनिवार श्रीलङ्कालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेर नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ, फाइनल भारतसँग हुनेछ

१३औँ साग प्राविधिक समितिका अनुसार सात राष्ट्रका कुल २,७१५ खेलाडीहरू यसपटक सहभागी छन्।

दुई हजारभन्दा बढी निर्णायकहरू संलग्न हुने खेलकुदका लागि सातै राष्ट्रका पदाधिकारीहरू नेपालमा आइसकेका छन्।

प्रतियोगितामा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ काश्य गरी १,११५ पदकका लागि प्रतिस्पर्धा हुनेछन्।

आयोजक नेपालले सबैभन्दा बढी ५९६ खेलाडीका साथ सबै खेलमा सहभागिता जनाएको छ।

भव्य उद्घाटन

आइतवार भएको उद्घाटनको साक्षी बन्न सातवटै देशका उच्चपदस्थ पदाधिकारीहरू निम्त्याइएको आयोजकले जनाएको छ।

रङ्गशाला

तस्बिर स्रोत, RSS

प्रतिस्पर्धाका निम्ति काठमाण्डू उपत्यका, पोखरा र जनकपुरमा गरी २९ खेलस्थल बनाइएको छ। जसमा २०७२ सालको भूकम्पपछि भत्किएको काठमाण्डू र पोखराको रङ्गशाला पुनर्निर्माण गरिएको छ।

ललितपुरको सातदोबाटोमा २५ मिटरको नयाँ पौडी पोखरी बनाइएको र अन्य खेलस्थलहरू मर्मत गरिएको १३औँ साग खेलस्थल व्यवस्थापन समितिले जनाएको छ।

तीन घण्टा लामो समारोह

उद्घाटन समारोह ३ घण्टाभन्दा धेरैको थियो। उद्घाटन समारोहको भव्यताबाट आयोजकको स्तर मापन गरिने हुनाले यसलाई स्तरीय बनाउने प्रयास गरिएको अधिकारीहरूले जनाएका छन्।

साग

तस्बिर स्रोत, RSS

उद्घाटन समारोहमा १५ हजार जनाको उपस्थितिमा विभिन्न कार्यक्रम प्रस्तुत भए।

समारोहको अन्त्यमा आकर्षक आतसबाजी पनि गरिएको थियो।

मूल आयोजक समितिका सचिव कुलबहादुर थापाले भनेका थिए, "नेपालको कला-संस्कृती रङ्गशालामा झल्किनेछ। उच्चप्रविधि पनि प्रयोग गरेका छौँ।"

उद्घाटन समारोहका लागि केही दिन अगाडि भएको अभ्यासले त्यसको छनक दिएको थापा बताउँछन्।

साग

तस्बिर स्रोत, RSS

चुनौतीबीचको आयोजन

सागको मिति दुईपटक सारिए पनि अन्तिम समयसम्म पनि आयोजक पूर्वाधार निर्माणमा नै केन्द्रित हुँदा प्रतियोगिता आयोजनालाई लिएर प्रश्न उठाइएको थियो।

तीन वर्ष १० महिना नै आयोजनाको जिम्मा लिएको नेपालले भौतिक पूर्वाधार निर्माण निकै ढिलो थालेको थियो।

जसले गर्दा उद्घाटनको अघिल्लो दिनसम्म पनि रङ्गशालामा निर्माणको काम चलिरहेको थियो।

कतिपय खेलस्थलमा निर्माण कार्य अझै जारी नै देखिन्छ। खेलाडीहरूको अभ्यासमा त्यसले असर परेको छ।

दक्षिण एशियाली खेलकुदमा नेपाल. सन् १९८४ देखि सन् २०१६ सम्मको अवस्था. * सन् २००४ सम्म प्रतियोगिताको नाम साफ खेलकुद थियो।.

पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च हुने सागमार्फत नेपालले यस अवधिमा आफूले गरेको क्षमता बृद्धिको झलक देखाउने प्रमुख चुनौती रहेको ठानिन्छ।

कतिपयको विचारमा साग आयोजनाको सफलता वा असफलताले अर्को महिनादेखि सुरु हुने भ्रमण वर्ष २०२० लाई समेत असर पार्न सक्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भूकम्पपछि फेरिएको रङ्गशालाको नयाँ रूप