इरान ट्याङ्कर विवादः अमेरिकी धम्कीलाई बेवास्ता गर्न तेल 'विक्री'

इरानी तेल ट्याङ्कर

तस्बिर स्रोत, Reuters

अन्तर्राष्ट्रिय प्रतिबन्धको अवज्ञा गर्दै इरानी तेल सिरिया पुर्‍याउने प्रयास गरिरहेको एउटा ट्याङ्करले आफ्नो कार्गो विक्री गरेको इरानले जनाएको छ।

एड्रिआन डारिया-१ नामक जहाज शुक्रवार सिरियाली तटीय क्षेत्रतर्फ गएको देखिएको भूउपग्रहबाट प्राप्त तस्बिरमा देखिन्छ।

तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले 'भूमध्यसागरको तट'मा पुगेपछि कार्गो पठाइएको बताएका छन्।

उक्त जहाज अमेरिका-इरान कूटनीतिक तनावको केन्द्रमा रहिआएको छ।

गत जुलाईमा ब्रिटिश जलसैनिकले जिब्राल्टारमा उक्त जहाजलाई नियन्त्रणमा लिएका थिए र इरानले सिरिया नपठाउने आश्वस्त नपारेसम्म अगस्ट १५ सम्म त्यसलाई नियन्त्रण मुक्त गरिएको थिएन।

पछिल्लो कदमबारे आइतवार प्रतिक्रिया व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाले उक्त तेल खरिद गर्ने जो कोहीमाथि पनि प्रतिबन्ध लगाउने बताएको छ।

"राष्ट्रपति ट्रम्पले कुनै किसिमको इरानी तेलमाथिको प्रतिबन्ध नहटाइने बताएकाले हामीले इरानमाथि दबाव जारी राख्नेछौँ", अमेरिकी अर्थ मन्त्रालयका एकजना अधिकारी सिगल म्यान्डेल्करले समाचार संस्था रोएटर्सलाई भने।

यसैबीच इरानले आफ्नो नियन्त्रणमा लिइएको ब्रिटिश झण्डा अङ्कित एउटा ट्याङ्करलाई छाड्ने तयारी भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीका अनुसार स्टेना इम्पेरो नामक ट्याङ्करलाई छाड्न अन्तिम कानुनी प्रक्रिया पूरा गरिँदैछ।

भूउपग्रह
Presentational white space

समुद्री जलक्षेत्रसम्बन्धी कानुन मिचेको भन्दै इरानले त्यसलाई नियन्त्रणमा लिइएको बताउँदै आएको थियो। इरानी ट्याङ्करलाई नियन्त्रणमा लिइएको घटनासँग त्यसको कुनै सम्बन्ध नरहेको उसले बताउने गरेको छ भए पनि त्यसलाई प्रतिशोधको कार्बाही मान्ने गरेका छन्।

इरानी ट्याङ्करले चाहिँ १२ लाख ब्यारेल कच्चा तेल बोकेको थियो।

विवाद कसरी भयो?

खासमा ग्रेस वन नामले चिनिने जहाज ब्रिटिश भूभागमा पर्ने जिब्राल्टारको तटदेखि परको क्षेत्रमा नियन्त्रणमा लिइएको थियो।

वाशिङ्टन र तेहरानबीचको तनाव बढ्नुमा त्यो पनि एउटा कारण बनेको छ।

ब्रिटिश जलसेनाले जहाजलाई नियन्त्रणमा लिन जिब्राल्टारका अधिकारीहरूलाई सघाएको थियो। त्यो कदमले सो विवादमा ब्रिटेनलाई पनि मुछ्यो।

गत अगस्टमा अमेरिकाले सो जहाजलाई नियन्त्रणमा लिन आग्रह गरेको थियो, तर जिब्राल्टारका अदालतहरू त्यसलाई अस्वीकार गर्छन्।

अमेरिकी र युरोपेली नेताहरूले इरानसँग फरकफरक व्यवहार गरेका कारण उक्त ट्याङ्करको भविष्य जटिल बन्न पुगेको छ।

इरानसँगको सन् २०१५ को परमाणु कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबाट गत वर्ष अमेरिका अलग्गियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका-इरान सम्बन्ध किन तीतो?
Presentational white space

त्यसको प्रतिक्रियामा इरानले सम्झौता अन्तर्गतका केही प्रतिबद्धता पूरा गर्न बन्द गर्‍यो।

युरोपेली सङ्घले सम्झौताको रक्षा गर्नुपर्ने बताउँदै आएको छ।

युरोपेली प्रतिबन्धको उल्लङ्घन गर्दै सिरिया पुर्‍याउन लागिएको आशङ्कामा इरानी ट्याङ्करलाई नियन्त्रणमा लिइएको थियो।

इरानले त्यसलाई सिरिया नपुर्‍याउने प्रतिबद्धता जनाएपछि जिब्राल्टारले अगस्ट १५ मा नियन्त्रण मुक्त गरेको थियो।

अमेरिका के भन्छ?

जिब्राल्टारले नियन्त्रण मुक्त गरेयता अमेरिका त्यसलाई नियन्त्रणमा लिन प्रयासरत छ।

उसले पक्राउपुर्जी जारी गर्नुका साथै जहाजलाई कालोसूचीमा राख्यो। सघाउन खोज्ने जुनसुकै मुलुकमाथि प्रतिबन्ध लगाउने उसले चेतावनी पनि दियो।

त्यसयता उक्त जहाज भूमध्यसागरको पूर्वतर्फ हिँडिरहेको छ।

भूउपग्रहबाट प्राप्त तस्बिरहरू शनिवार सार्वजनिक भएसँगै सिरियानजिक उक्त जहाज देखिनुलाई ब्रिटिश विदेश मन्त्रालयले 'निकै चिन्ताजनक' भनेको छ।