चीनको ७० औँ वार्षिक उत्सव: परेवा र प्रोपोगाण्डामाथि प्रतिबन्ध

चिनियाँ झण्डासँग चिनियाँ कामदार

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, चीनले आफ्नो वार्षिकोत्सव मनाउनका लागि तयारी गरिरहेको छ

केहीदिनभित्रै चीनले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउँदैछ। विगतका दशकमा कहिल्यै नदेखिएको स्तरमा उसले विभिन्न उत्सवहरू गरेर मनाउने तयारी गरेको छ।

बेइजिङले अक्टोबर १ तारिखमा आतिसबाजी र ठूलो सैन्य परेड गर्नेछ।

उक्त कार्यक्रमहरूमा कुनै बाधा नपुगोस् भन्नका लागि सुरक्षा निकायहरूलाई हप्तौँदेखि खटाइएको छ।

तर हङकङमा प्रदर्शन हुने ठानिएकोले ती गतिविधिको छायाँ यहाँ पर्न सक्छ।

आधुनिक चीनको उदय

अहिलेको आधुनिक चीनको घोषणा सन् १९४९ को अक्टोबर एक तारिखमा भएको थियो।

विश्वयुद्ध दुईपछि भएको जनयुद्धमा माओ जेदोङले विजय प्राप्त गरेपछि आधुनिक चीनको जन्म भएको घोषणा गरिएको थियो।

सि जिनपिङको चित्र

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कम्युनिस्ट पार्टीका उपलब्धि देखाउने प्रदर्शन

प्रत्येक वर्ष अक्टोबर महिनामा यो दिवस मनाइने भए पनि यो वर्ष मनाउन लागिएको वार्षिकोत्सवले विगतका वर्षका कार्यक्रमहरूलाई ओझेलमा पार्ने ठानिएको छ।

चीन विश्वव्यापी शक्तिका रुपमा उदाएपछि हुन लागेको यो ठूलो उत्सव हो।

१० वर्षअघि चीन शक्तिराष्ट्र बन्ने तरखरमा थियो भने अहिले ऊ विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो। अहिले चीन झण्डैझण्डै अमेरिकासँगको स्तरमा पुगेको छ।

वार्षिकोत्सवको मुख्य कार्यक्रम राजधानी बेइजिङमा हुनेछ। त्यहाँ अत्याधुनिक हतियारको प्रदर्शनीसहित एउटा बृहत् सैन्य परेड हुनेछ।

व्यवस्थित तयारी

माओपछिका शक्तिशाली चिनियाँ नेता मानिने राष्ट्रपति सि जिनपिङले उक्त कार्यक्रममा सम्बोधन गर्नेछन्।

उक्त सम्बोधनमा चीनले पछिल्ला वर्षमा द्रूत गतिमा गरेको आर्थिक वृद्धिबारे बोल्ने ठानिएको छ।

अबका वर्षहरूमा देश कता तिर जाँदैछ भन्ने सङ्केत गर्ने विषयमा उनले के बोल्छन् भन्ने विषयलाई पनि नजिकबाट हेरिने ठानिएको छ।

देशलाई योगदान पुर्‍याउनेहरूलाई राष्ट्रपतिले सम्मान पनि गर्ने कार्यक्रम छ।

र त्यही साँझ त्यहाँ एउटा भव्य उत्सव मनाइनेछ र आतिसबाजी गरिनेछ।

सबै उत्सवहरूको निकै व्यवस्थित र सावधानीपूर्वक तयारी गरिएको छ र यसको सफलता खासगरी सरकारका लागि निकै महत्त्वपूर्ण छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विज्ञहरु भन्छन् सि जिनपिङ चीनमा माओत्सेतुंगपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन्

कडा सुरक्षा व्यवस्था

बेइजिङको मध्यभागमा रहेको तियानआनमेन स्क्वाएरमा सैन्य परेड हुनेछ जहाँ आमन्त्रित अतिथिले मात्रै भाग लिन पाउनेछन्।

