तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रोहित शर्मा: यी भारतीय खेलाडीले बनाए टेस्ट क्रिकेटमा सर्वाधिक छक्काको कीर्तिमान
पहिलो पटक प्रारम्भिक ब्याट्सम्यान बनेर दक्षिण अफ्रिकाविरुद्ध मैदानमा ओर्लिएका भारतका रोहित शर्मा टेस्ट क्रिकेटमा दुवै इनिङ्समा शतक बनाउने पहिलो खेलाडी बनेका छन्।
त्यसबाहेक उनले टेस्ट क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको नयाँ कीर्तिमान पनि बनाएका छन्।
उनले यी दुवै कीर्तिमान विशाखापट्टनममा आयोजित तीन खेलको शृङ्खलाको पहिलो खेलमा बनाएका हुन्।
शर्माको प्रदर्शनका कारण भारतले दक्षिण अफ्रिकालाई २०३ रनले हराएर तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ।
खेलको अन्तिम दिन आइतवार ३९५ रनको विशाल लक्ष्य पछ्याउन खोजेको दक्षिण अफ्रिका १९१ रनमै सीमित भएको थियो। कुनै समयममा दक्षिण अफ्रिकाको आठ विकेट जाँदा ८० रन मात्र थियो।
छक्काको वर्षा
पहिलो इनिङ्समा १७६ रन बनाएका रोहित शर्माले दोस्रोमा १२७ रन बनाए। त्यसपछि भारतले शनिवार चौथो दिनको खेल सकिँदा दक्षिण अफ्रिकालाई जितका लागि ३९५ रनको लक्ष्य दिएको थियो।
शर्माले १३ छक्का प्रहार गरेर पाकिस्तानका वसिम अक्रमले सन् १९९६ मा जिम्बावेविरुद्ध बनाएको १२ छक्काको कीर्तिमान भङ्ग गरेका छन्।
पहिलो इनिङ्समा छवटा छक्का प्रहार गरेका शर्माले दोस्रो इनिङ्समा सात पटक बललाई भुइँ नछुनेगरी मैदानबाहिर पुर्याइदिएका थिए। वसिम अक्रमले भने १२ वटै छक्का एउटै इनिङ्समा हानेर २५७ रन बनाएका थिए।
बत्तीस वर्षीय शर्मा एकदिवसीय खेलमा राम्रो ओपनरको रूपमा स्थापित भइसकेका छन्।
तर क्रिकेटको सबैभन्दा लामो स्वरूपको खेलमा मध्यक्रममा ब्याटिङ गर्दै आएका उनले एकदिवसीय खेलमा जस्तो राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।
खेलको पाँचौँ तथा अन्तिम दिनका नायक भारतीय अफस्पिनर रविचन्द्रन अश्विन बने।
उनले आफ्नो ३५० औँ विकेट लिएर श्रीलङ्काका स्पिनर मुथैया मुरलीधरनको समान कीर्तिमान बनाए। मुरलीधरनले जसरी नै उनले ६६औँ खेलमा ३५० औँ विकेट लिएका हुन्।
प्रारम्भिक ब्याट्सम्यान
यसअघि २७ टेस्ट खेलिसकेका रोहित शर्माले जम्मा तीनवटा शतक बनाएका थिए। उनको ब्याटिङ औसत ३९.६२ रहेको थियो।
तर प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा पहिलो पटक आएका उनले र अर्का ओपनर मयङ्क अग्रवालले साझेदारी गर्दै ३१७ रन बनाए।
त्यसमा अग्रवालको २१५ रन र शर्माले १७६ रन बनाएका थिए।
त्यही साझेदारीका कारण भारतले सात विकेटको क्षतिमा ५०२ रनको अवस्थामा आफ्नो पहिलो इनिङ्स समाप्त भएको घोषणा गरेको थियो।
चौथो दिनको खेलमा विकेट बलरका लागि उपयोगी भएको अवस्थामा पनि उनले निकै छिटो शतक बनाए।
पहिलो इनिङ्समा अश्विनले सर्वाधिक सात विकेट लिएका थिए। भारतले दोस्रो इनिङ्स ३२३/४ को अवस्थामा टुङ्ग्याएको थियो।
गावस्करपछि दोस्रो
एक सय ४४ वर्षको टेस्ट क्रिकेटको इतिहासमा शर्माले पहिलो पटक दुवै इनिङ्समा शतक बनाएका हुन्।
दोस्रो इनिङ्समा शर्माले १४९ बलमा १२७ रन बनाए। त्यस क्रममा उनले १० वटा चौका पनि प्रहार गरेका थिए।
दुवै इनिङ्समा उनले बनाएको कुल रन ३०३ रन अहिलेसम्म कुनै पनि प्रारम्भिक ब्याट्सम्याले आफ्नो पहिलो टेस्ट खेलमा बनाएको सबैभन्दा धेरै रन हो।
यसअघि उक्त कीर्तिमान श्रीलङ्काका तिलकरत्ने दिलशानको नाममा रहेको थियो। उनले सन् २००९मा न्यूजील्यान्डविरुद्ध खेल्दा २१५ रन बनाएका थिए।
भारतका सुनील गावस्करले पनि पहिला दुवै इनिङ्समा शतक बनाएका थिए। गावस्करले एउटै खेलका दुवै इनिङ्स तीन पटक शतक प्रहार गरेका छन्।
तर शर्माले दुवै इनिङ्समा स्टम्प्ड भएर बाहिरनुपरेको थियो।
प्रथम श्रेणीको क्रिकेट खेल्दा कहिल्यै त्यसरी आउट नभएका शर्मा यो टेस्ट शृङ्खलाको पहिलो खेलमा दुवै पटक दक्षिण अफ्रिकाका केशव महाराजको सिकार भएका हुन्।