पाकिस्तानमा यात्रुवाहक रेलमा आगलागी, कम्तीमा ७४ जनाको मृत्यु

रेलमा आगलागी

तस्बिर स्रोत, Reuters

पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७४ जनाको ज्यान गएको बताइएको छ।

पाकिस्तान रेलवेको तेजगाम एक्स्प्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो।

स्थानीय अधिकारीका अनुसार कम्तीमा ७४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने अरू ४० जना घाइते भएका छन्।

रेलमन्त्री शेख रशिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए।

रेलमा सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Map

ती सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूका अनुसार जलिरहेको रेलबाट हाम फाल्न खोज्दा कतिपय मानिसको मृत्यु भएको थियो।

"दुईवटा स्टोभ पड्किए। उनीहरू खाना पकाउँदै थिए। उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो," रेलमन्त्रीले भने।

हताहत हुनेमध्ये एउटा धार्मिक कार्यक्रममा सहभागी हुन जान लागेको एउटा समूहका मानिसहरू भएको उनले बताए।

मन्त्रीका अनुसार लामो दुरीको यात्रामा रेलयात्रुहरू स्वयंले खाना पकाउन स्टोभ पनि ल्याउने गरेका छन्।

दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचार गर्न लगिएको थियो

दु:ख व्यक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

पाकिस्तान

तस्बिर स्रोत, AFP/Getty

घाइते

तस्बिर स्रोत, AFP

रेलभित्र अग्निनियन्त्रकहरू

तस्बिर स्रोत, Rescue1122

रेलमा अग्निनियन्त्रकहरू

तस्बिर स्रोत, Rescue1122

उद्धारकार्य

तस्बिर स्रोत, EPA

रेडिओ पाकिस्तानका अनुसार खानले पीडितहरूलाई यथोचित उपचार उपलब्ध गराउन निर्देशन दिएका छन्।

रेलमन्त्रीले घटनाबारे छानबिन हुने बताए।

मृतकहरूको सनाखत गर्ने प्रयास भइरहेको छ।

दुर्घटनाको इतिहास

पाकिस्तानमा बारम्बार घातक रेल दुर्घटना हुने गरेको छ।

रेलको क्षमताभन्दा बढी मानिसले यात्रा गर्ने भएकाले त्यहाँ हताहत हुनेकोको सङ्ख्या ठूलो हुन्छ।

गत जुलाई महिनामा भएको एउटा दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने सेप्टेम्बरमा चार जनाको मृत्यु भएको थियो।

सन् २००७ मा मेहरबपुरमा एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ५६ जनाले ज्यान गुमाएका तथा १२० जनाभन्दा बढी घाइते भएका थिए।

सन् २००५ मा सिन्ध प्रान्तमा तीनवटा रेल एकआपसमा जुध्दा १३० जनाभन्दा बढीको ज्यान गएको थियो।

कराची हुँदै रावलपिन्डीसम्म जाने तेजगाम एक्स्प्रेस पाकिस्तानको एउटा पुरानो र लोकप्रिय रेलसेवा हो।

साढे २५ घण्टाको बाटोमा यात्रा तय गर्ने उक्त रेलसेवा दैनिक सञ्चालन हुन्छ।