टर्कीद्वारा उत्तरी सिरियामा सैन्य कारबाही शुरू

तस्बिर स्रोत, EPA
टर्कीको सेनाले उत्तरी सिरियामा एउटा कारबाही शुरू गरेको छ।
सो कारबाहीका कारण अमेरिकी सैन्य साझेदार कुर्दिश नेतृत्त्वको सेनासँग टर्कीको सिधा सङ्घर्ष हुन सक्नेछ।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले कारबाही शुरू गरिएको घोषणा गरेका हुन्।
एर्दोआनले टर्कीले उक्त स्थानलाई कुर्दिश मिलिसियारहित सुरक्षित क्षेत्र बनाउन चाहेको बताएका छन्।
कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले टर्कीका युद्धक विमानहरूले सर्वसाधारणको बसोबास क्षेत्रमा आक्रमण गरेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विवादास्पद रूपमा उक्त क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्ने निर्णय गरेका थिए।
टर्कीका राष्ट्रपति एर्दोआनसँगको एउटा फोन वार्तापछि उनले यस्तो निर्णय गरेका थिए।
ट्रम्पको आलोचना
ट्रम्पको कदमलाई कुर्दिश नेतृत्त्वको सिरियन डेमोक्र्याटिक फोर्सले पिठ्यूँमा छुरा घोपेजस्तो भन्दै आलोचना गरेको थियो भने राष्ट्रपति ट्रम्पकै सहयोगी रिपब्लिकनहरूले पनि त्यसको आलोचना गरेका थिए।
तर उनले टर्कीले हमला गरे उसले आर्थिक समस्या बेहोर्नुपर्ने चेतावनी दिएका छन्।
सिरियामा जिहादी समुह इस्लामिक स्टेटलाई हराउनेमा कुर्दहरू मुख्य अमेरिकी सहयोगीका रूपमा रहेका थिए।
हमलाको घोषणा गर्दै टर्कीका राष्ट्रपति एर्दोआनले ट्विटरमा भनेका छन्- सिरियाको राष्ट्रिय सेनाको साथमा टर्कीको सेनाले भर्खरै 'अपरेसन पिस स्प्रिङ नामक सैन्य कारबाही शुरू गरेको छ।'

तस्बिर स्रोत, AFP
उनले यो कुर्दिश मिलिसिया र इसलामिक इस्टेटविरुद्ध रहेको जनाएका छन्।
उनले टर्कीले सिरियाको क्षेत्रीय अखण्डता र राजनीतिक एकताको सम्मान गर्ने र आफूहरूको सिरियाको कुनै पनि भूभाग कब्जा गर्ने उदेश्य नरहेको स्पष्ट पारेका छन्।
आफ्नो निर्णयको आलोचना भएपछि राष्ट्रपति ट्रम्पले आफ्नो निर्णयका कारण सिरियामा तैनाथ एक हजार अमेरिकी सेनामध्ये केवल ५० जना मात्र फर्काइने सङ्केत गरेका थिए।
टर्कीले सिरियासँगको सिमानामा ४८० किलोमिटर लामो तथा ३० किलोमिटरभित्र सम्म फैलिएको 'सुरक्षित क्षेत्र' बनाउन चाहेको बताएको छ।
उसको उद्देश्य टर्कीमा रहेका ३७ लाखमध्ये २० लाख सिरियाली शरणार्थीलाई त्यहाँ राख्ने रहेको बताइएको छ।








