नरेन्द्र मोदी अमेरिका भ्रमणमा, अहिलेसम्मकै 'भव्य स्वागत' पाउने विदेशी पाहुना

मोदी र ट्रम्प

तस्बिर स्रोत, Getty Images

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको 'दुर्लभ संयुक्त कार्यक्रम'मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन्।

टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे।

आयोजकहरूले अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको त्यो नै अहिलेसम्मको सबैभन्दा भव्य स्वागत भएको बताएका छन्।

करिब ५० हजार मानिस सहभागी कार्यक्रमलाई ट्रम्पले 'पूर्णतया ऐतिहासिक कार्यक्रम' भनि टिप्पणी गरे।

कार्यक्रमको नाम 'हाउडी मोदी' राखिएको थियो। बोलीचालीको भाषामा स्वागतपूर्ण शैलीमा हालचाल सोध्न उक्त शब्द प्रयोग गरिन्छ।

उत्तरमा मोदीले भने, "भारतमा सबै ठिक छ।"

एकअर्काको प्रशंसा

मोदीले सम्बोधनको आरम्भ ट्रम्पको प्रशंसाबाट गरेका थिए।

मोदीले भने, "हामीसमक्ष विशेष व्यक्ति उपस्थित हुनुहुन्छ। उहाँलाई कुनै परिचयको खाँचो छैन। विश्वका हरेक व्यक्तिले उहाँको बारेमा जान्दछन्। यो महान् देशको सबैभन्दा उच्च पदमा बस्नुअघि पनि हरेक मानिस उहाँबारे परिचित थिए। उहाँको स्वागत गर्नु मेरा लागि सम्मानको विषय हो।"

ट्रम्पसँग आफूले कैयौँ पटक भेट गरेको र उनमा आत्मीयता पाएको मोदीको भनाइ थियो।

मोदीले सन् २०२० मा हुने चुनावबाट फेरि पनि ट्रम्पको सरकार बन्ने बताए।

कार्यक्रममा सहभागी

तस्बिर स्रोत, Getty Images

आफ्नो सम्बोधनपछि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सम्बोधनको निम्ति आमन्त्रण गरे।

ट्रम्पले कार्यक्रममा उपस्थित भारतीय मूलका अमेरिकी समुदायलाई धन्यवाद र हालैको लोकसभा निर्वाचनमा विजयी भएर फेरि सत्तामा आएकोमा मोदीलाई बधाई दिए।

उनले भने, "भारत र अमेरिकाको साझा सपनालाई लिएर म र नरेन्द्र मोदी कुराकानी गरिरहन्छौँ। भारतीय अमेरिकीले हाम्रो देशको संस्कृति र मूल्यलाई बलियो बनाएका छन्। तपाईँहरूलाई अमेरिकी नागरिकको रूपमा पाएर हामी गौरवान्वित छौँ। हामी दुवै देश आफ्ना नागरिकप्रति समर्पित छौँ।"

उनले मोदीलाई अमेरिकाको एक अति निष्ठावान्, इमान्दार र महान् मित्रको सङ्ज्ञा दिए। र, उनीसँगै कार्यक्रममा सहभागी हुँदा रोमाञ्चित भएको बताए।

ट्रम्पले मोदीको योजनाका कारण भारतमा ३० करोड मानिस गरिबीबाट माथि उठेको बताए। उनले भने, "भारतमा आउँदो दशक १४ करोड मानिस मध्यमवर्गमा उक्लिने छन्। हामीले अमेरिका र भारतका जनता सम्पन्न भइरहेको देखिरहेका छौँ।"

'मोदी महान्'

ट्रम्पले भारतसँगको सुरक्षा सहयोगको प्रसङ्ग उल्लेख गर्दै छिट्टै रक्षा सम्झौता गरिने बताए। उनले नोभेम्बर महिनामा दुवै देशका जल, स्थल र वायु सेनाले मिलेर युद्ध अभ्यास गर्ने जानकारी दिए।

उनले भने, "हामी ती सबै भारतीय र अमेरिकी सैनिकलाई सम्मान गर्छौँ जो जनताको रक्षाको निम्ति खटिइरहेका हुन्छन्। हामी कट्टरपन्थी इस्लामिक आतङ्कवादबाट बचाउन प्रतिबद्ध छौँ।"

