जलवायु परिवर्तन: वैज्ञानिकहरूको कडा चेतावनी

तस्बिर स्रोत, Getty Images
वैज्ञानिकहरूले विश्वको तापक्रम बढ्दै जाँदा हुने खतराका सम्बन्धमा हालसम्म कै सबैभन्दा विस्तृत चेतावनी जारी गर्दै जलवायु परिवर्तनलाई सिमित तुल्याउन समाजमा अभूतपूर्व परिवर्तनहरू हुनुपर्ने बताएका छन्।
पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १.५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्ने सुझाव दिएको उक्त प्रतिवेदनका अनुसार हाम्रो संसार हाल त्यो सीमाभन्दा निकै बढी तीन डिग्री सेल्सियसतर्फ अघि बढिरहेको छ।
तीन वर्ष लगाएर गरिएको अनुसन्धान र दक्षिण कोरियामा वैज्ञानिक तथा सरकारी अधिकारीहरूबीच एक हप्तासम्म चलेको वार्तापछि विश्वको तापमान वृद्धि हुँदा त्यसबाट पुग्ने असरबारे उक्त विशेष प्रतिवेदन सार्वजनिक गरिएको हो।
संयुक्त राष्ट्रसङ्घले जारी गरेको जलवायु परिवर्तनसम्बन्धी सो प्रतिवेदनमा भनिएको छ - पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमै परिवर्तन ल्याउन आवश्यक भएको छ।
परिवर्तन
जलवायु परिवर्तनसम्बन्धी अन्तर्सरकारी प्यानल (आईपीसीसी) ले तयार पारेको उक्त प्रतिवेदनका अनुसार ऊर्जा खपत, यात्रा, निर्माण सामग्रीको प्रयोग र हामीले खाने खानेकुरा जस्ता क्षेत्रमा नाटकीय परिवर्तन आवश्यक छ।
सो अध्ययन प्रतिवेदनका अनुसार पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढी बढ्न नदिने हो भने त्यसबाट विभिन्न प्रजातिहरू व्यापक रूपमा लुप्त हुनेदेखि सुख्खा र बाढीको समस्यासम लाई रोक्न सकिन्छ।

तस्बिर स्रोत, AFP
तर त्यस्तो लक्ष्य हासिल गर्न पुनर्प्रयोग गर्न मिल्ने ऊर्जाको क्षेत्रमा तत्काल ठूलो लगानीको आवश्यकता पर्दछ।
तत्काल कदम नचालेके हुन्छ?
वैज्ञानिकहरू भन्छन् - पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियसले बढ्यो भने समुद्रमा रहेको 'कोरल रीफ' भनिने मुगाको वासस्थान नै मासिनेछ।
दुई डिग्रीले तापक्रम बढेमा विश्वव्यापी रूपमा नै समुद्रको सतह झन्डै १० सेन्टिमिटरले बढ्ने छ। तर तापमानवृद्धि १.५ डिग्रीमा सीमित तुल्याउन सकिएमा एक करोडभन्दा थोरै मानिसहरू बाढीको जोखिमबाट जोगिन सक्नेछन्।
त्यसैगरी समुद्रको तापक्रम र अम्लीयपनमा उल्लेख्य प्रभाव पर्नेछ र धान, मकै तथा गहुँजस्ता बालीको उत्पादन पनि प्रभावित हुनेछ।




















