ट्रम्प महाभियोगः अमेरिकी राष्ट्रपतिविरुद्ध जारी छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित

तस्बिर स्रोत, Getty Images
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने एउटा प्रस्ताव पारित गरेको छ।
त्यसमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको छ।
संसद्मा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा चाहिँ थिएन।
डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन रहे वा नरहेको कुराको यो पहिलो औपचारिक परीक्षण थियो।
भर्त्सना
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मतदानको भर्त्सना गरेको छ।
प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत खसेको थियो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
सन् २०१६ को निर्वाचनमा झिनो मतान्तरले ट्रम्प विजयी भएका जिल्लाबाट प्रतिनिधित्व गर्ने दुई डेमोक्र्याट सांसदले मात्रै प्रस्तावको विपक्षमा मतदान गरे।
हाउस अफ रेप्रिजेन्टटिभ्सले पारित गरेको प्रस्तावले ट्रम्पका वकिलहरूको अधिकार पनि निर्धारण गरेको छ।
राष्ट्रपति ट्रम्पमाथि अपुष्ट भ्रष्टाचारका दाबीबारे आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएको आरोप छ।
ट्रम्पले आफूले गलत काम गरेको भन्ने कुरा अस्वीकार गर्दै आएका छन्।
सभामुख न्यान्सी पेलोसीले आफ्नो पार्टीले अमेरिकी संविधान र प्रजातन्त्रको रक्षाका निम्ति कदम चालिएको बताएकी छन्।
बन्द कोठाभित्र सुनुवाइ गरेको भन्दै रिपब्लिकनहरूले डेमोक्र्याटहरूको आलोचना गर्दै आएका छन्।
हुन त ती सुनुवाइहरूमा रिपब्लिकनहरू पनि सहभागी हुने गरेका छन्।
डेमोक्र्याटहरूले चाहिँ अनुसन्धानलाई सार्वजनिक तहमा लैजानुअघि प्रमाणहरू जुटाउन आवश्यक रहेकोमा जोड दिँदै आएका छन्।
यद्यपि सुनुवाइलाई गोप्य राख्दै आएको आरोपलाई उनीहरूले अस्वीकार गर्ने गरेका छन्।








