अमेरिकी फौजी कीरा: पहाडी भेगमा अनिकाल पर्ने त्रास, बारुला प्रयोग गरेर नियन्त्रण गर्ने प्रयास

अमेरिकी फौजी किरा

तस्बिर स्रोत, Bivek Mahat

तस्बिरको क्याप्शन, फौजी कीराले सखाप पारेको मकैबाली हेर्दै रामेछाप खाँडादेवीका किसानहरू

नेपालका विभिन्न भागमा अमेरिकी फौजी कीराको प्रकोपले मकैबाली सखाप भएको गुनासो किसानहरूले गरेका छन्। मकैबालीमै भर पर्नुपर्ने पहाडी भेगका किसानहरू यो वर्ष अनिकाल हुने चिन्तामा परेका छन्।

कृषि मन्त्रालयका अधिकारीहरू भने अमेरिकी फौजी कीराले पुर्‍याउने क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको दाबी गर्छन्।

फल आर्मीवर्म (एफएडब्ल्यू ) नामक कीरा बालीका लागि निकै हानिकारक हुने र यसले केवल मकै मात्रै नभई अन्य अन्नबाली खासगरी जुनेलो, धान, गहुँ, कोदो, उखु तथा अन्य घाँसमा पनि असर पुर्‍याउने बालीबिरुवामा लाग्ने कीराका विशेषज्ञ पनि रहेका कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले बीबीसीलाई बताए।

बालीनाली नभेटेका बेला घाँस मात्रै खाएर पनि बाँच्ने यो कीराले बन्दा, चुकन्दर, बदाम, प्याज, भटमास, गोलभेडा, आलुमा पनि क्षति पुर्‍याउन सक्छ।

गर्मी महिनामा एक रातमै एक सय किलोमिटरभन्दा लामो यात्रा गर्न सक्ने यो मिचाहा कीरा पुतली समूहमा पर्छ र राति सक्रिय हुन्छ। यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो।

बालीमा क्षति पुर्‍याउने चाहिँ कीराको लार्भाले हो।

कीराको असर

अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो।

अमेरिकाको विभिन्न भाग हुँदै अफ्रिका महादेश पुगेको यो कीरा सन् २०१८ मा भारत, श्रीलङ्का, म्यान्मार, भियतनाम, चीन, ताइवान, थाईल्यान्ड र बाङ्ग्लादेशमा देखा परेको थियो।

वैशाख २६ गते नवलपुरस्थित गैँडाकोटको मकैबारीमा भेटिएका कीराका विभिन्न अवस्थाको अध्ययन गरेपछि नेपालमा पनि फौजी कीरा फैलिएको नेपाली कीटवैज्ञानिकहरूले पहिलो पटक पुष्टि गरेका छन्।

फौजी कीराको जीवन चक्रा

तस्बिर स्रोत, Plant Quarantine and Pesticide Management Centre

तर यो कीराको प्रकोप तराईका क्षेत्र हुँदै पूर्वका पहाडी जिल्लासम्म फैलिसकेको छ।

नेपालका प्राय: सबै प्रमुख बालीलाई असर गर्ने यो फौजी कीराको असर कम गर्न कृषिमन्त्रालयले कस्ता उपायहरू अवलम्बन गरेको छ त?

कृषिसचिव जीसी भन्छन्, "संसारभरि यसको चपेटामा परेकाहरूले कसरी मुक्ति पाइरहेका छन्, त्यसको अध्ययन गरिरहेका छौँ। यसको रोकथामका लागि हामी सबैले एउटै तरिका अपनाउनुपर्छ भनेर छलफल गरी कृषक समूहमाझ सङ्घ, प्रदेश र स्थानीय तहमा यसलाई नियन्त्रण गर्ने उपाय सुझाएका छौँ।"

'समय खेर'

केही दिनअघि एउटा कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले फौजी किरा नेपालमा आएको वा नआएको खुट्याउन नै विज्ञहरूले एक वर्ष लगाएको टिप्पणी गरेका थिए।

अमेरिकी फौजी किरालाई समयमै रोक्ने उपाय पत्ता लगाउनुपर्ने तथा अनुसन्धान हुनपर्ने उनको भनाइ थियो।

अमेरिकी फौजी किरा

तस्बिर स्रोत, Bivek Mahat

तस्बिरको क्याप्शन, फौजीकीराले सखाप पारेको मकैबाली हेर्दै रामेछाप खाँडादेवीका किसानहरू।

गत वर्ष छिमेकी भारतमा फौजी कीराको प्रकोप हुँदा नेपालमा पनि फैलिन सक्ने जोखिम देखिएको थियो।

अमेरिकी फौजी कीराबारे अनुसन्धानमा भएको अलमलबारे सामाजिक सञ्जालमा पनि विभिन्न टिप्पणीहरू भएका थिए।

कृषि विज्ञानका विद्यार्थी अनुप ढकाल लेख्छन्, "अमेरिकी फौजी कीराबारे नि देशका दुई संस्थाबीच हो होइन भन्नेमा विवाद चलिरह्यो। राष्ट्रिय बिरुवा संरक्षण सङ्गठनले त्यसलाई नेपालमा भित्रिएको होइन अनि नार्कले हो भन्ने।"