त्यसपछि प्रधानमन्त्री मोदी र कार्यक्रममा उपस्थित मानिसहरूले उभिएर ताली बजाएका थिए।

आफ्नो भाषण जारी राख्दै ट्रम्पले भने, "आफ्ना नागरिकको रक्षा गर्न हामीले सीमाको रक्षा गर्नुपर्छ। अमेरिका र भारतको निम्ति सीमाको सुरक्षा कति महत्त्वपूर्ण छ भन्ने कुरा हामीलाई थाहा छ।"

अवैध आप्रवासीले अमेरिकामा वैध ढङ्गले त्यहाँ पुगेका र त्यहाँका नागरिकको हक नखोसून् भन्ने पक्षमा आफू रहेको ट्रम्पको भनाइ थियो।

उनले भने, "जसले यहाँको नियम कानुनको सम्मान गर्छ, कर तिर्छ, तिनको अधिकार खोसेर अवैध आप्रवासीलाई दिन सक्दिनँ। हाम्रो प्राथमिकता आफ्ना नागरिकलाई उनको अधिकार दिनु हो। कुनै नेताले तपाईँको अधिकार तपाईँबाट खोसोस् भन्ने म चाहँदिनँ ।"

मोदी र ट्रम्प

तस्बिर स्रोत, Getty Images

अन्त्यमा उनले मोदीलाई धन्यवाद दिए। ट्रम्पले भने, "एक महान् व्यक्ति, महान् नेता - मेरा मित्र नरेन्द्र मोदीलाई धन्यवाद।"

त्यसपछि पुन: मोदी मञ्चमा गए र भने, "यो कार्यक्रमको नाम हाउडी मोदी छ। यो प्रश्नको उत्तर म दिन्छु - सब ठिक छ।"

'पाकिस्तानमाथि आक्रमण'

भाषणको अन्त्यमा प्रधानमन्त्री मोदीले जम्मू-कश्मीरलाई विशेष मान्यता दिएको संविधानको प्रावधान अन्त्य गरिएको सन्दर्भ उल्लेख गरे।

उनले त्यसलाई ठूलो कदमको रूपमा अर्थ्याउँदै भने, "भारतले हालै [संविधानको धारा] ३७० लाई अलबिदा भनेको छ। जसले गर्दा जम्मू-कश्मीर र लद्दाखका मानिसहरूलाई त्यही अधिकार प्राप्त भएको छ जो भारतका अन्य मानिसले पाएका छन्। त्यहाँका महिला, बालबालिका र दलितमाथि भइरहेको भेदभाव अन्त्य भएको छ।"

त्यसपछि उनले नाम नलिएरै पाकिस्तानमाथि आक्रमण गरे।

भारतले आफ्नो देशमा जे गरिरहेको छ त्यसबाट आफ्नो देश सम्हाल्न नसक्ने मानिसहरूको निम्ति टाउको दुखिरहेको भन्दै उनले कटाक्ष गरे।

मोदीले भने, "उनीहरूले भारतप्रतिको घृणालाई नै आफ्नो राजनीतिको केन्द्र बनाएका छन्। आतङ्कका समर्थक हुन्, आतङ्कको पालनपोषण गर्छन्। त्यो तपाईँहरूले मात्र होइन, सारा संसारले चिनेको छ।"

उनले अमेरिकामा सेप्टेम्बर ११ र मुम्बईमा भएको आक्रमणका षड्यन्त्रकारीहरू कहाँ भेटिन्छन् भन्दै प्रश्न गरे।

उनले भने, "अब आतङ्कवादलाई प्रश्रय दिनेविरुद्ध निर्णायक लडाइँ गर्ने बेला आएको छ।"

त्यति ठूलो सङ्ख्यामा उपस्थित भारतीय मूलका अमेरिकीलाई सम्बोधन गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति भएको बताइएको छ।

कार्यक्रमस्थल बाहिर केही प्रदर्शनकारीले मोदी र ट्रम्पको विरोध पनि गरेका थिए।