डोनल्ड ट्र्म्प: महाभियोगबारे भएको सार्वजनिक सुनुवाइ 'ठट्टा'
आफूविरुद्ध प्रस्तुत गरिएको महाभियोग प्रस्तावअन्तर्गत अघि बढाइएको पहिलो सार्वजनिक सुनुवाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठट्टाको सङ्ज्ञा दिएका छन्।
उक्त सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताएका थिए।
ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिन अमेरिकी सहायता रोकेको आरोप लागेको छ।
जो बाइडन अमेरिकाका उपराष्ट्रपति हुँदा सन् २०१४ बाट उनका छोराले युक्रेनी ऊर्जा कम्पनीमा काम गरेका थिए।
सार्वजनिक सुनुवाइमा के भयो?
आफ्नो विस्तृत सम्बोधनका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले राष्ट्रपति ट्रम्प भूतपूर्व उपराष्ट्रपति बाइडनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने विषयमा बढी केन्द्रित रहेको आफ्ना एक सहयोगीलाई बताइएको जनाएका थिए।
उनका अनुसार राष्ट्रपति ट्रम्पले बाइडनमाथि हुने भनिएको अनुसन्धानका विषयमा सोधपुछ गरिएको टेलिफोन संवाद ती कर्मचारीले छेउमा बसेर सुनेका थिए।

तस्बिर स्रोत, Getty Images
उनले ह्वाइट हाउसले युक्रेनलाई उपलब्ध गराउने भनिएको सहायता रकम रोकिरहेको स्पष्ट रहेको पनि उल्लेख गरे।
युरोपेली सङ्घका लागि अमेरिकी राजदूत गोर्डन सोन्ड्लन्डलाई राष्ट्रपति ट्रम्पले टेलिफोन गरेका थिए। सोन्ड्लन्डले राष्ट्रपति ट्रम्पलाई युक्रेनी पक्ष अनुसन्धान अघि बढाउन सहमत विवरण बताएको जनाइएको छ।
ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उक्त सुनुवाइलाई ठट्टाको सङ्ज्ञा दिए।
उनले भने, "मैले एक मिनेट पनि त्यसलाई हेरेको छैन। किनभने म त्योभन्दा महत्त्वपूर्ण कामअन्तर्गत भेटघाटमा थिए। त्यहाँ भनिएका सबै कुरा बनावटी हुन्। त्यो अघि बढ्न दिनु हुँदैनथ्यो।"
ट्रम्पका लागि नयाँ चुनौती के हुन्?
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार यो सुनुवाइले महाभियोग अनुसन्धानमा महत्त्वपूर्ण मोड दिन सक्छ।
उनका अनुसार सोन्ड्लन्ड र राष्ट्रपति ट्रम्पबीच सीधा कुराकानी हुने गरेका विवरणहरू आए पनि युक्रेनसम्बन्धी आरोपका विषयमा हालसम्म प्रत्यक्ष प्रमाण जुटेको थिएन।

तस्बिर स्रोत, AFP
तर कार्यवाहक राजदूत टेलरको बयानले त्यो अवस्था बदल्ने देखिन्छ।
बुधवारको सुनुवाइपछि संसद्को गुप्तचर हेर्ने समितिले शुक्रवार एउटा बन्द सत्रमा एकजना नयाँ प्रत्यक्षदर्शीले बयान दिने जनाएको छ।
ती व्यक्ति टेलरले उल्लेख गरेका सहयोगी हुन सक्ने विवरणहरू आएका छन्।
अर्को हप्ता उक्त समितिले राजदूत सोन्ड्लन्ड स्वयंलाई बयान दिन बोलाएको छ।
यदि यी दुईमध्ये कुनै एक व्यक्तिले टेलरको भनाइलाई समर्थन गरे भने ट्रम्पको बचाउमा आइरहेका तर्कहरू कमजोर बन्नेछन्।
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार पहिलो सुनुवाइले डेमोक्र्याटहरूलाई प्रसन्न बनाएको छ र राष्ट्रपतिको सहयोगी समूहका सामु नयाँ टाउको दुखाइका विषयहरू प्रस्तुत गरिदिएको छ।











