अमेरिकासँग फेरि परमाणु वार्ता गर्ने घोषणा गरेपछि 'उत्तर कोरियाद्वारा पनडुब्बीबाट बलिस्टिक क्षेप्यास्त्र परीक्षण'

उत्तर कोरिया

तस्बिर स्रोत, AFP/GETTY

संयुक्त राज्य अमेरिकासँग परमाणु वार्ता पुन: सुरु गर्ने घोषणा गरेको केही घण्टापछि नै उत्तर कोरियाले पनडुब्बीबाट एउटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आशङ्का गरिएको छ।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार वन्सान पोर्टनजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्र आकाशमा ९१० किलोमिटर माथि पुगेको र जापान सागरमा खस्नुअघि त्यसले ४५० किलोमिटर दुरी पार गरेको थियो।

उत्तर कोरियाले गत मे महिनादेखि छोटो दुरीका क्षेप्यास्त्र परीक्षण गर्न थालेको थियो।

क्षेप्यास्त्र परीक्षणसम्बन्धी समाचार प्रकाशित भएपछि विभिन्न पक्षले उत्तर कोरियाको कदमको विरोध गरेका छन्।

टोक्योले उक्त अस्त्रको अंश जापानको विशेष आर्थिक क्षेत्रमा रहेको सामुद्रिक क्षेत्रमा आइपुगेको उल्लेख गरेको छ।

दक्षिण कोरियाको सुरक्षा परिषद्ले प्योङ्याङले पनडुब्बीको प्रयोग गरी उक्त क्षेप्यास्त्र परीक्षण गरेको हुन सक्ने जनाएको छ।

उक्त परीक्षणको केही घण्टाअघि मात्रै प्योङ्याङले अमेरिकासँगको परमाणु वार्ता पुन: थाल्ने बताएको थियो।

उत्तर कोरियाले कूटनीतिक प्रयाससँगै आफ्ना शत्रुविरुद्ध दबाव बढाउन निरन्तर रूपमा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ।

परीक्षण

यदि पुष्टि भए उत्तर कोरियाले परीक्षण गरिरहेको छोटो दुरीका क्षेप्यास्त्र परीक्षणमा यो सबैभन्दा उल्लेख्य परीक्षण हुनेछ।

जापान

तस्बिर स्रोत, EPA

जापानी प्रधानमन्त्री शिन्जो आबेले प्योङ्याङको कदमले उत्तर कोरियाली बलिस्टिक क्षेप्यास्त्र प्रविधिमाथि प्रतिबन्ध लगाउने राष्ट्रसङ्घको सुरक्षा परिषद्का निर्णयहरू उल्लङ्घन भएको बताए।

त्यसअघि प्योङ्याङले वाशिङ्टनसँग परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता यसै हप्ताको अन्त्यमा सुरु हुन सक्ने बताएको थियो।

हेनोईमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीच फेब्रुअरीमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि दुई पक्षबीचको संवाद अवरुद्ध छ।

विज्ञहरूले वार्ताको घोषणा भएपछि क्षेप्यास्त्र परीक्षण नियोजित रूपमा गरिएको हुन सक्ने बताएका छन्।

क्षेप्यास्त्र के भयो

क्षेप्यास्त्र परीक्षणसम्बन्धी पहिलो समाचार बुधवार सबेरै आएको थियो।

त्यतिबेला दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको र कम्तीमा एउटा क्षेप्यास्त्र जापानी जलक्षेत्रमा खसेको अधिकारीहरूले बताएका थिए।

उत्तर

तस्बिर स्रोत, Reuters

त्यसपछि जापानको मन्त्रिपरिषद्का प्रमुख सचिवले एउटा पत्रकार सम्मेलनमा पानीमा खस्नुअघि एउटा बलिस्टिक क्षेप्यास्त्र दुई टुक्रा भएको हुन सक्ने बताए।

जापानले यस विषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक डाकेको छ।

यो यस वर्ष उत्तर कोरियाले गरेको ११ औँ क्षेप्यास्त्र परीक्षण हुन सक्छ।

अधिकारीहरूले यसको सामर्थ्य र मार हान्ने क्षमताबारे विशेष चासो प्रकट गरेका छन्।

उत्तर कोरियाले केही समययता पनडुब्बीबाट प्रहार गर्न सकिने बलिस्टिक क्षेप्यास्त्र प्रविधिको विकास गर्ने प्रयास जारी राखेको छ। उसले लामो दुरीका क्षेप्यास्त्रको परीक्षण रोकेको थियो।

पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्रको परीक्षण यसअघि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा पहिले नै अगस्ट २०१६ मा गरिएको ठानिएको छ।

त्यसको दुई वर्षपछि ट्रम्प र किम जङ-अनले एउटा ऐतिहासिक भेटवार्ता गरेका थिए। त्यो उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाका शीर्षस्थ नेताहरूले गरेको पहिलो भेटघाट थियो।

त्यसपछि दुईवटा थप भेटवार्ता भए पनि उत्तर कोरियाको परमाणु क्षमताबारे के गर्ने भन्नेबारेमा सहमति जुटाउने विषयमा खासै प्रगति भएको छैन।