सुँगुरको मासु र भटमासमा थप कर नलगाउने चीनको घोषणा

तस्बिर स्रोत, Getty Images
चीनले अमेरिकाबाट आयात गरिने केही प्रमुख कृषि उत्पादनहरू, सुगुँरको मासु र भटमासमा, थप कर नलगाउने घोषणा गरेको छ।
अघिल्लो वर्ष चीनले अमेरिकी कृषि उत्पादनमा २५ प्रतिशत कर लगाएको थियो।
दुई हप्ताअघि बेइजिङले भटमासमा थप पाँच प्रतिशत र सुँगुरको मासुमा १० प्रतिशत महसुल वृद्धि गर्ने निर्णय गरेको थियो।
हालैका दिनमा कर लगाउने निर्णय स्थगन गर्दै चीनले दशवटा पानीजहाजभरि भटमास सहित अन्य अमेरिकी कृषि उत्पादन खरिद गरेपछि त्यसलाई दुवै देशहरूले व्यापार तनावमा सहमति कायम गर्ने इच्छा देखाएको सङ्केतका रूपमा लिइएको छ।
चिनियाँ निर्यातविरूद्ध वासिङटनले चालेका कदमप्रति विरोध जनाउँदै बेइजिङले चीन भित्रिने अमेरिकी कृषि उत्पादनमा थप शुल्क लगाउने घोषणा गरेको थियो।
अनिश्चित परिवेश
अमेरिका र चीनबीचको व्यापार युद्ध विश्व आर्थिक परिवेशलाई अनिश्चित बनाउने एउटा प्रमुख कारण रहँदै आएको छ।
पछिल्लो हप्तामा मात्रै दुवै पक्षले अब गर्ने भनिएका वार्तामा प्रगति हुनसक्ने सङ्केत दिने कदमहरू चालेका छन्।
सुरूमा चीनले सीमित सङ्ख्यामा अमेरिकी सामग्रीहरूमा थप कर नलगाउने निर्णय लियो।
त्यसपछि राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामग्रीमा घोषणा गरिएका थप शुल्क लगाउने निर्णयको कार्यान्वयन छोटो समयका लागि विलम्ब गरिने बताए।
कसलाई फाइदा?
बेइजिङको पछिल्लो कदमले अमेरिकी कृषकहरूलाई फाइदा पुर्याउन सक्छ।

तस्बिर स्रोत, Getty Images
उक्त समूह अमेरिकी नेताका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण छ।
यसअघि पनि यो विवाद मत्थर हुने सङ्केतहरू देखा परेका थिए तर ती कुनै निचोडमा पुग्न सकेका थिएनन्।
तल्लो तहका अमेरिकी र चिनियाँ अधिकारीहरूबीच आगामी हप्ता व्यापारसम्बन्धी तनाव अन्त्य गर्ने विषयमा केन्द्रित रहि वासिङटनमा छलफल हुँदैछ।
त्यसपछि अक्टोबर महिनामा दुई देशका उच्च अधिकारीहरू वार्तामा बस्ने भनिएको छ।
बिहीवारमात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चीनसँग वृहत व्यापार सम्झौता गर्न चाहेको बताएका थिए।
तर उनले अन्तरिम प्रकृतिको सहमतिको सम्भावनालाई पनि नकारेका छैनन्।