नेपालको तापक्रम र पानी पर्ने पद्धतिले फौजी कीरालाई फैलिन र मौलाउन सहयोग पुग्ने कृषि तथा कीटवैज्ञानिकहरूको मान्यता छ।

खन्चुवा लार्भा

फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ।

अमेरिकी फौजी कीराको लार्भा अवस्थाले मकैको पात, गुभो, जुँगा, घोगा समेतमा असर पुर्‍याउँछ।

अमेरिकी फौजी किरा

तस्बिर स्रोत, Bivek Mahat

साना लार्भा पातको तल्लो सतहबाट हरियो भाग खाँदै झिल्ली बनाएर पातमा सर्छन्।

त्यसपछि लार्भाको आकारमा वृद्धि हुँदै जाँदा पातमा खाएको प्वालहरू देखा पर्दै जाने र पछि यसले गुभो र घोगासमेत खाने गरेको पाइएको जीसीले बताए।

"खासगरी यसको लार्भा अन्य कीराको लार्भाभन्दा भुवादार रेसामा झुसले ढाकिएको अवस्था हुन्छ। अनि यिनीहरू सुरुमा हरियो अवस्थामा हुन्छन्," जीसीले भने।

"पछि यो लार्भा हरियोबाट कालो टाउको हुँदै जान्छ र पछिल्लो अवस्थामा लार्भाको शरीरको खैरो रङ्गको टाउकोमा खासगरी अङ्ग्रेजी अक्षरको वाई आकारको सेतो धर्साहरू हुन्छन्। र, हामीले हेर्दा कालो, ध्वाँसे देखिन्छ।"

नियन्त्रणको जैविक प्रयास

फौजी कीराका केही प्राकृतिक शत्रु प्रयोग गरेर यसको नियन्त्रण गर्न सकिने कृषि तथा कीटवैज्ञानिकहरू बताउँछन्। तिनमा बारुला जातका सिकारी कीरा र विभिन्न खपटेकीरा पर्छन्।

खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा पनि फौजी कीराको सिकार गर्ने बारुला पाल्ने प्रयास भइरहेको जीसीले बताए।

"बारुला पाल्न हामीले खुमलटारस्थित नार्कमा काम गरिरहेका छौँ र यस्तो किसिमको पद्धति प्रादेशिक स्तरका प्रयोगशालामा गर्न पनि हामीले अभिप्रेरित गरिरहेका छौँ," जिसीले भने।

हप्ताको तीन पटक प्रतिहेक्टर १० हजार बारुला उडाउन सके त्यसले रासायनिक विषादी प्रयोग गर्नै नपर्ने गरी समस्याको समाधान हुने उनले बताए।

"फौजी कीराको फुलमाथि बारुलोले गएर फुल पारिदिन्छ। यसरी शत्रु कीराको फुलमाथि मित्रकीराले फुल पारेपछि आउने बच्चा भनेको मित्रकीराको हुन्छ," जीसीले भने।

शत्रु कीरा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बारुला र अरिङ्गाललाई किसानका लागि शत्रुकीरा मानिन्छ

यसबाहेक वनस्पतिबाट उत्पादित जैविक विषादी र सूक्ष्म जैविक विषादीको प्रयोग गरेर पनि क्षति न्यून गर्न सकिने कृषिवैज्ञानिकहरू बताउँछन्।

त्यसका लागि विभिन्न ब्याक्टेरिया, भाइरस र नीमबाट उत्पादित यौगिकको प्रयोग गरिन्छ।

अनिकालको चिन्ता

यो मिचाहा कीरा फैलिन सक्ने सम्भावना प्रबल भएकाले अन्नबाली नराम्ररी प्रभावित हुन सक्ने र त्यसबाट भोकमरी हुन सक्ने चिन्ता रहेको कृषिसचिव जीसी बताउँछन्।

"यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने यसको खतरा व्यापक छ। हामीले सुझाएका विषादी सही मात्रामा प्रयोग गर्नुपर्छ नभए यसको नकारात्मक असर झन् घातक हुन्छ," उनले भने।

उनका अनुसार सिफारिस नगरिएको रासायनिक विषादी प्रयोग गर्दा सही विषादी पनि प्रभावहीन हुन सक्छ।

विभिन्न खपटे कीराले पनि फौजी कीराको नियन्त्रण गर्न सघाउँछन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विभिन्न खपटे कीराले फौजी कीरा नियन्त्रण गर्न सघाउँछन्

व्यवस्थापनका उपाय

नार्कको कीट विज्ञान महाशाखाका वैज्ञानिकहरूले फौजी कीरा व्यवस्थापन गर्न यी सुझाव दिएका छन्:

  • मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने
  • घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने
  • बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने
  • मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ
  • डेस्मोडिअम घाँस यो कीरालाई मन नपर्ने हनुाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मनपर्ने नेपिअर घाँस लगाएर कीरालाई आकर्षित गरी मार्ने
  • सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाई किराको प्रकोप सहन सक्ने पार्ने
  • मकैको पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने
  • मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने, अथवा
  • विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्नेगरी छर्ने
  • एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्ने