वरपरको क्षेत्र कडा रुपमा बन्द गरिनेछ र त्यसरी बन्द यसअघि नै थुप्रैपटक गरिसकिएको छ।

वार्षिकोत्सवको दिन अगावै गरिएका पूर्व अभ्यासकै क्रममा पनि तियानआनमेन स्क्वाएर क्षेत्रका होटलहरू प्रत्येक दिन केही घण्टाका लागि बन्द गरिएको छ। उक्त समयमा कसैले पनि होटलबाट बाहिर निस्कन वा होटलमा आउन पाउँदैनन्।

उक्त क्षेत्रका थुप्रै पसलहरू र रेस्टुरेन्टहरू बन्द छन् वा खुले पनि केही घण्टाका लागि मात्रै खुल्न गरेका छन्।

यातायात सेवा दिने केहि स्टेशनहरू पनि अस्थायी रुपमा बन्द गरिएका छन्।

चिनियाँ अर्धसैन्य प्रहरी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, योजना अनुसार नै होस् भनेर सुरक्षा व्यवस्था निकै कडा पारिएको छ

बेइजिङ जाने ट्रेनहरूमा यात्रुहरूको सुरक्षा जाँचलाई कडा पारिएको छ र अन्य यातायातका साधनलाई पनि निगरानीमा राखिएको छ।

वार्षिकोत्सवकै दिनमा पनि तियानआनमेन स्क्वाएर वरपरको क्षेत्र बन्द गरिनेछ र सुरक्षा व्यवस्था कडा पारिनेछ।

त्यहाँ प्रवेश गर्न चाहने स्थानीय बासिन्दाले आफू स्थानीय भएको खुलाउनुपर्छ।

वायु प्रदूषणले नराम्ररी असर पुर्‍याइरहेको बेइजिङमा वार्षिकोत्सवको दिन उज्यालो होस् र घाम राम्ररी देखियोस् भनेर उक्त क्षेत्र वरपरका निर्माण क्षेत्र र कोइलाबाट विद्युत निकाल्ने क्षेत्रहरू बन्द गर्न निर्देशन दिइएको छ।

उक्त क्षेत्रमा कम उचाइबाट उड्ने विमानहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ। त्यस्तै ड्रोन र परेवालाई पनि त्यहाँ प्रतिबन्ध लगाइएको छ।

निगरानी

सहरको केन्द्र भागमा ढोकैपिच्छे राष्ट्रिय झण्डाहरू राखिएको छ। सहरभरी स्वयंसेवी निरीक्षकहरू निगरानीमा राखिएको छ।

कुनै विदेशीसँग छोटो कुराकानी गरेको देखे पनि ती निरीक्षकहरूले आफूलाई प्रश्न गर्ने स्थानीय बासिन्दाहरूले बीबीसीलाई बताए।

त्यस्तै एकजना स्थानीय बासिन्दाले आफूलाई सोधिएको प्रश्नबारे भनिन्: "ती विदेशीहरू को हुन्? तिनीहरू यहाँ किन छन्?"

कडा नियन्त्रण सडकमा मात्रै नभइ अनलाइनमा पनि गरिएको छ।

वार्षिकोत्सव सुरु हुनुअघि चर्चित सामाजिक मिडिया विबोले देशको इतिहासको अपमान गर्ने सामग्री हटाउँदै आएको छ।

पसलबाहिर राखिएको राष्ट्रिय झण्डा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रत्येक घर र पसलमा राष्ट्रिय झण्डा राखिएको छ

चिनियाँ पत्रकारहरू पार्टीको लाइन अनुसार नै हुने अपेक्षा गरिन्छ। तर पनि अक्टोबरबाट उनीहरूले सि जिनपिङका विचारहरूमा पोख्त छन् भन्ने पुष्टि गर्न उनीहरूले सि जिनपिङको समाजवादको विचारबारे एउटा थप परीक्षा दिनुपर्नेछ।

