कृष्णबहादुर महरा: बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख सरकारी निवासबाट पक्राउ

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल प्रहरीले यसरी लग्यो कृष्णबहादुर महरालाई

यौन दुर्व्यवहारको आरोप लागेपछि गत हप्ता सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई नेपाल प्रहरीले आइतवार साँझ बालुवाटारबाट पक्राउ गरेको छ।

यसअघि काठमाण्डू जिल्ला अदालतले उनलाई पक्रेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

अदालतबाट अनुमति पाएपछि नेपाल प्रहरीको एउटा टोली पक्राउ पुर्जीसहित सभामुखको सरकारी निवास पुगेको थियो।

गत आइतवार संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन्। तर महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए।

बीबीसी संवाददाता निरञ्जन राजवंशीका अनुसार आइतवार साँझ महरालाई रातो प्लेट भएको एउटा गाडीमा राखेर प्रहरीले लगेको छ।

यसअघि उनले प्रहरीको गाडीमा जान अस्वीकार गरेको विवरण विभिन्न टेलिभिजन च्यानलहरूले दिएका थिए।

महरा

तस्बिर स्रोत, RSS

सभामुखको सरकारी निवास

तस्बिर स्रोत, Nirajan Rajbanshi/BBC

सञ्चारमाध्यमबाट यौन दुर्व्यवहारको आरोपबारे समाचार सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाले उनलाई सभामुख र सांसद दुवै पदबाट तत्काल राजीनामा गर्न सुझाव दिएको थियो।

त्यसपछि घटनाबारे निष्पक्ष छानबिन गर्न सजिलो होओस् भन्दै उनले सभामुख पदबाट राजीनामा दिएका थिए।

लिखित राजीनामा दिएपछि स्वत: सभामुख पदबाट मुक्त भएका महरा अद्यापि सांसद पदमा कायम छन्।

बहालवाला सांसदलाई पक्राउ गर्न सभामुख वा कार्यवाहक सभामुखको अनुमति लिनुपर्ने प्रावधान छ।

'सामान्य प्रक्रिया'

अदालतले दशैँको बिदा सुरु भइसकेको अवस्थामा प्रहरीलाई महरालाई पक्राउ गर्न अनुमति दिएको हो।

महरा

तस्बिर स्रोत, FACEBOOK/KRISHNA BAHADUR MAHARA

काठमाण्डू जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको उक्त अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।

"यो सामान्य प्रक्रिया हो। कसैलाई पक्राउ गर्नुअघि अदालतको अनुमति लिनुपर्ने नियम भएकाले प्रहरीले अनुसन्धानका लागि कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो," श्रेष्ठले भने।

"काठमाण्डू जिल्ला अदालतले त्यसैले अनुमति दिएको हो।"

अदालतबाट अनुमति पाएपछि उनको नाममा पक्राउ पुर्जी जारी भएको र तदनुरूप नै कारबाही अगाडि बढाउने प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

किटानी जाहेरी

महराबाट आफू बलात्कृत भएको दाबी गर्ने ती महिलाले पछि एउटा अन्लाइन न्यूजपोर्टलमार्फत् आफूले आवेशमा आएर त्यसो भनेको भन्दै आफूले लगाएका आरोपहरू फिर्ता लिएकी थिइन्।

तर उनले महराले बलात्कार गर्न खोजेको किटानी गर्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा शुक्रवार राति जाहेरी दर्ता गराएकी थिइन्।

त्यसपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।

राजीनामा दिएपछि पनि महरा राजधानी काठमाण्डूको बालुवाटारस्थित सभामुखको सरकारी आवासमै बसिरहेका थिए।

मङ्गलवार प्रतिनिधिसभाका उपसभामुखलाई पठाएको आफ्नो राजीनामामा महराले लेखेका थिए: "हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रकिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु।"

तर राजीनामा ससर्त नहुने कुरा उठेपछि उनले अर्को राजीनामा पठाएको बुझिएको छ।