उनीहरूले उक्त परीक्षा पास गरे पनि नगरे पनि उनीहरूलाई त्यसपछि मात्रै पत्रकारको मान्यता दिइनेछ।

चाइना मिडिया वाचका डेभिड बन्दुर्स्कीले बीबीसीलाई भने, "तालिम र यो प्रशिक्षणको मूलभूत कुरा भनेको विषयबारे खासै होइन।"

"चिनियाँ पत्रकारमाझ उनीहरूले काम गर्ने भनेको पहिला कम्युनिस्ट पार्टीको मुद्दाका लागि हो भन्ने सन्देश सुनिश्चित गर्न हो।"

त्यसैले कार्यक्रमहरू कसरी गर्ने भन्नेमात्रै होइन - स्थानीय रुपमा समाचारहरू कसरी छापिन्छन् भन्ने विषयलाई पनि कडा रुपमा हेरिन्छ।

हङकङको असन्तुष्टिबारे के छ?

अक्टोबर १ तारिखको उपलब्धिलाई सानदार रुपमा प्रस्तुत गर्न बेइजिङ प्रतिबद्ध देखिएका बेला हङकङलाई चाहिँ आफ्ना असन्तुष्टि देखाउने राम्रो मौका रहेको छ।

चीनको राष्ट्रिय दिवसका दिन हङकङमा बेइजिङविरुद्ध प्रदर्शनहरू सधैँ हुन्छ तर यसपटक अभियानकर्मीलाई विश्वले हेरिरहेको छ भन्ने थाहा छ।

सरकारविरोधी प्रदर्शनकारीहरूले महिनौंदेखि सहरमा प्रदर्शन गरिरहेका छन् र अवस्था हेर्दा त्यो सुस्ताउने सङ्केत देखिएको छैन।

प्रहरी र प्रदर्शनकारीबीचको झडप बढ्दो रुपमा हिंसात्मक बन्दै गएको छ। प्रहरीले अश्रुग्यास फ्याक्छन् भने प्रदर्शनकारीहरू संसदमा बलपूर्वक प्रवेश गर्छन्।

प्रहरीलाई उसैले फ्यालेको अश्रुग्यास प्रहार गर्दै प्रदर्शनकारी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, प्रदर्शनहरू धेरैजसो हिंसात्मक झडपमा परिणत हुने गरेका छन्

त्यसको लागि अक्टोबर १ का लागि दुईवटा कुरा छन्: हङकङमा हुने औपचारिक कार्यक्रमहरूमा झडप नहोस् भनेर केही मत्थर बनाइन्छ।

त्यसैको प्रयास स्वरुप आतिसबाजीको कार्यक्रम पनि रोकिएको छ।

त्यही नै बेला अभियानकर्मीहरूले प्रदर्शनहरू चर्काउने योजना गरेका छन्।

सेप्टेम्बर २९ आइतवार एउटा "ग्लोबर एन्टी टोटलिट्यारिएनिज्म मार्च" आयोजना गरिएको छ।

उक्त कार्यक्रम अनुसार हङकङको समर्थनमा विश्वका विभिन्न ठाउँमा र्‍याली निकालिन्छ।

स्वयं अक्टोबर १ तारिखमा हङकङमा र्‍याली आयोजना गरिएको छ जहाँ सबैलाई कालो लुगामा उपस्थित हुन भनिएको छ।

यदि विगतका हप्ताहरूमा जस्तै प्रदर्शनहरू हुने हो भने बेइजिङमा उत्सब मनाइएको हसिला अनुहारसँगै हङकङमा अश्रुग्यास र आक्रोशित युवा प्रदर्शनकारीको तस्बिरले सञ्चारमाध्यममा प्रतिस्पर्धा गर्नेछन्।